संविधान कार्यान्वयन र समृद्धिका लागि निर्वाचन अपरिहार्य

पोखरा-

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले संविधान कार्यान्वयन र मुलुकको समृद्धिका लागि सरकारले २०७४ माघ महिनाभित्र तीन तहको निर्वाचन सम्पन्न गर्ने गरी तयारीमा जुटेको बताउनुभएको छ । पोखरा उपमहानगरपालिका– १७ पहलतरा र २४ दम्सादीलाई जोडने फुस्रेखोलामाथि निर्माण सम्पन्न भएको झोलुङ्गे पुलको आज यहाँ उद्घाटन गर्दै उहाँले सरकार निर्वाचनका लागि स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनको प्रतिक्षामा रहेको बताउनुभयो ।

मन्त्री पाण्डेले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि मुलुकका सबै राजनीतिक दल एक हुनुपर्ने बताउँदै संसद्मा पेस भएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित हुने विश्वास व्यक्त गर्नुभयो । स्थानीय सक्रियतामा हुने कुनै पनि विकास निर्माणका कार्य गुणस्तरीय र छिटोछरितो हुने गरेको बताउँदै उहाँले भन्नुभयो — विकास निर्माण कार्यमा सबै पक्षको सहयोग, समन्वय र सक्रियता आवश्यक रहेको छ ।
व्यवस्थापिका संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले झोलुङ्गे पुलले तत्कालीन आवश्यकता पूरा भए पनि दीर्घकालीन सुविधाका लागि फुस्रेखोलामाथि मोटरेवल पुल निर्माण प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो ।

कार्यक्रममा झोलुङ्गे पुल निमार्णका लागि आवश्यक जग्गा उपलब्ध गराउने हेमकुमार श्रेष्ठ, बेदनाथ आचार्य, पूर्णकला आचार्यलगायत जग्गादातालाई सम्मान गरिएको थियो । तोकिएको समय भन्दा पाँच महिना अगाडि निर्माण सम्पन्न भएको २७६ मिटर लम्बाइको सो पुल रु एक करोड २२ लाख ५० हजारको लागतमा निर्माण गरिएको हो । पुल निर्माणपछि पोखरा २४ का स्थानीयबासिन्दालाई पोखरा आवतजावतमा डेढ घन्टाको समय छोटिएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button