प्रधानमन्त्रीको घोषणा : विदेशमा जाने कामदारलाई २७ लाखसम्मको बिमा

क्यान्सर, किड्नी फेल, हृदयाघात र प्यारालाइसिसजस्ता १५ प्रकारका घातक रोग लागेका कामदारलाई सुविधा

१२ माघ-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीमा जाने कामदारलाई घातक रोगका लागि ५ लाख रुपैयाँ थप हुने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले मंगलबार वैदेशिक रोजगार बिमाका सम्बन्धमा भएका निर्णयबारे पत्रकार भेटघाट गर्दै यस्तो जानकारी दिएका छन् ।

हाल वैदेशिक रोजगारमा जाने कामदारको १० लाख रुपैयाँको म्यादी जीवन बिमा हुन्छ । क्यान्सर, किड्नी फेल, हृदयाघात र प्यारालाइसिसजस्ता १५ प्रकारका घातक रोगमा कामदारले यस्तो सुविधा पाउनेछन् ।

‘वैदेशिक रोजगारमा गएका नेपाली कामदारको बिमा सुविधामा विस्तार गरी कामदारको स्वास्थ्य बिमातर्फ साबिकको सुरक्षा तथा सुविधालाई विस्तार गरी जीवन बिमा, आयको नोक्सानीलगायतका सुविधा विस्तार गरिएको छ,’ उनले भने ।

सरकारले घातक बिमाबापतको रकम कामदारले १ फागुनदेखि नै पाउने प्रधानमन्त्रीले बताए । प्रधानमन्त्री प्रचण्डले १ फागुनदेखि कार्यान्वयनमा आउने यस्तो बिमाको करार अवधि १ वर्ष थप गरिएको जानकारी दिए । ‘यो व्यवस्थाले मध्यपूर्वका कतिपय देशमा ३ र मलेसियामा ४ वर्षको रक्षावरण गर्नेछ,’ उनले भने ।

यसैगरी वैदेशिक रोजगारमा जाने कामदारले जम्मा गरेको कल्याणकारी कोषको रकममा कामदारको मृत्यु भएमा ७ लाख रुपैयाँ पाउने गरी वैदेशिक रोजगार संशोधन विधेयक प्रक्रियामा रहेको छ । हाल कामदारको विदेशमा मृत्यु भएमा ३ लाख रुपैयाँ पाउने व्यवस्था छ । सरकारले यसको कार्यान्वयन गरेपछि वैदेशिक रोजगारमा जाने कामदारले २७ लाख रुपैयाँसम्म पाउनेछन् ।

भारत जाने कामदारको पनि बिमा
सरकारले भारत जाने सबै वालिग नागरिकको पनि बिमा गर्ने भएको छ । प्रधानमन्त्री प्रचण्डले भारत जाने कामदारको बिमा हुने व्यवस्थाका लागि गृह, परराष्ट्र र श्रम मन्त्रालयका प्रतिनिधि सम्मिलित एक अध्ययन कार्यदल बनाउने जानकारी दिए । ‘कार्यदलले दुई महिनाभित्र प्रतिवेदन दिने र प्रतिवेदनपछि यसको कार्यान्वयन हुनेछ,’ उनले भने ।

शारीरिक रूपमा मृत्युसरहलाई १८ लाख
प्रधानमन्त्री प्रचण्डले घातक रोग लागी मृत्यु नभएको, तर शारीरिक रूपले मृत्युसरह मानिने अवस्था प्रमाणित भएमा १८ लाख रुपैयाँसम्म कामदारले प्राप्त गर्ने जानकारी दिए । उनका अनुसार यस्तो अवस्था भएका कामदारले बिमाबाट १३ लाख र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट ३ लाखसहित घातक रोग लागेबापत ५ लाख गरी १८ लाख पाउनेछन् ।

पुरानाले पनि सुविधा पाउने
यसअघि बिमा गरिसकेका कामदारले घातक रोग र बिमाको पछिल्लो व्यवस्थाबमोजिम सुविधा लिन चाहेमा समानुपातिक थप शुल्क बुझाएर थप सुविधा पाउनेछन् । यस्तै, तीन महिनाका लागि वैदेशिक रोजगारमा गएका सबै कामदारका लागि अहिलेको करार अवधि नै लागू हुनेछ ।

कामदारले पाउने बिमा रकम (रुपैयाँमा)

जीवन बिमा : १० लाख
बिमितको आय नोक्सानी : २ लाख
किरिया खर्च : १ लाख
औषधि उपचार खर्च : १ लाख
शव ल्याउन खर्च : १ लाख
घातक रोग : ५ लाख (मृत्यु भएमा पनि)
कल्याणकारी कोष : हाल पाउँदै आएको ३ लाखमा ४ लाख वृद्धि गरी ७ लाख पुर्‍याइने

स्रोत – नयाँपत्रिका https://www.enayapatrika.com/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A7%E0%A4%BE%E0%A4%A8%E0%A4%AE%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A5%80%E0%A4%95%E0%A5%8B-%E0%A4%98%E0%A5%8B%E0%A4%B7%E0%A4%A3%E0%A4%BE-%E0%A4%B5/

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button