पत्रकार महासंघ कास्कीमा स्वतन्त्र पत्रकार उपेक्षित

असफल गौतम, पोखरा

नेपाल पत्रकार महासंघ कास्की शाखाको बिहीबार सम्पन्न पदस्थापन समारोहमा स्वतन्त्र पत्रकारहरू उपेक्षित भएका छन् ।

पदस्थापन समारोहमा सञ्चारसँग सम्बद्ध विभिन्न सञ्चार संस्थाका अध्यक्षलाई आसन ग्रहण गराउँदा स्वतन्त्र पत्रकार संघ नेपालको नामसम्म पनि उच्चारण भएन । कार्यक्रममा पत्रकार आचारसंहिता विपरित राजनीतिक आस्थाका आधारमा गठित प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, प्रेस सोसाइटीलगायतका प्रतिनिधिलाई भने सम्बोधन गरिएको थियो ।

स्वतन्त्र पत्रकारलाई बोलाउन बिर्सिएको हो कि भनी पदस्थापन कार्यक्रमका अध्यक्ष तथा मुख्य निर्वाचन अधिकृत अधिवक्ता सुरेन्द्र थापा मगरलाई सम्झाउँदा उनले बेवास्ता गरे । कार्यक्रम सञ्चालक एवम् निर्वाचन समितिका सदस्य अधिवक्ता कृष्णकुमार श्रेष्ठसँग सम्बोधन नभएका बारे सोध्दा कार्यक्रमको सूची महासंघ कास्कीका पूर्व कोषाध्यक्ष तथा नवनिर्वाचित सचिव रामप्रसाद तिमल्सेनाले बनाएर दिएको र आफूले सूची अनुसार नै सम्बोधन गरेको बताए ।

कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलालाई भने कास्की शाखाका पूर्व अध्यक्ष भनेर आशनग्रहण गराइएको थियो । बास्तोलाले स्वतन्त्र पत्रकारलाई उपेक्षा गर्नु पत्रकारिता क्षेत्रकै अपमान र पत्रकार महासंघलाई राजनीतिक अखडा बनाई राख्ने नियोजित षडयन्त्र हुनसक्ने बताए । साथै उनले, यस सम्बन्धमा सम्बन्धित निकायसँग स्पष्टीकरण माग गर्नेसमेत जानकारी दिएका छन् ।

यसैगरी पत्रकार महासंघ कास्कीको खुल्लातर्फको सहसचिवमा सर्वाधिक मत ल्याएर बिजयी भएका स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय कोषाध्यक्ष दिननाथ बरालले धेरै पत्रकार महानुभावको मत पाएर सहसचिवमा निर्वाचित भए पनि महासंघमा स्वतन्त्र पत्रकारप्रति भएको व्यवहार देख्दा दुःख लागेको बताए ।

स्मरण रहोस्, पत्रकार महासंघ कास्कीको यही फागुन ६ गते सम्पन्न निर्वाचनमा स्वतन्त्र पत्रकार संघ नेपालका महासचिव कमल पौडेल अथक, कार्यसमिति सदस्य पदमा र केन्द्रीय कोषाध्यक्ष दिननाथ बराल सहसचिव पदमा सर्वाधिक मतले निर्वाचित भएका थिए । साथै साधारण सदस्य मनोज घर्तीमगर र सुरज श्रेष्ठ कार्यसमिति सदस्यमा बिजयी भएका छन् ।

यसैगरी स्वतन्त्र पत्रकार संघका सदस्य दुर्गा अधिकारी केन्द्रीय महिला सभासद्मा र एमबी आस्था मगर केन्द्रीय सभासद्मा तथा माधव वियोगी, गुप्तप्रसाद शर्मा, रामजी ओझा, प्रकाश बास्तोला, दुर्गाप्रसाद पौडेल, नारायणप्रसाद आचार्य र कृष्ण ज्ञवाली प्रादेशिक सभासद्मा निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी विभिन्न जिल्लामा भएको नेपाल पत्रकार महासंघको निर्वाचनमा स्वतन्त्र पत्रकारहरूले विजय हासिल गरेका छन् । लमजुङ शाखामा सर्वाधिक मत ल्याई स्वतन्त्रका जिल्ला अध्यक्ष कृष्णबहादुर आले महासंघको उपाध्यक्ष पदमा विजयी भए । यस्तै बाँके जिल्ला शाखाको नेपालगञ्जमा बिहीबार भएको निर्वाचनमा स्वतन्त्रका जिल्ला अध्यक्ष नमस्कार शाह प्रादेशिक सभासद्मा निर्विरोध निर्वाचित भएका छन् । अन्य पदमा साँझ अबेरसम्म मतदान भइरहेको जानकारी प्राप्त भएको छ ।

स्वतन्त्र पत्रकार संघ नेपाल २०६८ सालमा विधिवत रूपमा दर्ता भएको हो । हालसम्म १३ जिल्लामा शाखा गठन भएको संघको केन्द्रीय कार्यालय पोखरामा रहेको छ ।

तस्बिर – गोकुल बानिया 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button