पोखरा न्युज –
नेपाली नारीहरुको महान पर्व तिजको अवसरमा हिमालय क्लव पोखरा वाटुलेचौरद्वारा आयोजित छात्र तर्फको ह्याण्डबल प्रतियोगिताको उदघाटन खेलमा सोसियल पव्लिक विजयी भएको छ । सोसियलले पोखरा एकाडेमीलाई १० का विरुद्ध १५ गोलले पराजित गरेको हो ।
यसै गरि छात्रा तर्फको खेलमा ग्लोवल कलेजियटले ज्ञान ज्योतीलाइ ४–३ गोल अन्तरले पराजित गर्यो । सोमबार सम्पन्न अन्य छात्र तर्फको खेलमा ज्ञान ज्योतीले पोखरा लनर्सलाई १२–८ र छात्रा तर्फ पोखरा एकाडेमी विजयी भयो । उसले ज्ञान ज्योती विद्या कुञ्ज्लाई ९–५ गोल अन्तरले हरायो ।
ऐतिहासिक तिज मेला तथा दोश्रो विद्यालय स्तरिय ह्याण्डबल प्रतियोगिताको उद्घाटन पश्चिम पृतनाका पृतनापति उपरथी देवेन्द्र बहादुर मेधासीले गरेका थिए । कार्यक्रममा पूर्व राष्ट्रिय भलिवल खेलाडी तथा भलिवलका प्रशिक्षक बलराम क्षेत्रीलाई भलिवल खेलमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल ह्याण्डवल संघका अध्यक्ष तेज गुरुङ्ग, सम्मानित व्यक्तित्व बलराम क्षेत्री, कार्यक्रमका मुल संयोजक बेनी वहादुर वस्नेत, क्लवका अध्यक्ष जिवनारायण श्रेष्ठ लगाएतले बोलेका थिए । उदघाटन कार्यक्रम ह्याण्डवल प्रतियोगिता उपसमितीका संयोजक नारायण प्रसाद देवकोटाको अध्यक्षतामा भएको थियो ।
क्लबका सचिव मोहनबहादुर थापाका अनुसार पोखरा लेखनाथ महानगरपालिका वडा नं १६ स्थित मैदानमा सोमबारदेखि सुरु भएको बाटुलेचौर तीज मेलाका अवसरमा प्रतियोगितामा छात्रतर्फ १६ तथा छात्रातर्फ १५ टीमले सहभागिता जनाएका छन । ह्याण्डबल खेलमा छात्रछात्रा दुवै तर्फ विजेताले नगद १५ हजार शिल्ड मेडल प्रमाणपत्र, उपविजेताले नगद १० हजार शिल्ड, मेडल र प्रमाणपत्र, सेमिफाईनालिस्ट टोलीले नगद दुई हजार पाँच सय मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको मुख्य प्रायोजन वाटुलेचौर स्थित पोखरा प्लाटेनियम एण्ड साइन्स सेन्टरले गरेको छ ।
भदौ आठ गतेसम्म हुने मेलामा विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता, समूहगत तीज गीत तथा नृत्य प्रस्तुति, छेलो हान्ने, रस्साकसी, घैंटो फुटाउने, म्यूजिकल चेयर लगायतका विविध साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिएका छन् । मेलामा विभिन्न विभिन्न स्रष्टाहरूलाई समेत सम्मान गर्ने कार्यक्रम छ । महिला पत्रकार जमुना वर्षा शर्मालाई सम्मान गरिने अध्यक्ष जीवनारायण श्रेष्ठ जीवनले जानकारी दिए ।