पोखरामा कक्षा तीनमा पढ्दै ५३ बर्षीया पराजुली, कक्षा एकबाट केहि दिनमै कक्षा तीनमा

डीएनबी,पोखरा –
दृढ इच्छा शक्ति भएमा कुनै काम गर्न उमेरले छेक्दैन भन्ने एक उदाहरण पोखराकी एक महिलाले दिएकी छन । उमेरले ५३ बर्ष पुगेकी पोखरा गैरापाटन पराजुली मार्ग घर भएकी गोमा पराजुली शिक्षाको महत्व बुझेर हाल बिद्यालय जान थालेकी छन ।

नाति नातिना खेलाएर वस्ने उमेरमा पराजुली यति वेला ७-८ बर्षका वालवालीकासंगै बिद्यालय पोशाकमा बिद्यालय जान थालेकी हुन । अन्य वालवालिकाका अभिभावकहरुले उनीहरुलाई बिद्यालयसम्म पुराउन आउने गर्दछन भने पराजुली बुढेसकालमा स्कुटरमा सरर बिद्यालय जाने गर्छीन । पारिवारिक कारणले गर्दा बिद्यालयको मुख देख्न नपाएकी पराजुली हाल एक्लो भए पछि आफ्नो बुढेसकालको साथीको रुपमा बिद्यालयलाई रोजेकी छन ।

२०७४ वैशाखबाट पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ स्थित जानकी आधारभुत बिद्यालयमा अध्ययनरत  पराजुली अन्य बिद्यार्थी जस्तै बिद्यालयको पोशाक, झोला लियर जाने गरेकी छन । जिवनमा शिक्षा अति आवश्यक हुने कुरा बुझेर तल्लो स्तरबाटै शिक्षा हासिल गर्न आफु बिद्यालयमा भर्ना भएको उनी बताउछीन । कक्षा एकमा केहि दिन अध्ययन गरेसंगै उनको क्षमतालाई कदर गर्दै बिद्यालयले कक्षा तीनमा पु¥याएको हो । पराजुलीले पोखरा न्युज संग भनिन“ मलै सानो उमेरमा शिक्षाको बारेमा केहि सिक्न पाईन, बिद्यालयको मुख पनि हेर्न पाईन, मैले सामान्य नेपाली अक्षर पढ्न जानेको कारणले गर्दा एकमा भर्ना भए पनि बिद्यालयले तीन कक्षाको योग्यता दिएको हो । ” केहि बर्ष अघि श्रीमानले संसार छाडे पछि दुई छोराहरु पनि आ–आफ्नो रोजगारमा लागेकोले गर्दा हाल आफु घरमा एक्लो भएकोले गर्दा फुर्सदको समयमा अध्ययन गर्न मन लागेर बिद्यालय जान लागेको उनले बताईन । उनले भनिन“ शिक्षा हासिल गर्न कुनै उमेरले नछेक्ने रैछ, मेरो मनमा लागेका धेरै कुरा पानामा लेख्ने धोको छ, मनमा लागेका कुरा खाली पानामा खेल्नको लागि पनि म बिद्यालय जान लागेकी हुँ । ”

आफ्नो स्वास्थ्यले साथ दिदा सम्म बिद्यालय जाने प्रण गरेकी पराजुलीले बिद्यालय जान थाले पछि आफुलाई भ्याई नभ्याई हुने गरेको बताईन । उनले भनिन“ शिक्षकले दिएको गृहकार्य गर्दा, विहान वेलुका आफै खाना पकायर खादा धेरै व्यस्त हुन लागेकी छु ।” आफु बिद्यालय जादा हाल सानो उमेरकै याद आएको बताएकी पराजुलीले बिद्यालय जादाको पहिलो दिनमा मिठाई वितरण गरेर बिद्यार्थीहरुलाई साथे बनाएको बताई । बिद्यालयका प्रधान्याध्यापक रघुनाथ शर्माले बिद्यालयमा हाल ५ देखि ५३ बर्षका बिद्यार्थीहरु भएको बताए । उनले भने “ ५३ बर्षीया पराजुली बिद्यालयकी एक उदाहरणीय बिद्यार्थीहरुको रुपमा हामीले लिएका छौं, उहाँ नियमित रुपमा बिद्यालय आउने, अति अध्ययनशिल हुनुहुन्छ, हामीले सोचे भन्दा पनि बढी अध्ययन गर्नु हुन्छ । ” बिद्यालय जान नपाएका उमेर धेरै बर्ष भए पनि शिक्षा हासिल गर्न चाहेकाहरुलाई आफुहरुले स्वागत गर्न तयार रहेको उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button