पोखराको नेपाल भारत मैत्री बिद्यालय वन्द गराउने चेतावनी

केशव पाठक,
पोखरा –
पोखराको रामबजारमा रहेको नेपाल भारत मैत्री विद्यालय भोलि (शुक्रबार) देखि बन्द गराउने अभिभावकहरुले चेतावनी दिएका छन । उक्त बिद्यालयले नेपाल सरकारको नियम अनुसार नविकरण नगर्दा बिद्यार्थीहरुको भविष्यनै अन्यौलमा पर्ने भएको भन्दै अभिभावकहरुले शुक्रबार देखि बिद्यालयमा तालावन्दी गरी वन्द गराउने चेतावनी दिएका हुन ।

गत सालको भारतको केन्द्रिय सिविएसई वोर्ड अन्तर्गत परिक्षा दिएर पोखरा लगायत देशका विभिन्न उ्रच्च मावीमा अध्ययनरत ५४ जनाको (Equivalent) समकक्षता प्रमाणपत्र नहुँदा उनीहरुको भविष्य अन्यौलमा परेकोले आफुहरु बिद्यालय बन्द गराउने तयारीमा जुटेको एक अभिभावक खुम बहादुर खड्काले बताए । विहिबार नै बिद्यालयमा तालावन्दी गर्न सात बिद्यार्थी संगठन सहित अभिभावकहरु बिद्यालय पुग्दा, बिद्यालय प्रशासनले शुक्रबार देखि बिद्यालयका वस पनि संचालन नगर्ने र बिद्यालय पनि वन्द गर्ने आश्वासन दिए पछि आफुहरु फर्किएको खड्काले बताए । उनले भने “यदी अटेर गरी बिद्यालयले बिद्यालय संचालन गरेको खण्डमा हामीलाई सह््य हुँदैन, यसको पछाडि हामी मात्र छैनौं सात बिद्यार्थी संगठन पनि छन ।”

भारतीय पेन्सन क्याम्पद्धारा संचालित बिद्यालयका सदस्य सचिव लेफ्टीनेन्ट कर्णेल प्रदिप शर्माले बिद्यालयमा हाल देखिएको समस्याको समाधानको लागि धेरै कुरा अघि बढ्दै गरेको बताए । उनले भने “नेपाल सरकारका शिक्षा मन्त्रालयका सचिव र भारतीय राजदुत रन्जीत रे संग टेलिफोनमा वार्ता गरी सकेका छन, मन्त्रालयले यसको समाधान छिट्टै गर्ने आश्वासन हामीले पाएका छौं ।” बिद्यालयको नविकरणको बिषयलाई सन् २०१४ बाटै नै प्रकृया थालनी गरेको भए पनि मन्त्रालयले नविकरण नगराएको उनले आरोप लगाए । बिद्यालयका प्राचार्य मृत्युञ्जय सिंहले कसैले बिद्यालय वन्द गराउँछै भन्दै धम्की दिँदैमा बिद्यालय वन्द गर्न नमिल्ने बताए । उनले भने “नेपाल सरकारले यसको समाधान छिट्टै गर्नु पर्दछ, हामीले यसको लागि सम्पर्ण प्रकृया पुरा गरेका छौं ।” तर यता मन्त्रालयले भने सो विद्यालयले २०१४ देखि यता नविकरण नगरेको वुझिएको छ ।

तत्कालिन शिक्षा मन्त्री गिरीराजमणी पोखरेल आफु शिक्षा मन्त्री हुँदा मन्त्रालयले विदेशी विद्यालयलाई नेपाल सरकारले कानुनको परिधीमा राखेर नियमन गर्न र सोको लागि सम्वन्धनका लागि दर्ता र नविकरणका लागि आह्वान गरेको थियो । सो आह्वान वमोजिम सवै विदेशी विद्यालयले दर्ता गरे पनि पोखराको पेन्सेन क्याम्प स्थित नेपाल भारत मैत्री विद्यालयले नगरेकोले यतिबेला समस्या बल्झिएको हो । हाल उक्त विद्यालयमा ३ सय ५० जना विद्यार्थीहरु अध्ययनरत छन । विद्यार्थीहरुले कक्षा ११ को परिक्षा अगावै रेजिष्ट्रेसन गरिसक्नुपर्ने हुन्छ, यसका लागि विद्यार्थीहरु संग समकक्षता प्रमाणपत्र आवश्यक हुन्छ । जुन प्रमाणपत्र उनीहरु संग छैन । कक्षा ११ को रजिष्ट्रेसनका लागि मंसिर १५ गते अन्तिम म्याद भए पनि अभिभावकहरु शिक्षा मन्त्रालय, राष्ट्रिय परिक्षा वोर्ड र पाठ्यक्रम विकास केन्द्रमा नै धाउँन व्यस्त छन । “खर्च पनि ठूलो भइसक्यो । जिल्ला शिक्षा कार्यालय कास्की देखि राष्ट्रिय परिक्षा वोर्ड पोखरा कार्यालयमा समेत पटक–पटक निवेदन समेत दर्ता गरियो तर कतै बाट सुनुवाई भएन” एक अभिभावकले भने ।

राष्ट्रिय परिक्षा वोर्डका सदस्य सचिव सूर्य गौतमले प्रक्रिया पु¥याएर आएको विद्यार्थीलाई मात्र वोर्डले रजिष्ट्रेसन गर्न सक्ने बताए । उनले भने – “यो कसैको भविष्यको अन्यौलको कुरा भन्दा पनि वोर्डले नियम मिच्न सक्दैन ।” उनले यो पाठ्यक्रम विकास केन्द्र संग सम्वन्धित रहेकोले केन्द्रले ले नै समकक्षताको प्रमाणपत्र दिने बताए । “उसले किन दिएन उसलाई नै सोध्नुहेस” उनले ठाडो जवाफ दिए । विद्यालय सन २०१४ देखि नविकरण नभइकन संचालन भए पनि शिक्षा मन्त्रालय भने कानमा तेल हालेर सुतेको छ जसका कारण ५४ जना विद्यार्थीको भविष्य यति बेला अन्यौल बनेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button