हिमदुत पत्रकारिता पुरस्कार प्रेम नेपालीलाई प्रदान गरिने

पोखरा-

नेपाल पत्रकार महासंघ कास्कीले संचालन गर्दै आएको स्वर्गीय जगन्नाथ सिग्देल हिमदुत पत्रकारिता पुरस्कार २०७२ वाट पत्रकार प्रेम नेपाली सम्मानीत हुने भएका छन् । पत्रकार महासंघ कास्कीको विहिवार बसेको बैंठकले प्रतिभा छनौट समितिको सिफारिसका आधारमा नेपालीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

प्रतिभा छनोट समितिको संयोजकमा पत्रकार महासंघ कास्की शाखाका पुर्व अध्यक्ष कृष्ण प्रसाद वास्तोला, शाखाका पुर्व अध्यक्ष पुण्य पौडेल, पत्रकार राजवहादुर गुरुङ, पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ र पत्रकार महासंघका सचिव रामप्रसाद तिमिल्सेना रहेका थिए । प्रतिभा छनौट समितिले पोखरामा रहेर डेढ दशक देखी पत्रकारितामा क्रियाशिल नेपालीलाई सर्वसम्मत रुपमा चयन गरेको थियो । पुरस्कार वितरण गर्नुभन्दा कंतिमा एक महिना अगाडी नै प्रतिभा छनोट समिति चयन गर्नुपर्ने भएकाले यस अघिको कार्यसमितिले नै प्रतिभा छनौट समिति गठन गरेको हो ।

पत्रकार नेपालीलाई स्वर्गीय जगन्नाथ सिग्देलको जन्मजयन्तीका दिन फागुन २१ गते शनिवार पत्रकार महासंघको सभाहलमा आयोजित एक समारोहका विच पुरस्कार प्रदान गर्ने महासंघ कास्कीका सचिव राम प्रसाद तिमल्सेनाले जानकारी दिए । पुरस्कारको राशि नगद रु ११ हजार १ सय ११ रुपैया र सम्मानपत्र रहेको छ ।

वि सं २०३६ सालमा पोखराको मालेपाटनमा जन्मीएका नेपालीले २०५७ देखि व्यवसायीक रुपमा पत्रकारिता शुरु गरेका हुन् । पोखरेली राष्ट्रिय दैनिकबाट आफ्नो लेखन यात्रा थालेका उनले जनमत दैनिक, गगन , पोखरापत्र, कान्तिपुर दैनिक, अन्नपूर्ण मिडिया नेटवर्क हुँदै हाल नयाँपत्रिका दैनिकको पश्चिमाञ्चल व्यूरो प्रमुख भएर काम गरिरहेका छन् । विशेषत खोजी समाचारमा रुची राख्ने नेपालीले पोखराको वाराही उच्च माविवाट प्रवेशिका पास गरी भारतको दिल्लीस्थित ईन्स्टिच्यूट अफ पव्लिक हेल्थ एण्ड हाईजिनबाट स्वास्थ्य बिज्ञानमा स्नातक गरेका छन् ।
पोखराका पहिलो पत्रकार स्वर्गीय जगन्नाथ सिग्देलको नाउमा उनको परिवारले पुरस्कार संचालनका लागी दुई लाख रुपँँयाको अक्षयकोष स्थापना गरेको छ । अक्षय कोषको व्याजवाट महासंघले हरेक वर्ष एकजना क्रियाशिल युवा पत्रकारलाई सम्मान गर्दै आएको छ । यस अघि उक्त पुरस्कारवाट पत्रकार विभु भुषाल (२०६८), कृष्णमणी वराल (२०६९), घनश्याम पाण्डे (२०७०), दुर्गा अधिकारी (२०७०) र ऋषिकान्त पौडेल (२०७१) सम्मानीत भईसकेका छन् ।

यसैगरी पत्रकार महासंघ कास्कीको विहिवारको वैठकले पत्रकार महासंघको सभाहलमा आफ्ना कार्यक्रम आयोजना गर्ने पत्रकारसँग आवद्ध विभिन्न संघ सस्थालाई आगामी ६ महिनासम्म निशुल्क हल उपलव्ध गराउने निर्णय गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button