मंगलग्रहको उपग्रहमा वास बसाउनेमा नेपाल पहिलो तीनमा पर्न सफल

पोखरा न्युज –

मंगलग्रहको उपग्रह ‘फोबोस’ मा अन्तरिक्षा यात्री बस्न सक्ने वासस्थानको नमुना तयार गर्न अन्डरग्य्राजुएट तहका इन्जिनियरिङबीच संसारभर गराइएको प्रतिस्पर्धामा नेपाली विद्यार्थीको समूह विजेता तीनमा छनोट भएको छ ।अमेरिकन इन्स्टिच्युट अफ एरोनटिक्स एन्ड एस्ट्रोनटिक्स (एआईएए)ले आयोजना गरेको प्रतिस्पर्धामा चार नेपाली विद्यार्थी (थापाथली इन्जिनियरिङ क्याम्पस र पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थी) को संयुक्त समूह छनोट भएको हो ।

समूहमा थापाथली इन्जिनियरिङ क्याम्पसका राजन भण्डारी र सञ्जीव अधिकारी एवं पुल्चोक इन्जिनियरिङ क्याम्पसका राजकुमार गुरुङ र अर्जुन मगर सम्मिलित छन् । प्रतियोगितामा सहभागी हुने नेपाली विद्यार्थीको समूहले ६ वटा सिलिन्डर आकारका नमुनाको डिजाइन तयार गरेको छ । समूहका सदस्य राजन भण्डारीले प्रत्येक सिलिन्डर १३ दशमलव ७ मिटर लम्बाई र ६ दशमलव ७ मिटर फराकिलो हुने बताउनुभयो ।

एउटा सिलिन्डर बसोवासका लागि प्रयोग हुनेछ जसमा ६ जना बस्न सक्नेछन् । त्यसमा शौचालय, स्नानगृह, भान्साघरका साथै आराम तथा शारीरिक अभ्यासका लागि समेत स्थान छुट्ट्याइएको छ । दोस्रो सिलिन्डरमा मेडिकल र एस्ट्रोबोयोलोजी ल्याब हुनेछ । तेस्रो र चौथो सिलिन्डरमा अन्न उत्पादन गर्न सकिनेछ जहाँ धान, भटमास र सागको खेती हुनेछ । पाँचौं सिलिन्डरमा अभ्यास कक्ष हुनेछ भने छैटौं सिलिन्डरलाई स्टोरका रूपमा प्रयोग गर्न सकिन्छ ।

भण्डारीका अनुसार हरेक सिलिन्डरको चाप र ताप नियन्त्रण गरिएको छ । २५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रम नरहने गरी डिजाइन गरिएको उहाँले जानकारी दिनुभयो । मोडल तयार गर्न ६ महिना लागेको थियो । विद्यार्थीलाई पुल्चोक क्याम्पसका सह-प्राध्यापक सुदीप भट्टराईले सुपरिवेक्षण गर्नुभएको थियो भने नेपाल एस्ट्रोनमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले सहयोग गर्नुभएको थियो ।
विजेता विद्यार्थी समूह आफ्नो नमुनाबारे जानकारी राख्न आगामी सेप्टेम्बर एआईएएले आयोजना गरेको ‘स्पेस फोरम’ मा भाग लिन अमेरिका जानेछ । स्रोत – अन्नपूर्ण पोष्ट
Source: https://annapurnapost.com/news/73761

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button