पोखराका व्यवसायीहरुलाई उत्पादनको गुणस्तरता वृद्धि सम्वन्धी तालीम

पोखरा-

उत्पादनको गुणस्तरता वृद्धि गर्न पोखराका व्यवसायीहरुलाई उत्पादन र उत्पादकत्व व्यवस्थापन सम्बन्धी तालीम दिइएको छ । तालीममा पोखराका करीब १९ जना अटो वक्र्ससँग सम्वन्धित तथा फर्निचर व्यवसायी व्यवसायीहरु सहभागि थिए ।

पोखरा उद्योग वाणिज्य संघ तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (आइडिआई) को आयोजना तथा गण्डकी अटोमेकानिकल वक्र्स एसोसियन र पोखरा फर्निचर एण्ड फर्निसिङ व्यवसायिक संघको सहकार्यमा तालीमको आयोजना गरिएको हो ।

बिहीबार पाँच दिने तालीमको समापन कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले आफ्नो क्षमतालाई उजागर गर्न तालीम फलदायी भएको विश्वास व्यक्त गरे । उत्पादनको गुणस्तर सुधार हुन सके नेपाली उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न सक्ने उनको  भनाइ थियो । उत्पादन र राष्ट्रिय अर्थतन्त्रको विकासबीच अन्योन्याश्रीत सम्वन्ध रहेको चर्चा गर्दै उनले आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउनु पर्नेमा जोड समेत दिए ।

तालीमका प्रशिक्षक रामप्रसाद तिवारीले उत्पादन लागत कम गर्दै उत्पादकत्व अभिवृद्धिको लागि तालीमको आयोजना गरिएको बताए । ज्ञान, सीप र तालीमप्राप्त व्यक्ति बजारमा सजिलै बिक्ने भएकोले दक्षता अभिवृद्धिमा ध्यान दिन उनले व्यवसायीहरुलाई आग्रह पनि गरे  ।

पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीको संचालन तथा कोषाध्यक्ष पवनकुमार प्रजापतिको धन्यवाद ज्ञापन रहेको कार्यक्रममा सहभागिहरुको तर्फबाट यामनाथ आचार्य र विनोद भट्टराईले पनि मन्तव्य राखेका थिए  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button