पत्रकार महासंघ केन्द्रको महाधिवेशन पोखरामै

पोखरा-

नेपाल पत्रकार महासंघको आसन्न महाधिवेशन पोखरामै गर्ने गरी कास्की शाखा अग्रसर भएको छ । वि.सं. २०१२ मा स्थापना भएको महासंघको महाधिवेशन ६२ वर्ष बितिसक्दा पनि कास्कीले आयोजना गर्ने अवसर मिलेको छैन । यो वर्ष पोखरामै केन्द्रिय महाधिवेशन गर्ने गरी कास्की शाखाले कसरत सुरु गरेको हो । महासंघको २५ औं महाधिवेशन मे ३ मा हुँदैछ ।

नवनिर्वाचित अध्यक्ष दीपेन्द्र श्रेष्ठले यस्तो महत्वपूर्ण अवसरलाई यसपटक कास्कीले नै उपयोग गर्ने गरी अघि बढ्ने उद्घोष गरे । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रुद्रप्रसाद भट्टले पनि महाधिवेशन पोखरामै हुनुपर्नेमा समर्थन जनाउँदै सबैको साथ सहयोगको आवश्यकता रहेको बताए ।

धादिङ जर्नालिस्ट सोसाईटी, पोखराले नेपाल पत्रकार महासंघ कास्कीको १० औं अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी, सदस्य तथा पार्सदहरुलाई शनिबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा अध्यक्ष श्रेष्ठले यो नयाँ कार्यसमितिको पहिलो काम महाधिवेशन पोखरामै ल्याउनु रहेको उद्घोष गरे । यस अवसरमा देशविदेशका झण्डै १५ सय संख्यामा पत्रकार पोखरामा भेला हुने भएकाले पोखराको पर्यटन प्रवद्र्धनका लागि यो मौका लाभदायक रहने उनको भनाई थियो ।

आफ्नो तीन वर्षे कार्यकालमा सकेसम्म राम्रो गर्ने तर कुनै गलत काम नहुनेमा आश्वस्त पार्दै उनले हाम्रो महासंघ, राम्रो महासंघको अभियानमा युवा नेतृत्वको यो क्रियाशील पत्रकारहरुको टीम सदैव लागिरहने प्रतिबद्धता जनाए । महासंघले नै पत्रकारको हकहित, श्रमजीविको सवालहरुमा अभिभावकत्व ग्रहण गर्ने भएकाले आगामी दिनमा पत्रकारको लागि छुट्टै संस्था आवश्यक नपर्ने उनको कथन थियो । पोखरामा पत्रकारहरुको शुद्धिकरण गरिने जनाउँदै उनले दशकदेखि पत्रकारिता गर्नेहरु नयाँ सदस्य बन्दै रहेको अवस्थामा यो आवश्यक रहेको उल्लेख गरे ।

समाजका सल्लाहकार समेत रहेका कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय सदस्य रुद्र भट्टले धादिङका दर्जन बढि पत्रकार आबद्ध यो संस्था महासंघ बाहिरको संगठन नभएको प्रष्ट पार्दै एक विचार, एक मुख लिएर कुनै बादमा नलागी सामूहिक रुपमा अघि बढ्न गठन भएको बताए । उनले धादिङलाई पोखरा र पोखरालाई धादिङ जोड्ने उद्देश्यका साथ अघि बढेको संस्था अब दुई ठाउँको प्रवद्र्धन एक अर्का माध्यम बनाउँदै गर्नुपर्ने उल्लेख गरे । समाजका अध्यक्ष रञ्जन अधिकारी अत्याधिक मतका साथ कार्यसमिति सदस्य र सल्लाहकार केदार धमला निर्विरोध प्रदेश सभासद्मा निर्वाचित हुनु संस्थाकै लागि गर्वको विषय भएको बताए ।

महासंघ, कास्कीका निवर्तमान सल्लाहकार राजबहादुर गुरुङले पत्रकारको क्षमता अभिवृद्धि, श्रमजीविका समस्या समाधान, पारिश्रमिकका सवाल, क्वान्टिटी भन्दा क्वालिटी र आवाज विहनीको आवाजको माध्यम बन्न नयाँ नेतृत्वलाई सुझाव दिए ।

सल्लाहकार एवं धादिङ पोखरा सम्पर्क समाजका अध्यक्ष युवराज खतिवडाले पोखरामा रहेर धादिङका पत्रकारले गरेको योगदान प्रशंसायोग्य रहेको भन्दै दुई संस्था एकआपसमा मिलेर अघि बढ्ने बताए ।

संस्थाका उपाध्यक्ष रमेश तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित पदाधिकारी, कार्यसमिति सदस्य तथा पार्सदहरुलाई ढाकाको खादा ओढाई सम्मान एवं बधाई ज्ञापन गरिएको थियो । नयाँ सदस्यता प्राप्त गर्न सफल संस्थाका सदस्यलाई समेत बधाई दिईएको थियो । कार्यक्रममा सल्लाहकार केदार धमलाले स्वागत तथा सचिव हरि पन्तले सञ्चालन गरेका थिए ।

महासंघ कास्कीको शुक्रबार अबेर सम्पन्न अधिवेशनले दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । उपाध्यक्षमा त्रिभुवन पौडेल, महिला उपाध्यक्षमा बिमला भण्डारी, सचिवमा रामप्रसाद तिमिल्सिना, खुल्ला सहसचिव दिननाथ बराल, समावेशी सहसचिवमा दीपक परियार, कोषाध्यक्षमा सञ्जय मल्ल निर्वाचित भए । यस्तै, सुरेन्द्र पौडेल, रञ्जन अधिकारी क्षेत्री, एकराज गिरी, कृष्ण दवाडी, मनोज घर्तीमगर, कमल पौडेल अथक, प्रकाश ढकाल र सुरज श्रेष्ठ सदस्यमा विजयी भए । दोस्रो सर्वाधिक मत ल्याउने अधिकारी समाजका अध्यक्ष पनि हुन् ।

यसैबीच, धादिङ पत्रकार समाज, पोखराले निकट भविष्यमै पोखराका दुई दर्जन पत्रकार छनौट गरी धादिङको होम स्टे गाउँमा भ्रमण गराउने अध्यक्ष रञ्जन अधिकारीले जानकारी दिए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button