४० सडकमा डोजर चल्दै, कहाँ-कहाँ हुँदैछ सडक विस्तार ? (सूचीसहित)

३ चैत-

सरकारले काठमाडौं महानगरपालिकालाई सडक विस्तारका लागि एकैपटक ७४ करोड रुपैयाँ दिएको छ । काठमाडौंमा सडक विस्तार सुस्त भइरहेका बेला अर्थ मन्त्रालयले महानगरलाई रकम निकासा दिएको हो ।

अर्थ मन्त्रालयले ७४ करोड दिएपछि महानगरपालिकाले ४० वटा सडकलाई मापदण्डअनुसार विस्तार गर्न तयारी थालेको छ । अब काठमाडौं महानगरपालिका भित्रका २३ किलोमिटर साना सडकले आफ्नो वास्तविक स्वरुप पाउनेछन् ।
काठमाडौं महानगरपालिकाका अनुसार अहिले सडक क्षेत्र मिचेर ठड्याइएका सबै भौतिक संरचना हटाउन आग्रह गरिनेछ, अटेर गरेमा डोजर लगाएर हटाइनेछ ।

टेण्डर आहृवान गरेर काम थालिने काठमाडौं महागरपालिकाका भौतिक निर्माण विभाग प्रमुख उत्तरकुमार रेग्मीले अनलाइनखबरलाई बताए ।

४० वटा सडक विस्तार हुँदै

महानगरपालिकाले ६० वटा सडकलाई विस्तारको सर्टलिष्टमा राखेको छ । जसमध्ये ४० वटा सडक विस्तारको काम भने यसै वर्ष सुरु गरिने रेग्मीले बताए ।

महानगरपालिकाले ८ मिटरसम्मका सडक मिचेर बनाइएका संरचना हटाएर विस्तारको काम गर्ने गरेको छ । त्योभन्दा चौडा सडक विस्तारको काम काठमाडौं उपत्यका विकास प्राधिकरणले गर्दै आएको छ ।

‘झण्डै २३ किलोमिटर सडकको काम अब एकैसाथ अघि बढ्छ,’ रेग्मीले अनलाइनखबरसँग भने, ‘हामीले बजेट पाइसकेकाले अब विस्तारको काम थाल्न धेरै ढिला हुँदैन ।’

अब विस्तार हुने सडक अतिक्रमण गरी बनाइएका गैरकानुनी भौतिक संरचना हटाउने काम सुरु हुनेछ । यसअघि नै ती सडकमा मार्किङको काम भइसकेको छ ।

अब सार्वजनिक सडकलाई मिचेर बनाइएका घर, पर्खाल र टहराहरुलाई भत्काउने योजना छ ।

कति सडक बिस्तार भए ?

सडक मिचेर बनाइएका घर टहराहरुलाई भत्काउन २०६८ सालदेखि सुरु भएको थियो । काठमाडौं उपत्यका विकास प्राधिकरण र काठमाडौं महानगरपलिकाले सडक विस्तारको काम मिलेर गर्दै आएका छन् ।

आर्थिक वर्ष ०६८/६९ मा काठमाडौं उपत्यकामा ५१ किलोमिटर सडक विस्तार भएको थियो भने ०६९/७० मा जम्मा ७ किलोमिटर सडक विस्तार भयो । आर्थिक वर्ष ०७०/७१ मा ३२.४५ किलोमटिर सडक विस्तार भएको थियो भने ०७१/७२ मा २४ किलोमिटर सडक विस्तार गरिएको थियो ।

काठमाडौं महानगरपालिकाले अहिलेसम्म ८ मिटरसम्मका ५७ वटा सडकलाई फराकिलो पारिसकेको छ । जसमा ८४ करोडभन्दा बढी खर्च भएको छ ।

प्राधिकरण पनि काम गर्दै

सडक विस्तारका क्रममा काठमाडौं उपत्यका विकास प्राधिकरणले पनि उपत्यकाको १ सय किलोमिटर भन्दा बढी सडकखण्डमा मार्किङ गरिसकेको छ । ती ठाउँमा बनेका घर र भौतिक संरचना फेरि भत्काउनुपर्ने अवस्था छ ।

मार्किङ गरिएका केही सडकखण्डमा विस्तारको काम सुरु भइसकको छ । चालु आर्थिक वर्षमा १ सय १३ किलोमिटर अन्तर्गत पर्ने सबै सडक खण्डमा मार्किङ गरिसकेको छ ।

झण्डै ७० किलोमिटर सडक विस्तारको निर्णय भइसकेपनि अझै मार्किङ गर्न बाँकी छ । मार्किङ पश्चात पीडितले क्षतिपूर्ति लिन आएपछि मात्रै प्राधिकरण र महानगरपालिकाले बिस्तारको काम अघि बढाउने गरेको छ । क्षतिपूर्ति पाइसकेकाहरुको मात्रै सुरुमा घर तथा पर्खाल भत्काउने कार्य अघि बढाउँछ ।

लैनचौर-नागपोखरी र रामकोट-भीमढुङ्गा सडक २२ मिटर चौडा बनाइने

अहिले लैनचौरस्थित खानी विभागको मुख्य सडकदेखि नारायणहिटी दरबारको उत्तर क्षेत्र हुँदै नागपोखरीसम्मको साढे २ किलोमिटर सडकखण्डलाई २२ मिटर चौडा बनाउने तयारी छ ।

त्यस्तै चाबहिल चोकदेखि जोरपाटी हुँदै साँखुसम्मको १२ किलोमिटर सडक पनि विस्तार गरिने छ । त्यस्तै जोरपाटीदेखि सुन्दरीजलसम्मको ५ किलोमिटर सडकखण्ड पनि विस्तार हुँदैछ ।

सीतापाइलादेखि रामकोट र भीमढुङ्गासम्मको ५ किलोमिटर सडक पनि २२ मिटर चौडा बनाउन लागिएको छ । पेप्सीकोलादेखि खहरेसम्मको ३ किमी सडकखण्ड पनि विस्तार हुँदैछ ।

सडक विस्तारपछि केही वर्ष अघिसम्म साँघुरा देखिएका सडकहरु अहिले फराकिला भएका छन् । साथै यसले गर्दा शहरी सुन्दरता पनि बढेको छ । सडक फराकिलो भएसँगै सर्वसाधारणलाई पनि जामको सास्ती केही कम भएको छ ।

राजधानीका केही सडक खण्डमा स्थानीयको अवरोधका कारण योजना भएर पनि विस्तारको काम हुन सकेको छैन ।

विस्तार हुने सडकको सूची

 

स्रोत – अनलाइनखबर –  https://www.onlinekhabar.com/2017/03/557114/

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button