भारतीय राष्ट्रपतिको पोखरा भ्रमणको लागि तयारी तीब्र

पोखरा –

भारतीय राष्ट्रपति प्रणव मुखर्जीबाट यही कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपालको राजकीय भ्रमणको सिलसिलामा कात्तिक १९ गते पोखरा आउने भएपछि यहाँ त्यसको तयारी तीब्र पारिएको छ ।

राष्ट्रपति मुखर्जीको पोखरा भ्रमणलाई भव्यरुपमा सफल बनाउन पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक खगराज बरालको संयोजकत्वमा गठित मूल व्यवस्थापन सहयोग समिति र त्यसअन्तर्गत गठित स्वागतद्वार निर्माण तथा सरसफाइ, स्वागत व्यवस्थापन, निर्माण र पूर्वाधार तथा प्रचारप्रसार समितिले यतिखेर आफ्नो तयारीलाई तीब्रता दिएका छन् ।

पश्चिमाञ्चल क्षेत्रीय सहप्रशासक दिवाकर बाँस्तोलाका अनुसार उपसमितिले आफ्नो जिम्मामा भएका सम्पूर्ण कार्य कात्तिक १८ गते अगावै सम्पन्न गर्ने गरी काम थालेका छन् ।

प्राप्त कार्यक्रमअनुसार राष्ट्रपति मुखर्जी कात्तिक १९ गते १२ ः४५ बजे पोखरा विमानस्थलमा आइपुग्ने कार्यक्रम छ । विमानस्थलबाट सिधँै पोखरा ग्रान्ड होटलमा जाने र केही समय आराम गरेपछि अपरान्ह ३।०० बजे पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा जम्मा भएका भारतीय भूतपूर्व सैनिकको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

भूतपूर्व सैनिकको भेलालाई सम्बोधनपछि राष्ट्रपति मुखर्जी पोखरा विमानस्थलबाट काठमाण्डौ फर्कने कार्यक्रम छ । उहाँको भ्रमणको सिलसिलामा पोखराको सुरक्षा व्यवस्था मिलाइएको छ । यसको जिम्मा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले लिएका छन् ।

राष्ट्रपतिको भव्य स्वागतका लागि होटल ग्रान्डदेखि रामबजारस्थित भारतीय पेन्सन क्याम्पसम्म स्वागतद्वार बनाइनेछ भने उहाँ सवार गर्ने बाटोमा नेपाल र भारतका झन्डा फहराइनेछ ।

त्यस्तै नेपाली मौलिकपनमा आधारित सांस्कृतिक झाँकी, बाजागाजा एवम् अभिवादनबाट श्रद्धाएवम् हार्दिकताका साथ राष्ट्रपतिको स्वागत गरिने छ ।

पोखरा भ्रमणका क्रममा राष्ट्रपति मुखर्जीले भारतीय पेन्सनक्याम्पबाट अमरसिंह, पृथ्वीचोक, हल्लनचोक, लेकसाइडलगायतका स्थानको दृश्यावलोकन गर्नुहुने क्षेत्रीय सह–प्रशासक बाँस्तोलाले जानकारी दिनुभयो ।

विश्वमै पर्यटकीय ख्याती कमाएको पोखरामा अघिल्लो वर्ष सम्पन्न सार्क मन्त्रिपरिषद्को बैठक (मिनी सार्क सम्मेलन), त्यसलगत्तै भएको बेलायती राजकुमार ह्यारीको भ्रमणसँगै दिपावलीलगत्तै हुन लागेको भारतीय राष्ट्रपतिको भ्रमणले यहाँको गरिमा र महत्वलाई अझै उचाइमा पुरयाउने विश्वास पोखरेली जनताले लिएका छन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button