गृहमन्त्री निधीले राजीनामा दिए, कारण यस्तो छ

काठमाडौं –

उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग दर्ता भएलगत्तै गृहमन्त्रीले राजीनामा दिएका हुन् ।
गृहमन्त्री निधीले स्वकीय सचिवमार्फत प्रधानमन्त्री प्रचण्ड सामू राजीनामा पत्र बुझाएका हुन् । आजैको मितिदेखि राजीनामा दिएको भने पनि उनले राजीनामाको कारण भने खुलाएका छैनन् ।

निधीले राजीनामा पत्रमा लेखेका छन्, ‘संविधानमा संशोधन गरी सबैको संविधान बनाउने पक्षमा र निर्वाचनको पक्षमा पूर्ववत सक्रिय रहे रहने छु ।’

राजीनामाको कारण महाअभियोग

राजीनामा दिनुअघि मन्त्री निधिले मुख्य सचिव सोमलाल सुवेदीलाई राजीनामाको प्रक्रियाबारे सोधेका थिए । प्रधानमन्त्री सामू राजीनामा दिनुपर्ने व्यवस्था थाहा पाएपछि उपप्रधानमन्त्री निधिले प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरी आफूले राजीनामा दिन लागेको जानकारी दिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनेबारे नसोच्न आग्रह गर्दा आफूले राजीनामा पठाइसकेको निधिले प्रधानमन्त्रीलाई जवाफ दिएका थिए ।

स्रोतका अनुसार गृहमन्त्री निधीले राजीनामा दिनुको मुख्य कारण प्रधानन्यायाधीश कार्कीविरुद्धको महाअभियोग नै हो । यसबारे आफूसँग पार्टी सभापतिले कुनै परामर्श नगरेको र १९ गते आईजीपी प्रकरणको फैसलालाई हेरेर नै महान्यायाधीशविरुद्ध महाअभियोग आएको गृहमन्त्री निधीको आशंका छ ।

कांग्रेस नेता निधी निकट स्रोतले भन्यो, ‘गृहमन्त्रीको राजीनामाको कारण महाअभियोग नै हो ।’

यद्यपि प्रधानमन्त्री कार्यालय स्रोतले भने मन्त्री निधीको असन्तुष्टि उनकै पार्टीको नेतृत्वसँग रहेको बतायो ।

प्रधानन्यायाधीश कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावसँगै बुझाइएको सांसदहरुको हस्ताक्षरमा पनि कांग्रेस सांसद समेत रहेका निधीको नाम छ । तर, उनको हस्ताक्षरमाथि केरमेट गरेर बदर गरिएको छ ।

अर्कै प्रयोजनका लागि गरिएको हस्ताक्षर यसमा प्रयोग भएको र निधीले महाअभियोगमा आफ्नो असहमति रहेको बताएपछि केरमेट गरिएको हुनसक्ने बताइएको छ ।

स्रोत -अनलाइनखबर –    https://www.onlinekhabar.com/2017/04/578349/

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button