Category Archives: राजनिति

दीपायल तनावग्रस्त, प्रहरीद्वारा १३ सेल अश्रुग्यास प्रहार

सरकारले प्रदेश नं ७ को अस्थायी राजधानी धनगढी तोकेपछि डोटीमा प्रदर्शन शुरु भएको छ ।

क्षेत्रीय प्रशासन कार्यालय दीपायललगायत अन्य क्षेत्रीय कार्यालयमा ढुंगामुढ, तोडफोड र आगजनी गर्न थालेपछि आज प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । भीडलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुका साथै १३ सेल अश्रुग्यास प्रहार गरेको जनाएको छ ।

दोहोरो झडपमा परी चार जना आन्दोलनकारी, पाँच जना नेपाल प्रहरी र चार जना सशस्त्र प्रहरीका जवान घाइते भएको प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए ।

घाईतेमध्ये दीपायल सिलगढी नगरपालिका– ४ का भरत विकको अवस्था गम्भीर भएकाले उपचारका लागि उनलाई धनगढी पठाइएको छ ।

यस्तै केआइसिंह– ७ का वृद्ध करी भण्डारी, दीपायल सिलगढी नगरपालिका– १ का नारायण खड्का र पुष्कर द्वारिया घाइते छन् । उनीहरुको दीपायलस्थित सुजंग अस्पतालमा उपचार भइरहेको छ ।

अन्य दर्जनौँ मानिसलाई चोटपटक लागेको छ । हजारौँको संख्यामा आएको आन्दोलनकारीको भीडमा बढीजसो महिला छन् । आक्रोशित आन्दोलनकारीले तीन वटा प्रहरी बिट र सडक कार्यालयको टिपरमा समेत तोडफोड गरेका छन् । अहिले डोटीको स्थिति निकै तनावपूर्ण छ ।

संविधान कार्यान्वयनको महत्वपूर्ण चरण पूरा भएको छ – प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयनको एउटा महत्वपूर्ण चरण काँग्रेसकै नेतृत्वमा पूरा भएको बताएका छन् ।

आज बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको पार्टी केन्द्रीय कार्यसमिति बैठकको प्रारम्भमा उनले संविधान निर्माणपछि तराई मधेशमा उत्पन्न समस्यालाई समाधान गरी निर्वाचन प्रक्रियामा सबैलाई सहभागी गराउनसक्नु काँग्रेसको सफलता हो भने ।

बैठकमा उनले लामो संक्रमणकाल अन्त्य गर्न प्राप्त सफलताका लागि सभापतिको हैसियतले सम्पूर्ण नेता कार्यकर्तामा बधाई ज्ञापन गर्नुभएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

सभापति देउवाले बैठकमा हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको परिणाम काँग्रेस अनुकूल आउन नसकेका कारणबारेमा व्यापक छलफल र अन्तक्र्रिया गर्न जरुरी रहेको बताउएका थिए ।

“निकट भविष्यमा पार्टीको महासमिति बैठक बस्नेछ, राज्यको पुनःसंरचनाअनुसार पार्टीको विधानमा संशोधनका साथै पार्टीको आगामी रणनीति तय गर्न उक्त बैठकले दिशानिर्देश गर्नेछ, पार्टीका सबै तह र भ्रातृ एवं शुभेच्छुक संस्थासमेतमा नवीन रक्तसञ्चार गर्न केही नयाँ योजना र कार्यक्रमका साथ अघि बढ्ने छौँ”, प्रधानमन्त्री देउवाको सम्बोधनलाई उद्धृत गर्दै प्रवक्ता शर्माले भने ।

माघ २४ गते निर्धारित राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ता माघ १० गते हुन लागेको सन्दर्भमा तत्कालै उम्मेदवारी चयन र निर्वाचनको तयारीमा बैठक केन्द्रित हुनुपर्ने बताउँदै प्रधानमन्त्री एवं सभापति देउवाले तत्काल केहीदिनमै केन्द्रीय कार्यसमितिको अर्काे बैठक बोलाई पुनः लामो छलफल र बहस गरिने जानकारी गराएका थिए ।

बैठकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टीको पराजयका बारेमा अर्काे बैठकमा विस्तृत समीक्षा गर्नुपर्ने बताउँदै राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन, अन्य दलसँगको सहकार्य, आसन्न निर्वाचनमा पार्टीका उम्मेदवार र मतदातालाई प्रशिक्षण दिनुपर्नेलगायत विषयमा धारणा राखेका थिए।

बैठकमा पार्टी नेताहरु विमलेन्द्र निधि, चन्द्र भण्डारी, दीपक गिरी, शंकर भण्डारी, कल्याण गुरुङलगायतले निर्वाचनमा पार्टीको पराजयका कारणबारे समीक्षा र राष्ट्रियसभा निर्वाचनमा पार्टीको तयारीबारे धारणा राख्दै पार्टीको रुपान्तरण आवश्यक रहेकामा जोड दिएका थिए ।

मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक) काँग्रेसमा समाहित भएपछि सो पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदार आज पहिलोपटक काँग्रेस केन्द्रीय समिति बैठकमा विशेष आमन्त्रित सदस्यका रुपमा सहभागी छन् । पार्टीको आगामी बैठकले महासमितिको बैठकको मिति तय गर्ने प्रवक्ता शर्माले बताए ।

प्रदेश नम्बर ५ को अस्थायी राजधानी दाङलाई नतोकेको विरोधमा बन्द

प्रदेश नम्बर ५ को अस्थायी राजधानी दाङलाई नतोकेको विरोधमा आज पनि दाङ जिल्ला बन्द गरिएको छ ।

दाङ प्रादेशिक सरोकार समितिको अगुवाइमा जिल्लाका विभिन्न स्थानमा स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । बन्दका कारण आज पनि बिहानैदेखि जिल्लामा लामो तथा छोटो दूरीका कुनै पनि सवारीसाधन सञ्चालन भएका छैनन् भने बिहानैदेखि यहाँका शिक्षण संस्था, कलकारखाना बन्द रहेका छन् ।

त्यसैगरी जिल्लाका तुलसीपुर, नारायणपुर, घोराही, लमही, गढवा र भालुबाङ बजार पनि बिहानैदेखि बन्द रहेका छन् । सडकमा नागरिक स्वतःस्फूर्तरुपमा प्रदर्शनमा उत्रिएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङ सडकखण्ड पूर्णरुपमा बन्द हुँदा भालुवाङ र अमेलियामा सवारीसाधन रोकिएका छन् । दाङलाई प्रदेशको राजधानी बनाउन सबै हिसाबले उपयुक्त भए पनि सरकार तथा राजनीतिक दलका नेताले दाङ माथि ठूलो अन्याय गरेकाले र आफूहरुले सरकारले तत्काल निर्णय नसच्याए अनिश्चितकालीन आमहडताल जारी राख्ने समितिका सदस्य–सचिव एवं नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले बताए ।

आन्दोलनमा सर्वसाधारणबाहेक कुनै पनि राजनीतिक दलका नेता सडकमा देखिएका छैन । यसअघि हिजो नेपाली काँग्रेस र नेविसंघका युवा दाङमा राजधानी माग गदै सडकमा देखिएका थिए ।

दाङ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले विज्ञप्ति निकालेर दाङलाई प्रदेश राजधानी नतोकेकोमा विरोध जनाएका थिए ।

एमालेका नेता तथा दाङ क्षेत्र नं २ को १ बाट प्रदेशसभामा निर्वाचित भएका शंकर पोख्रेलले सरकारको निर्णयलाई विवेकहीन भनेका छन् । यसअघि बुधबार अबेरसम्म घोराहीमा बसेको दाङ राजधानी सरोकार समितिले विभिन्न निर्णय गर्दै थप आन्दोलन चर्काउने जनाएको थियो ।

यसैबीच आज घोराहीमा सर्वपक्षीय बैठक बसिरहेको छ । सो बैठकको निर्णय भने आउन बाँकी नै छ ।

एक दर्जन कार्यालय तोडफोडपछि धनकुटामा कफ्र्यु

धनकुटालाई अस्थायी प्रादेशिक राजधानी नबनाइएको भन्दै आक्रोशित भीडले एक दर्जन सरकारी कार्यालयमा तोडफोड गरेपछि स्थानीय प्रशासनले यहाँ अनिश्चितकालीन निषेधाज्ञा (कफ्र्यु) जारी गरेको छ ।

बिहीबार सदरमुकाम धनकुटामा प्रादेशिक आन्दोलन संघर्ष समितिले अनिश्चितकालीन बन्दको कार्यक्रम शुरु गर्न खोज्दा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले स्थानीयवासी शम्शेर पौडेललाई समाएर पिटेको बताइन्छ । यो घटनापछि भीड उत्तेजित भएको थियो ।

आन्दोलनकारीले बिहान ८ः३० बजेतिर धनकुटा बजार बन्द गराउँदै हिँडेपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भण्डारी गाडी लिएर आएका थिए । आक्रोशित भीडले भण्डारी चढेर आएको ना१झ १३१४ नंको गाडी तोडफोड गरिदिए । मदन चोकमा भएको उक्त घटनापछि धनकुटा बजार तनावग्रस्त बनेको थियो । स्थानीय प्रशासनले ११ः४५ देखि अनिश्चितकालीन कफ्र्यु लगाएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिए ।

आन्दोलनकारीले सरकारी कार्यालयमा लगाइएको आगो निभाउन हिँडेका धनकुटा नगरपालिकाको दमकल पनि तोडफोड गरेका छन् । मोरङबाट बिरामी लिन भोजपुर हिँडेको एम्बुलेन्समाथि आक्रमण हुँदा एम्बुलेन्स चालक रञ्जित गिरी सामान्य घाइते भएको थाहाभएको छ । आन्दोलनकारीले पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा तोडफोड गरी आगजनी गरेका छन् । आगजनीमा कार्यालयका रहेका कम्प्युटर, टेबल, कुर्सी जल्नुका साथै झ्यालका सिसा फुटेका छन् ।

तोडफोड र आगजनी हुन थालेपछि सुरक्षकर्मीसँगको झडपमा परेर नेपाली काँगेसका कोषाध्यक्ष दिनेश राईसहित सातजना घाइते भएका आन्दोलनकारीले जनाएका छन् ।

यसैगरी, शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय तोडफोड गरिनुका साथै त्यहाँ रहेको एक मोटरसाइकलसमेत आगजनी गरिएको छ । जिल्ला मालपोत कार्यालय, जिल्ला हुलाक कार्यालय, सिँचाइ डिभिजन कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय, उच्च अदालत विराटनगर धनकुटा इजलासलगायत एक दर्जन कार्यालयमा तोडफोड भएका स्थानीय प्रशासनले जनाएको छ ।

धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउन ३३ दिनदेखि जारी आन्दोलन र हडतालका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । बुधबार सरकारले विराटनगरलाई प्रदेश नं १ को अस्थायी राजधानी तोकेको थियो ।

सरकारले नियुक्त गरेका प्रदेश प्रमुखमा हाम्रो सहमति छैन – अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेका प्रदेश प्रमुख र अस्थायी राजधानीमा आफूहरुको सहमति नरहेको बताएका छन् ।

बैंककमा स्वास्थ्य परीक्षण गरेर बिहीबार स्वदेश फर्किएका ओलीले आफ्नो स्वास्थ्य ठीक रहेको बताए । उनले सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न सरकारलाई सहमति दिएको तर, व्यक्ति र स्थानमा सहमति नरहेको बताए ।

उनले भने, ‘तोक्नु भन्ने सहमति हो । सरकारले गरेका निर्णयमा सहमति छैन ।’

प्रदेश प्रमुखहरु हटाउनुहुन्छ भन्ने प्रश्नमा उनले उपयुक्त समयमा उपयुक्त निर्णय लिने बताए ।

सरकारले ढिलै भएपनि अस्थायी मुकाम तोकेर अप्ठ्यारो फुकाएको भन्दै एमाले अध्यक्ष ओली प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभालाई भएको बताए । उनले भने, अनुकुलता, आवश्यकता र सम्भावनालाई हेरेर उपयुक्त निर्णय गर्छ ।’

आफ्नो भ्रमणलाई लिएर अनावश्यक प्रचार भएको भन्दै उनले भने, ‘कच्चा भेटियो, कतै पक्का भेटियो भनेको सुनेँ । यति साह्रो दरिद्र चिन्तन किन हुन्छ, अचम्म लाग्छ ।’

स्रोत : अनलाइनखबर

काँग्रेस बैठकमा राष्ट्रियसभा निर्वाचन मुख्य एजेण्डा

प्रमुख सत्ता रुढ दल नेपाली काँग्रेस केन्द्रीय समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानदेखि शुरु भएको छ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा शुरु भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, उपप्रधानमन्त्री एवं पार्टी नेता विजयकुमार गच्छदारलगायत पार्टी नेताहरु उपस्थित छन् ।

बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रिया, निर्वाचनमा अन्य दलसँगको सहकार्यका साथै समसामयिक राजनीतिक विषयमा छलफल शुरु भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि काँग्रेस केन्द्रीय कार्यसमिति बैठक पहिलोपटक बसेको हो । उक्त निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसार परिणाम नआएपछि पार्टीभित्र नेतृत्वको आलोचना हुनाका साथै केन्द्रीय समिति र महासमिति बैठक बोलाउनुपर्ने माग उठ्दै आएको छ । गत मंसिर १० र २१ गते भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मुलुकको ठूलो दल काँग्रेस पहिलो स्थानबाट दोस्रो स्थानमा पुगेको छ ।

बैठकमा राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयनको सैद्धान्तिक विषय, निर्वाचनमा अन्य दलसँगको सहकार्य, निर्वाचनमा पार्टीका उम्मेदवार र मतदातालाई प्रशिक्षणलगायत विषयमा छलफल हुने केन्द्रीय सदस्य बालकृष्ण खाँणले बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा हालै जारी अध्यादेशअनुसार राष्ट्रियसभा निर्वाचन एकल संक्रमणीय निर्वाचन प्रणालीका आधारमा हुँदैछ । उक्त निर्वाचन प्रणालीका बारेमा उम्मेदवार तथा मतदातालाई आवश्यक प्रशिक्षण गर्नुपर्ने आवश्यकता भएकाले काँग्रेसले निर्वाचनको तयारीका लागि सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि र प्राविधिक टोली खटाउनेबारेमा समेत निर्णय गर्ने उनले जानकारी दिए ।

सरकारले यही माघ २४ गते राष्ट्रियसभाको सदस्य निर्वाचनका लागि मिति घोषणा गरेको छ । सोहीअनुसार निर्वाचन आयोगले निर्वाचनको आवश्यक तयारी गरिरहेको छ । राष्ट्रियसभा निर्वाचनको तयारीका लागि सरकारले बुधबारमात्रै मन्त्रिपरिषद् बैठकबाट सातै प्रदेशका प्रदेश प्रमुख तोक्नुका साथै प्रदेशको अस्थायी केन्द्रसमेत तय गरेको छ । सरकारले प्रदेश प्रमुख र अस्थायी केन्द्र तोकेपछि बुधबार नै आयोगले पनि प्रदेशसभाको समानुपातिकतर्फको अन्तिम परिणाम सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री एवं पार्टी सभापति देउवाको व्यस्त समय तालिकाका कारण आजको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको पराजयका बारेमा प्रारम्भिक समीक्षामात्र हुने र विस्तृत समीक्षाका लागि निर्वाचन प्रक्रिया शुरु भइसकेपछि तत्काल अर्काे बैठक बस्न सक्ने नेता खाँणले बताए ।

प्रतिनिधिसभाको निर्वाचनपछि पार्टीमा संगठन सुदृढीकरणका साथै केन्द्रीय कार्यसम्पादन र संसदीय समिति विघटन गर्नुपर्ने, केन्द्रीय विभाग गठन गर्नुपर्ने, केन्द्रीय समितिलाई पूर्णता, भ्रातृसंस्थालाई पूर्णता एवं प्रभावकारी परिचालन गर्न माग उठिरहेको सन्दर्भमा यो बैठक शुरु भएको छ ।

धनकुटा तनावग्रस्तः आन्दोलनकारीले क्षेत्रीय प्रशासन कार्यालयमा आगो लगाए

प्रदेश नं. १ को राजधानी धनकुटा बनाइनु पर्ने मागसहित आन्दोलनरत् धनुकेटावासीले क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी गरेका छन् ।

उनीहरुले बिहीबार बिहान १० बजे प्रशासन कार्यालयमा आगजनी गरेका हुन् । जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार आगजनीबाट कार्यालयको दुई थान कम्प्यूटर, प्रिन्टर लगायतका सामग्री जलेर नष्ट भएको छ ।

आन्दोलनकारीले झ्याल ढोका समेत तोडफोड गरेका छन् । आगजनीबाट हेल्लो सरकारको कोठा जलेर पूर्ण रुपमा नष्ट भएको धनकुटा प्रहरीको सञ्चार शाखाले जनाएको छ ।

स्रोत : अनलाइनखबर