राष्ट्र बैंकलाई गंभीर बन्न पश्चिमाञ्चल होटल संघ पोखराको आग्रह

पोखरा-

कर्जामा बैंकहरुले आफूखुशि एक्कासी ब्याज बढाउँदा लगानीको वातावरण प्रभावित भएको भन्दै पश्चिमाञ्चल होटल संघ पोखराले नेपाल राष्ट्र बैंकसँग समस्या समाधानका लागि उचित पहल थाल्न आग्रह गरेको छ ।

संघका अध्यक्ष बिकल तुलाचनले तरलता अभाव भयो भन्दैमा आफ्नो अफ्ठ्यारो टार्न बैंकहरुले ऋणिमाथि ब्याजको भार थोपर्नु जायज नभएको बताए । दश बर्षे द्वन्द्व, पटक पटकका बन्द र हड्ताल, विनासकारी भूकम्प तथा भारतीय नाकाबन्दी र नोटबन्दीबाट सिंगो पर्यटन क्षेत्र र नेपालकै अर्थतन्त्र समेत प्रभावित भएको बेला बैंकहरुको मनोमानि विरुद्ध राष्ट्र बैंक चुप लागेर बस्न नमिल्ने तुलाचनले बताए । वास्तबमा राष्ट्र बैंककै कम्जोर नीतिको फाइदा उठाउँदै बैंकहरुले ऋणी र कर्जाका सन्दर्भमा खेल्ने अवसर पाएको भन्दै उनले यस्तो कम्जोरी विरुद्ध राष्ट्र बैंक खरो उत्रन जरुरी भएको सुझाव तुलाचनको छ ।

बैंकहरुलाई घरजग्गा, शेयर र मोटरगाडिमा लगानी रोक्न लगाएर ती क्षेत्रलाई अनुत्पादक करार गर्दैैमा समस्याको दीर्घकालिन समाधान नहुने भन्दै तुलाचनले यसका लागि विज्ञहरुसँग सल्लाह गरी अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ राष्ट्र बैंक गंभीर हुनुपर्ने सुझाव पनि उनले राखे । लगानी र कर्जाजन्य विषयको समयमै अनगुमन नगर्ने तर अनुपात्दक क्षेत्रमा लगानी बढ्दा देखिएको नकारात्मक प्रभावबाट पार पाउन चालिएको कदमबाट अन्य ब्यावसाय र व्यवसायी भागिदार हुनुपर्ने अवस्थाको तत्काल अन्त्य गर्न संघले सरकारसँग माग गरेको छ ।

अन्यथा निजी क्षेत्र र लगानीको क्षेत्रलाई खल्बल्याउने वातावरण कायम रही रहे अर्थतन्त्रमा नै नकारात्मक असर पर्ने र यसले संकट निम्त्याउन सक्ने चेतावनी पनि तुलाचनले दिएका छन् । बैंकहरुले पनि एकोहोरो रुपमा ब्याज बढाउनुको सट्टा आगामी दिनमा निजी क्षेत्रसँग आपसी सल्लाह गरी अगाडि बढ्दा राम्रो हुने भनाई तुलाचनको छ ।

तुलाचनका अनुसार पर्यटन क्षेत्र दीर्घकालिन लगानीको क्षेत्र भएको र एकतर्फी रुपमा थोपरिएको ब्याज बृद्धिको असर यो क्षेत्रमा झनै नकारात्मक देखिने अवस्था सिर्जना भएको छ । निजी क्षेत्र र लगानीकर्ताको असन्तुष्टि जारी रहँदा नेपाल सरकार र राष्ट्र बैंकले केही सकारात्मक कदम चाल्छ कि भन्ने अपेक्षा सहित संघ पर्ख र हेरको अवस्थामा रहेको थियो । तर लामो समयसम्म पनि त्यस्तो कुनै सकारात्मक कदम नचालिंदा संघ दुःखी भएको अध्यक्ष तुलाचनले बताए । जलश्रोत, कृषि, पर्यटन लगायतका क्षेत्रमा लगानीको वातावरणलाई प्रोत्साहन गर्दै त्यस्तो क्षेत्रमा ब्याज नीति समेत केही खुकुलो गर्न तुलाचनले माग गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button