फागुन १२ गतेदेखि पोखरामा हुने जंगल फेस्टिवलको तयारी पूरा

पोखरा-

परिचय नेपालको आयोजनामा पोखरामा यही फागुन १२ गतेदेखि शुरु हुने तेश्रो संस्करणको जंगल फेस्टिभलको तयारी पूरा भएको छ । पोखराको शान्ति वन वाटिकामा संचालन हुने उक्त फेस्टिवलको तयारी पुरा भएको सोमबार महोत्सव स्थलमा आयोजना भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

जंगलमा रमाउदै खानपिन गर्ने अवसर, जंगलमा काटिएका र काम नलाग्ने थुप्रै रुखहरुलाई विभिन्न आकृतिमा ढालेर अझै बढि आकषर्ण बनाइएकोले अन्य मेला र महोत्सव भन्दा जंगल फेस्टिवल नितान्त फरक भएको परिचय नेपालका अध्यक्ष सोभित बस्यालले बताए । यही फागुन २१ गतेसम्म संचालन हुने फेस्टिवलमा दर्शकले जंगल र जंगली जीवनशैली अनुभूत गर्न पाउने गरी शान्ति वनवाटिका क्षेत्रमा थुप्रै आकषर्णका विषय बस्तुहरु राखिएको उनले जनाए ।

जंगलमा विभिन्न आकृति तथा सजीसजावट, विभिन्न घरको कटेज सहितका आकषर्ण निमार्णमा मात्र करीब १५ लाख खर्च भएको छ । फेस्टिवलमा लोपन्मुख जाति कुसुण्डालाई भेट्न सकिने, रोबोटिक भूत घर, नेपाल र भारतको रेस्लिङ, फेशन सो, नाटक मञ्चनसंगै गजल र मुक्तक समेत वाचन हुने भएको बस्यालले बताए । जंगलमा काटिएका र काम नलाग्ने रुखहरको स्थानमा नयाँ विरुवा रोप्ने उनले बताए । फेस्टिवलमा रेष्टुरेण्ट तथा खानाको करीब ३० र अन्य २० वटा सचेतनामुलक विभिन्न व्यापारीक तथा सेवामुलक स्टलहरु रहने भएको अध्यक्ष बस्यालले बताए ।

फेस्टिवलमा जंगली जीवनशैली र जैविक विविधता सम्बन्धि अध्ययन गरिरहेका सोधकर्ताहरुको लागि समेत लाभदायक हुने आयोजकले विश्वास लिएको छ । पोखरामा पर्यटन, संस्कृति, मनोरन्जन र खेलकुदको संभाव्यता देखेर आफुहरुले फरक शैलिमा उक्त महोत्सव हरेक दुई दुई बर्षमा आयोजना गर्दै आएको अध्यक्ष बस्यालले बताए । नाटक ‘भट्टीका सपना’ मञ्चन हुने भएको छ । पोखराको यूथ क्रियशन थिएटरसँगको साझेदारीमा नाटक मञ्चन गर्न लागेको हो । जंगल फेस्टिभलमा दर्शकले काट्ने हरेक टिकटबाट एक रुपैयाँ निर्माणाधिन नाटकघरको लागि समेत छुट्टाईएको छ । पोखरामा यूथ क्रियशन थिएटरले निर्माण थालेको नाटकघरको यतिबेला छाना छाउने काम मात्र बाँकी छ ।

दिपकराज गिरी, दीपाश्री निरौला, कर्ण दास, आस्था राउत, रामजी खाँड, गिरिश खतिवडा, ज्योती मगर, दिनेश डिसी लगाएतका कलाकारहरुको प्रस्तुती पनि दर्शकका लागि विशेष आकर्षण रहने परिचय नेपालका निर्देशक राजेन्द्र न्यौपानेले बताए । फेस्टिवलमा एक सय ७० थरीका चराहरुको आवाज दुरुस्दै निकाल्न सक्ने रमेश दुलालको समेत बिषेश उपस्थित रहने भएको बस्यालले जनाए । कान्तिपुर टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेजको प्रस्तुतीमा हुने फेस्टिभलको पोखरा फाइनान्स बैंकिङ पार्टनर रहेको छ ।

उक्त फेस्टिवल सम्पन्न गर्न करीब ८० लाख खर्च लाग्ने आयोजकले जनाएको छ । उक्त फेस्टिवलमा एक करोड आम्दानी गर्ने लक्ष्य राखिएको अध्यक्ष बस्यालले बताए । २ लाख ५० हजार रुपैया शान्ति वन वाटिकाको सडक स्तरउन्नतीमा खर्च गरीने भएको उनले जनाए। पेखरा उप–महानगरपालीका कार्यालय र नेपाल पर्यटन बोर्डको घुमफिर बर्ष २०७३ ले प्रवद्र्धन गरेको छ । पोखरामा हुने मेला र महोत्सव भन्दा भिन्न प्रकारको जंगल फेस्टिवलले पोखराको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने भएको नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button