पोखराको विकास दिगो मोडेलमा गर्छौ -जिसी

पोखरा, २६ वैशाख-

पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमालेबाट मेयर पदका उम्मेदवार मानबहादुर जिसीले महानगरमा सिधै धाराबाट कलकल पिउने स्वच्छ पानी वितरणको योजना बनाएको बताएका छन् । ‘ स्वस्थ समाज निमार्णको लागि स्वच्छ पिउने पानी आवश्यक पर्छ,’ उनले भने,‘ मेयरमा विजयी भए भने सिधै धाराबाट पिउन मिल्ने स्वच्छ पानी महानगरवासीलाई वितरण गर्न योजना बनाएको छु ।’

चुनावी प्रचार कार्यक्रम अन्तर्गत वडा नम्बर ५, ७, ८, ९ र १० जनतासँग मत माग्दै गर्दा जिसीले स्वस्थ समाज निर्माणसहित पाँच वटा विषयलाई प्राथमिकतामा राखेर आफूले काम गर्ने बताए । उनले प्रविधि र सेवाग्राही मैत्री महानगर, उद्यमशील सहर निर्माण, वातावरण मैत्री सहर र दिगो मोडेलको विकास योजना बनाएर काम गर्ने बताए । ‘ स्वच्छ पिउन पानी वितरण नहुँदा हामी बिरामी भएर उपचारमा लाखौ रुपैयाँ खर्च गर्नु परेको छ,’ उनले भने,‘ दुषित पानीबाट धेरै रोग लाग्ने गर्छ, त्यसैले स्वस्छ पानी पिउन पाउने महानगरवासीको अधिकार स्थापित गराएरै छाड्छु । ’

उद्यमशीलताको विकास गरी युवाहरुलाई रोजगार सिर्जना गर्ने योजना एमालेले बनाएको उनले बताए । फोहोरलाई उचित व्यवस्थापन गरी सहरलाई वातावरण मैत्री बनाएर धुवा, धुलो र बोत्तलरहित महानगर बनाउन आफू लागि पर्ने बताए । ‘ दिनहुँ जसो आउने जनताका गुनासा र समस्यालाई २४ घण्टा भित्र समाधान गर्न इमर्जेन्सी रिपियर टिम बनाएर काम गरिनेछ,’ उनले भने ,‘ सार्वजनिक भाडाका सवारी साधनमा जिपिएस प्रणाली जडान गरेर सजिलो गरी यात्रा गर्ने वातावरण मिलाउन योजना बनाएका छौ, यो सम्भव पनि छ । ’ पाँच वर्षमा १ हजार ८ सय २५ दिन हुन्छ ती सबै दिनलाई महत्वपूर्ण र उपलब्धीमूलक बनाएर काम गर्ने अठोट जिसीले व्यक्त गरे ।

कार्यक्रममा उपमेयर पदका उम्मेदवार मञ्जुदेवी गुरुङले जनताको सहभागितामा आधुनिक महानगर बनाउन लागि पर्ने बताइन् । महिला सशक्तीकरण, बाल मैत्री सहर, ज्येष्ट नागरिक केन्द्रको स्थापना, महत्वपूर्ण सार्वजनिक स्थाललाई सूचना मैत्री बनाउन पहल गर्ने बताइन । ‘ पर्यटन पूर्वाधार थपेर हामीले रोजगारीको सिर्जना गर्न आवश्यक छ,’ उनले भनिन्‘ पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पर्यटक आगमनमा वृद्धि हुनेमा शंका छैन, त्यसले अहिलेदेखि नै पोखरालाई अन्तर्राष्ट्रि सहर बनाउने पूर्वाधारमा प्राथमकिता दिन जरुरी छ । ’

घरदैलो तथा चुनावी सभामा वडा नम्बर ५ का वडाध्यक्षका उम्मेदवार धनबहादुर नेपाली, ७ अध्यक्ष रामचन्द्र बराल, ८ का अध्यक्ष रुद्रनाथ बराल, ९ का अध्यक्ष गोपी तुलाचन र १० का अध्यक्ष महेन्द्रकुमार गुरुङले पनि वडाको आवश्यकता के हो त्यसको पहिचान गरी पूर्वाधार विकासमा लागि पर्ने प्रतिबद्धा व्यक्त गरेका थिए ।

उम्मेद्वारसँगै चुनावी सभा तथा घरदैलोमा एमालेका नेताहरु सोमनाथ अधिकारी प्यासी, गणेश तिमिल्सेना, तुलबहादुर गुरुङ, रवीन्द्र अधिकारी, सीता गिरी ओली, चुडामणि जंगली, खगराज अधिकारी, कृष्ण थापा, श्रीनाथ बराल, राजीव पहारी लगायतका नेता, कार्याकर्ता सहभागी छन् । उनीहरुले पोखराको दिर्घकालीन विकासको खाका एमालेसँग मात्र रहेको दाबी गरे ।

चर्चित दोहोरी गायक प्रजापति पराजुलीसहित तारापति सुवेदी, जीवन दाहाल, कृष्ण भण्डारी, लक्ष्मी नेपाली, श्रीराम अधिकारी, जमुना देवकोटा, पवित्रा गुरुङ, नारायण सुनार र ओम गुरुङले गीतमार्फत् एमालेलाई मतदान गर्न आव्हान गरेका थिए । जिसी र गुरुङ बुधबार वडा नम्बर २०, २२, २३ र ६ नम्बर वडामा चुनावी सभा र घरदैलोमा सहभागी हुनेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button