पोखरा न्युज –
सरकारले प्रदेश नं २ मा स्थानीय तहको निर्वाचन आगामी असोज २ गते तेस्रो चरणमा तोक्ने निर्णय गरेको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को आग्रहअनुसार प्रदेश नं २ मा स्थानीय तहको निर्वाचन असोजमा तोक्ने निर्णय गरेको उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकले यही असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता यही असार २ गतेको सट्टा असार ४ गते सार्न निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय गरेको छ । दोस्रो चरणको निर्वाचनमा राजपाको सहभागिताका लागि उम्मेदवार मनोनयनको मिति दुई दिन पछाडि सारेको जनाइएको छ ।
प्रदेश नं १, २, ५ र ७ को निर्वाचन यही असार १४ गतेका लागि तोकिएकामा राजपाले आफ्ना माग पूरा नभएसम्म निर्वाचनमा भाग नलिने जनाएपछि सत्तारुढ दलले आजै प्रदेश नं २ को निर्वाचन तेस्रो चरण असोज २ गते गर्नेमा गर्न सहमति जनाएका थिए । निर्वाचन आयोगले प्रदेश नम्बर २ को चुनाव सार्ने सरकारको निर्णयमा सहमति भने जनाइसकेको छैन ।