खेलकुद पत्रकारका लागि तालिम

पोखरा-

खेलकुद पत्रकारका लागि पोखरामा दुई दिने तालिम हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीले यहाँका पत्रकारको लेखन क्षमता अभिवृद्धिका लागि फुटबल र क्रिकेट खेल सम्बन्धी प्रशिक्षण दिने भएको हो ।

मञ्चको मंगलबार बसेको बैठकले आगामी माघ २ र ३ गते ‘फुटबल र क्रिकेट खेलबारे एडभान्स जर्नालिज्म ट्रेनिङ’ आयोजना गरेको सचिव रञ्जन अधिकारीले जानकारी दिए । मञ्चले यसअघि वर्षमा आयोजना गरेभन्दा वृहत प्रशिक्षण कार्यक्रम राखिने मञ्चले जनाएको छ । ‘यस वर्ष सैद्धान्तिक ज्ञानका साथै अन्तिम दिन प्रशिक्षार्थीलाई फिल्डमै लगेर प्रयोगात्मक ज्ञान दिईनेछ ।’ मञ्चका अध्यक्ष केशव पाठकले भने– ‘तालिममा सहभागी भएपछि यी दुई खेलबारे समाचार लेखनमा सहयोग पुग्ने विश्वास लिएका छौं ।’

कार्यक्रम संयोजक एवं मञ्चका उपाध्यक्ष दिननाथ बरालका अनुसार प्रशिक्षणका लागि फुटबल खेल विश्लेषक सञ्जिव मिश्र, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्य, महासचिव प्रकाश तिमिल्सिना लगायत पोखरा आउनेछन् । साईमन पार्टी प्यालेसमा माघ २ र ३ गते हुने तालिममा सहभागिताका लागि पोखराका प्रत्येक मिडिया हाउसले कम्तिमा पनि एक जना खेलकुदमा कलम चलाउने पत्रकारलाई पठाउन मञ्चले अनुरोध समेत गरेको छ ।

कास्की जिल्ला खेलकूद विकास समितिको विशेष सहयोग एवं नेपाल खेलकूद पत्रकार मञ्चको प्राविधिक सहयोगमा हुने तालिममा सहारा क्लब पोखरा, साईमन पार्टी प्यालेस, क्षेत्रीय खेलकूद विकास समिति र कास्की जिल्ला क्रिकेट संघको सहयोग रहेको छ ।

यसैबीच, मञ्चको बैठकले पूर्वाञ्चलमा हालै सम्पन्न सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता र भारतको सिलगुढीमा भएको महिला साफ फुटबलमा यहाँबाट सहभागी पत्रकारको भूमिकाबारे समिक्षा पनि गरेको छ । पोखरा स्पोर्टस् अवार्डमा सहयोग आउने क्रम सुरु भएको र सहयोगीलाई धन्यवाद समेत बैठकले दिएको छ । आगामी माघ १४ गते सहारा यूकेसँग मञ्चले मैत्रीपूर्ण फुटबल खेल्ने तयारी समेत गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button