प्रधानमन्त्री निर्वाचन दोस्रो बैठकमा

पोखरा न्युज –

व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा प्रधानमन्त्रीको चयन हुँदैछ ।

प्रधानमन्त्री पदका लागि एक मात्र उम्मेदवारको सूचना दिने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई चयन गर्न निर्वाचन हुने कार्यक्रम सभामुख ओनसरी घर्तीले पहिलो बैठकलाई जानकारी गराउनुभयो ।

यही जेठ २१ गते प्रधानमन्त्रीको निर्वाचनको मिति तय भएकामा नेकपा(एमाले)ले चितवनको भरतपुर महानगरपालिका– १९ मा पुनःमतदान गर्ने निर्वाचन आयोगको निर्णयको विरोधमा संसद् अवरोधको चेतावनी दिएका कारण बैठक बस्न सकेको थिएन ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट बहुमतका आधारमा नयाँ प्रधानमन्त्री चयनका लागि पठाइएको यही जेठ १८ मा प्राप्त पत्र एमालेको अवरोधका कारण संसद् बैठकमा प्रस्तुत मनोनयन नभई संसद् सचिवालयमा दर्ता भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रमुख तीन दलका शीर्ष नेताको सम्बोधनसँगै आजदेखि संसद्को बैठक सुरु भएको थियो । प्रधानमन्त्री प्रचण्डले यही जेठ १० मा राजीनामा दिनुभएको थियो ।

नयाँ प्रधानमन्त्री चयनलगायत महत्वपूर्ण कार्यसूची रहेको संसद्को बैठक अवरोध गर्दै आएको एमाले तथा सत्तारुढ नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताबीच सोमबार भएको सहमतिका आधारमा आजको बैठकको सुरुमा शीर्ष नेताहरुको सम्बोधन प्रारम्भ भएको छ ।

बैठकमा प्रधानमन्त्रीको चयन, स्थानीय तह निर्वाचन (पहिलो संशोधन), विधेयक, २०७४ लाई प्रस्तुत गर्ने, नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७३ माथि दफाबार छलफलका लागि प्रस्ताव गर्ने कार्यसूची छ । यस्तै प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाभियोगको प्रस्ताव फिर्ता गर्ने सूचनालाई बैठकको सहमतिका लागि प्रस्तुत गर्ने कार्यसूची छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button