आफ्ना नेता तथा कार्यकर्ताको घरमा छापा मारिएकोमा कम्युनिष्ट पार्टीको आपत्ति

पोखरा न्युज –

गलत हर्कत जारी रहे प्रतिकार गर्ने चेतावनी

मध्यरातमा आफ्ना नेता तथा कार्यकर्ताको घरमा खानतलाशी पूर्जी विनै छापा मारी परिवारजनमा आतंक मच्चाएको भन्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीले आपत्ति जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी कास्कीका ईञ्चार्ज रुपेश र सेक्रेटरी जगनले संयुक्त रुपमा आज एक प्रेस विज्ञप्ति जारी गरी आपत्ति जनाएका हुन् । गएराती करीब दुई बजेको समयमा नेकपा तनहुँका सेक्रेटरी गोकुल पराजुली र कास्की जिल्ला सदस्य बिजय अधिकारीको घरमा करीब दुई दर्जनको संख्यामा आएका प्रहरीहरुले विना पूर्जी खानतलाशी गरेर घरमा रहेका महिला तथा बालबालिकालाई आतंकित बनाएको आरोप जारी विज्ञप्तिमा लगाइएको छ ।

राजनैतिक आस्था राखेकै आधारमा यस्ता हर्कत गरी आतंक सृजना नगर्न र नगराउन पनि विज्ञप्तिमार्फत् चेतावनी दिइएको छ । साथै सोही विज्ञप्तिमार्फत् यस्ता हर्कतहरु जारी रहेमा प्रतिकार गर्न आफ्नो पार्टी तयार रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । सोही विज्ञप्तिमार्फत् सरकारी यस्ता गलत हर्कतको विरोध गर्न आम नेपाली जनता, मानव अधिकारकर्मी, पत्रकार, उद्योगी, व्यापारी र वुद्धिजीवी लगायतसँग आव्हान पनि गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button