लापरबाहीको पराकाष्ठा : बिरामीको पेटमै छाडियो फलामे औजार

माघ २ –
चिकित्सकको पेसा अत्यन्तै संवेदनशील हुन्छ । जसको सानो लापरबाहीले बिरामीको ज्यानै जान सक्छ । सिरहाको लहानमा चिकित्सकको लापरबाहीका कारण एकजना महिला मृत्युको मुखैमा पुगेकी थिइन् । भाग्य बलियो रहेछ, मुस्किलले बचेकी छिन्।

लहान नगरपालिका–२२ की २५ वर्षीया शान्ति यादव २६ पुसमा स्थायी बन्ध्याकरण गराउन मेरी स्टोप्स सेन्टर लहान गएकी थिइन् । त्यहाँ उनको शल्यक्रिया सम्पन्न भयो । घर पुगेपछि पेट दुखाइ झन–झन बढ्दै गयो । पानी मुस्किलले पिउन सक्थिन् । खाना खाने त कुरै भएन । ‘दिनभर छटपटी हुन्थ्यो,’ उनले भनिन्, ‘पिसाब फेर्न जान सक्ने अवस्थासमेत रहेन ।’ ‘तीन दिनपछि बिहान पीडाले छटपटाउँदै पिसाब फेर्न जाँदा पिसाबसँगै योनीबाट एउटा फलामको चोसो निस्कियो,’ यादवले भनिन्, ‘मरे मरियोस् भनेर जोरले तानेर हेर्दा फलाम निस्कियो ।’ परिवारका अन्य सदस्यलाई जानकारी गराएपछि उनी लगायत परिवारका सबै सदस्य शल्यक्रिया गर्ने क्रममा फलामको एउटा टुक्रा पेटमै छाडेको निष्कर्षमा पुगे ।

शान्ति यादवकी आमाले फलामको उक्त टुक्रा स्थानीय स्वास्थ्यकर्मीलाई देखाउँदै २८ पुसमा मेरी स्टोप्स सेन्टर लहानमा फोन गरिन् र सबै व्यथा सुनाइन् । पीडा सुन्ने डाक्टर थिए, मेरी स्टोप्स सेन्टरकै इन्चार्ज सुदीप श्रेष्ठ । उनी तत्काल एम्बुलेन्स लिएर पीडित महिलाको घर पुगे र पीडित महिलालाई लिएर मेरी स्टोप्स सेन्टरमै फर्के । श्रेष्ठले पीडित परिवारलाई कुनै सञ्चारकर्मीलाई घटनाबारे नभन्न आग्रह गरेका थिए । तर, पीडित परिवारले नयाँ पत्रिकाकर्मीलाई घटनाबारे पहिल्यै जानकारी दिइसकेको थियो । कहाँ लगिँदै छ भन्ने खबर चाहिँ स्पष्ट थिएन । लहानको सरकारी अस्पतालमा करिब दुई घन्टा कुरेपछि आफन्तलाई फोन गर्दा मेरी स्टोप्स सेन्टर लगिएको जानकारी आयो । त्यहाँ पुग्दा इन्चार्ज श्रेष्ठले बिरामी र कुरुवालाई गोप्य कोठामा राखेर सम्झाउँदै थिए ।

औजार छुटेको स्वीकार
मेरी स्टोप्स सेन्टरका इन्चार्ज सुदीप श्रेष्ठले सुरुमा त घटनाबारे केही बोल्नै मानेनन् । निकैबेर पिछा गरेपछि भने उनी घटनाबारे बोल्न बाध्य भए र कमजोरी भएको स्वीकार गरे । ‘कहिल्यै नभएको घटना भुलवश भयो,’उनले भने, ‘शल्यक्रिया गर्दा फलामको सानो टुक्रा (एलिभेटर) पेटमै छुटेको रहेछ ।’ उनले कसरी छुट्यो भन्नेमा आफैँलाई आश्चर्य लागेको भन्दै माफ मागे ।

कारबाही गर्न माग
मेरी स्टोप्स सेन्टरका इन्चार्ज सुदीप श्रेष्ठले गोप्य कोठामा लगेर निकैबेर सम्झाए पनि पीडित परिवारले कारबाही नै आफूहरूको अडान रहेको बताए । यस्तो लापरबाही फेरि नदोहोरियोस् भनेर शल्यक्रिया गर्दा पेटमै औजार छुटाउने चिकित्सकलाई कडा कारबाही गर्न माग गरिएको शान्ति यादवले बताइन् । घटनाबारे बुझ्न भन्दै इलाका प्रहरी कार्यालय लहानका प्रहरी पनि मेरी स्टोप्स् सेन्टरमा पुगेका थिए । तर, शनिबार थप कारबाही प्रक्रिया अगाडि बढाइएको छैन ।

Source :https://www.enayapatrika.com/2017/01/120004

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button