पोखरामा ‘पुरानो पोखरा’ का संकलित फोटोहरुको प्रदर्शनी शुरु

पोखरा-


पोखरामा ५० वर्ष भन्दा पहिलेका ‘पुरानो पोखरा’का संकलित फोटोहरुको प्रदर्शनी शुरु भएको छ । पोखरा उद्योग वाणिज्य संघको सभाहल र अमृत कक्षमा ‘पुरानो पोखरा’का संकलित फोटोहरु प्रदर्शनीको फोटो संकलक डगलस हलले शनिबार एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै उनले आफूसँग जे जति संकलित फोटोहरु थिए ति सबै नेपालको सम्पति भएकाले हस्तान्तरण गरेको बताए ।

पोखरा लेखनाथ महानगरपालिकाका निमित्त कार्यकारी प्रमुख ओमराज पौडेलले पुरानो सम्झनालाई जोगाई राख्नु चुनौतिपूर्ण कार्य भएको बताए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले स इतिहास जोगाइदिएकोमा खुसी व्यक्त गर्दै सुन्दर पोखराको पर्यटन प्रवद्र्धनको लागि पुराना फोटाहरु सहायक हुने बताए ।

अग्रज फोटो पत्रकार विश्वरत्न शाक्यले पोखराको फोटोग्राफी इतिहाससँग पोखराको पनि इतिहास जोडिएको बताए ।

श्निबारदेखी शुरु भएको फोटो प्रदर्शनी सोमबारसम्म चल्नेछ । प्रदर्शनीमा १९६२ मा पोखरा आएको ‘अमेरीकन पिस कर्प भोलन्टियर’ का १०७ जनाले खिचेका १८ हजार तस्वीरहरु मध्ये पुराना र पोखराको तत्कालिन अवस्था बोल्ने ८४ फोटोहरु राखिएका छन् । ‘अमेरीकन पिस कर्प भोलन्टियर’का १०७ जना सदस्यहरुले खिचेका फोटोहरु प्रदर्शनीमा राखिएका हुन् । ति फोटोहरु खिचेकै समयमा डगलसले प्रतिलिपी अधिकार लिएका थिए ।

प्रदर्शनीमा पोखराको सबैभन्दा पुरानो तस्वीर पनि राखिएको तस्वीर संकलक तथा कार्यक्रम संयोजक सुनिल उलकले जानकारी दिए । वि.स.१९८१ सालमा नेपालकै पहिलो फोटोग्राफर दिर्घमान चित्रकारले खिचेका तस्वीर पनि प्रदर्शनीमा राखिएको उनले बताए । उक्त तस्वीर पोखराकै पहिलो र सबैभन्दा पुरानो तस्वीर भएको उनको दाबी छ ।

पचास वर्ष पहिलेका १८ हजार फोटो संकलन गरेका डगलस फोटो प्रदर्शनीको उद्घाटन गर्न नेपाल आएका हुन् । यद्वपी फोटो प्रदर्शनीमा राखिएका ८४ वटा फोटोमा उनले खिचेका फोटो भने समावेश गरिएका छैनन् । तर संकलित १८ हजार फोटोमा भने आफैले खिचेका करीब एक सय फोटो रहेको डगलसले जानकारी दिए । उनले आफूसँग भएका सबै फोटो शनिबारै पोखरा लेखनाथ महानगरपालिकाका नितित्त कार्यकारी प्रमुख, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा पोखरेलीहरुको उपस्थितमा फोटो प्रदर्शनीका संयोजक सुनिल उलकलाई हस्तान्तरण गरे । उनले ति फोटो सुरक्षित राख्दै बढी भन्दा बढी पोखरेलीलाई देखाउन आग्रह गरे ।

फोटो खिचेको पचास वर्ष पुगेपछि फोटोको प्रतिलिपी अधिकार हस्तान्तरण गर्नुपर्ने अन्र्तराष्ट्रिय नियमानुसार डगलसले प्रतिलिपी अधिकार आफूलाई दिएको उलकले बताए । उनले प्रदर्शनीमा व्यक्ति विशेषको भन्दा पनि स्थान विशेषका फोटोहरु राखिएको जानकारी दिए । जुन फोटोहरुले पोखराको ईतिहास झल्काउनुका साथै पोखराको परिवर्तनको आभास दिलाउने उनको विश्वास छ ।

प्रदर्शनीमा सन १९५५ देखी १९५७ सम्म खिचिएका भिडियो क्लिप्स पनि प्रदर्शन गरिएको थियो । उलकले फोटो प्रदर्शनी पछि ति फोटोहरुलाई पोखरा अन्र्तराष्ट्रिय संग्रहालयमा पनि केही समय प्रदर्शनीका लागि राखिने जानकारी दिए ।

फोटो प्रदर्शनी सुनिल उलकको एकल प्रयासमा भएको हो । प्रदर्शनीको सहआयोजकमा पोखरा लेखनाथ महानगरपालिका र पोखरा उद्योग वाणिज्य संघ रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button