अब पोखराको पश्चिमान्चल क्षेत्रीय अस्पताल जाँदा लाइन बस्नु नपर्ने

गणेश बराल, पोखरा- 

पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखारामा जचाउन जाने बिरामीले अबदेखि लाइन बस्नु नपर्ने भएको छ । अस्पतालले माघ २ गते देखि टोकन प्रणाली लागू गरेसंगै घन्टौ लाइन लाग्नुपर्ने बाध्यताबाट विरामीहरु मुक्त भएका छन् ।

माघ  २ गते देखि एउटा मेसिन र दुइ जना कर्मचारीको सहायतावाट अस्पतालले टोकन प्रणाली सुरु गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. बसन्त कुमार ताम्राकारले पोखरान्युज डटकमलाई बताए ।  “लाइन ब्यबस्थापन गर्दै बिरामीलाई सहजता प्रदान गर्न बोर्डको निर्णयवाट तिनवटा टिकट काउन्टरमा टोकन प्रणाली लागू गरिएको हो” ,  डा. ताम्राकारले भने ।  आफुहरु पहिले देखिनै बिरामीको सहजताको लागि टोकन प्रणाली भित्र्याउने सोचमा  रहेको भएतापनि स्वास्थ्य मन्त्रीको निर्देशनपछि तदारुकताका साथ लागि परेको उनले बताए । स्वास्थ्य मन्त्री गगन थापाले पद सम्हालेपछी सरकारी अस्पतालमा बिरामी जचाँउन जाँदा घण्टौं लाइन बस्नुपर्ने  अवस्थाको  अन्त्य गर्न देशभरका सवै सरकारी अस्पताललाई निर्देशन दिएका थिए ।

अस्पतालमा  बिहान ७ बजे देखी १२ बजे सम्म टोकन वितरण गरिने टोकन ब्यबस्थापनमा खटिएका कर्मचारी दिपक शर्माले बताए । आफु बिहान ७ बजे देखि टोकन ब्यबस्थापनमा खटिने गरेको र नम्बर हेर्न पढ्न नजान्नेहरुलाई नजिकै बसेर पालो आएपछि पठाउने गर्ने गरेको शर्माले बताए । उनले  दैनिक ५ सय देखि ८ सय सम्म टोकन वितरण हुने गरेको बताए । अस्पतालले हाल २ वटा काउन्टरमा मात्र टोकन सेवा  सुचारु  गरेको छ ।

टोकन प्रणाली संचालन भएपछि अस्पतालमा जचाउन आउने अधिकांस बिरामीले घन्टौ लाइनमा खडा बस्नु नपरेकोले आफुहरुलाई सहज भएको बताएका छन् । अस्पतालमा जचाउन आएकी स्याङ्गजाकी गीता नेपालीले भनिन , “पहिला आउदा लाइन बस्नुपर्थ्यो मानिसहरुले धकेल्थे अहिले टोकन दिदोरहेछ धेरै सजिलो भयो।”  म्याग्दीवाट आएका टपबहादुर पुर्जाले लाइनमा बस्न नपर्दा खुसि लागेको तर आफुले नम्बर हेर्न नजानेकोले टोकन बाड्ने हस्पिटलका कर्मचारीले सहयोग गरेको बताए । लेखनाथका राजु पौडेलले टोकन सिस्टमले घन्टौ लाइनमा बस्ने झन्झट बाट मुक्ति भएको भन्दै टोकन लिएर बाहिर आएर मजाले घाम ताप्न पाएको अनुभब सुनाए । उनले भने, ” अस्पताल आएर टिकट लिन लाइनमा बस्दा आधा रोग बढेजस्तो हुन्थ्यो अहिले त्यस्तो भएन ।”  उनले टिकट तर्फ मात्र नभई पैसा बुझाउने ठाउँमा समेत टोकन लागु गरे राम्रो हुने बताए ।

यसअघि स्वास्थ्य मन्त्रीको निर्देशन पश्चात काठमाण्डौका वीर अस्पताल, कान्ति अस्पताल महाराजगञ्ज, प्रसूति गृह थापाथली लगायतका सरकारी अस्पतालले टोकन प्रणाली लागू गरिसकेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button