खेलकुद पत्रकारिता तालिम सुरु

पोखरा-

पोखरामा खेलकुद पत्रकारको क्षमता अभिवृद्धिका लागि दुई दिने तालिम सुरु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च, समन्वय शाखा कास्कीको आयोजनामा फुटबल र क्रिकेट खेल सम्बन्धी दुई दिने तालिम आइतबार देखि सुरु भएको हो ।

तालिमको पहिलो दिन फुटबल खेलसम्बन्धी तालिम प्रदान गरीएको थियो भने भोलि सोमबार फुटवल र क्रिकेटको तालिम दिईने भएको छ । नेपाली राष्ट्रिय महिला फूटबल टीमका प्रमुख प्रशिक्षक कुमार थापाले फुटबल खेलसम्बन्धी १७ नियम, फुटबल खेलको इतिहास र नेपाली फुटबलबारे सहजीकरण गरे । अर्का प्रशिक्षक मञ्चका केन्द्रिय महासचिव प्रकाश तिमिल्सिनाले फुटबल खेल रिपोर्टिङका क्रममा आवश्यक ज्ञान, सामाग्री, तयारी, लेखन शैलीका सम्बन्धमा प्रशिक्षित गराए । तालिममा कास्की जिल्ला स्थित विभिन्न मिडियामा आबद्ध ४४ जना पत्रकारको सहभागिता रहेको छ ।

यसअघि, तालिमको उद्घाटन समारोहमा प्रमुख अतिथि मञ्चका केन्द्रिय अध्यक्ष महेश आचार्यले खेल सम्बन्धी समाचार लेखनमा प्राविधिक ज्ञानको आवश्यकता रहने र यसका लागि तालिम फलदायी रहने बताए । खेलकुद सम्बन्धी समाचार लेख्ने पत्रकारले अन्य समाचार लेख्न सक्छन् तर अन्य समाचार लेख्ने सबैले खेलकुद बिटमा समाचार लेख्न सक्दैनन्’ – उनले भने – ‘खेलसम्बन्धी नियम तथा प्राविधिक ज्ञान नभएको खण्डमा समाचार पुरै गलत हुने भएकाले यसबारे प्रशिक्षण आवश्यक पर्छ । यसका लागि नै कास्कीमा मञ्चले वर्षेनी यस्ता तालिम आयोजना गर्दै आएको छ ।’ आचार्यले नेपालमा नौ जिल्लामा मञ्च गठन भईसकेको जानकारी दिँदै अहिले मुलुकमै कास्की शाखा सबैभन्दा सक्रिय रुपमा अघि बढेको जनाए ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष एवं मञ्चका सल्लाहकार खगराज पौडेलले पश्चिमाञ्चल खेलकुदको राजधानी भएको धारणा राख्दै खेलक्षेत्रसँग सम्बन्धित संघसंस्था र पत्रकारबीचको सहकार्यले नै समग्र खेलजगत अघि बढ्ने बताए। उनले खेलप्रति नागरिकको अभिरुचि बढाउन र खेलकुदलाई व्यवस्थित बनाउन पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताए । विश्वकै लोकप्रिय खेल फुटबल र दक्षिण एशियाको लोकप्रिय खेल क्रिकेटसम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरको मञ्चले आगामी दिनमा अन्य खेलहरुको तालिम सञ्चालन गर्न पनि सुझाव दिए । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले खेलसम्बन्धी जानकारी पत्रकारले समाचार सम्प्रेषण गरेपछि नै प्राप्त हुने भएकाले पत्रकारले सत्यतथ्य बुझेर सही समाचार सम्प्रेषण गर्नुपर्ने बताए । पत्रकार क्षमता अभिवृद्धि गर्ने तालिममा समितिले दिएको ५० हजार रुपैंयालाई निरन्तरता दिईने समेत जनाए ।

कार्यक्रमको अध्यक्षता समेत गरेका मञ्च कास्कीका अध्यक्ष केशव पाठकले अब खेलकूदको राजधानी बन्दै गएको सन्दर्भमा पोखरेली पत्रकारलाई यस्ता तालिम फलदायी बन्ने विश्वास व्यक्त गरे । कार्यक्रम संयोजक एवं मञ्च कास्कीका उपाध्यक्ष दिननाथ बरालले स्वागत एवं तालिमको औचित्यतामाथि चर्चा गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव रञ्जन अधिकारीले गरेका थिए ।

तालिमको अन्तिम दिन सोमबार क्रिकेट खेलबारे नेपाल खेलकूद पत्रकार मञ्चका केन्द्रिय अध्यक्ष महेश आचार्य लगायतले प्रशिक्षण दिने मञ्चले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button