पोखरामा जारि जंगल फेस्टिभल अब दुई दिन बाँकी, रेस्लिङले तान्यो दर्शक

पोखरा-

विहिबार तेस्रो सँस्करणको जंगल फेस्टिभलको आठौँ दिन । जंगलका विभिन्न रमाईला कुराहरुको अवलोकन गर्नुसँगै विहिबार शान्ति वन वाटिकामा लाइभ रेस्लिङ हेर्न आउने दर्शकको सँख्या निकै बाक्लो थियो ।

स्टेजमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुले विभिन्न खाले प्रस्तुती दिईरहेका थिए । बर्न टु डान्स ग्रुपको नृत्य प्रस्तुती र यूथ क्रियशन थिएटरले तयार पारेको नाटक ‘भट्टीका सपना’ हेरेर दर्शकले मनोरञ्जन लिईरहेका थिए । र, धेरैले यी दुई प्रस्तुतीलाई रुचाए । त्यसपछि स्टेजमा झुल्किएर विश्वकै होचो व्यक्तिमध्येका एक खगेन्द्र थापा । आफ्नै कदअनुसारको खुकुरी बोकेर दौरा, सुरुवाल कोटमा ठाँटिएर स्टेजमा देखापरेका खगेन्द्रको नाचलाई पनि दर्शकले खुब रुची मानेर हेरे ।

यद्यपी दर्शकमा व्यग्र प्रतिक्षा भने रेस्लिङकै थियो । स्टेज अगाडि रेस्लिङ रिङ ठिक्क पारेर राखिएको थियो । दर्शकलाई सकेसम्म अन्तिमसम्मै राख्नका लागि आयोजकले पनि केहि बठ्याँई गरेर रेस्लिङको सेड्युल केहि ढिलै राखेको थियो । जब खगेन्द्रको खुकुरी डान्स सकियो त्यसपछि उद्घोषक सुरेन कुमार सुशिलले रेस्लिङ खेल शुरु हुने जनाऊ दिए । तब जंगलमा एकाएक चर्को हुटिङ सुनियो ।

चर्को साउन्ड सिस्टम, झिलिमिलि लाइट र धुँवाको मुस्लोको बीचबाट पोखराकै रेस्लर ‘युव दादा’ झुल्किए । केहि समय अगाडिसम्म स्टेजमा आँखा अडाईरहेका दर्शकको नजर अब रेस्लिङ रिङतर्फ सोझियो । भारतका अर्का खेलाडीसँग घमासान लडेपछि अन्ततः नेपाली रेस्लर युव दादाले जित हात पारे ।

दोस्रो म्याच भारतका रेस्लर रक्की र नेपाली खेलाडी मास्कम्यानबीच भयो । यो खेलमा भने भारतको तर्फबाट खेलेका रक्कीले जित हात पारे । विहिबार तेस्रो र अन्तिम म्याच नेपालका नुवाकोटे टाइगर र भारतका फ्ल्यासबीच भयो । यो म्याचमा टाइगरको प्रहारबाट फ्ल्यास घाईते भए । यद्यपी फ्ल्यासले आफु भिड्न तयार भएको बताउँदै गर्दा पनि घाईते भएको कारण देखाउँदै टाइगरले म्याच हापे । र, तेस्रो म्याचले कुनै निक्र्यौल लिन सकेन ।

जंगल फेस्टिभलमा भएको यो रेस्लिङ म्याचलाई दर्शकले निकै रुचाएका छन् । आयोजकले पनि दर्शकलाई नयाँ स्वाद पस्कन पाएकोमा खुब दंग छ । ‘हामी निकै खुशी छौँ । जंगल भित्र एउटा प्रोफेशनल रेस्लिङ खेललाई पस्किएर दर्शकलाई मनोरञ्जन दिन पाएकोमा ।’ जंगल फेस्टिभलको आयोजक सँस्था परिचय नेपालका अध्यक्ष सोभित बस्यालले भने ।

फागुन १२ गतेदेखि शुरु भएको तेस्रो सँस्करणको जंगल फेस्टिभल अब दुई दिन मात्र बाँकी रहेको छ । आगामी शनिबार फागुन २१ गते तेस्रो जंगल फेस्टिभल सकिनेछ । यद्यपी यो दुई दिनमा जंगल फेस्टिभलमा सम्पूर्ण आकर्षणसँगै रेस्लिङ पनि हुने आयोजकले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button