माओवादी अब नहार्ने अध्यक्ष प्रचण्डको दाबी

पोखरा न्युज –

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले अब हार्ने ठाउँ नभएको बताउनुभएको छ ।

संगठन परिचालनमा कमजोरी र नेता गाउँ नपुग्दा हालैको स्थानीय तह निर्वाचनमा हारिएको उहाँले मूल्याँकन थियो ।

पार्टीको प्रदेश नं ६ को प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आइपुग्नुभएका अध्यक्ष प्रचण्डले पत्रकारसँगको भेटमा माओवादी केन्द्रले हार्नुपर्ने जति हारिसकेको तर, अब नहार्ने दाबी गर्नुभयो ।

पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “माओवादी एकता र ध्रुवीकरणको प्रक्रियामा छ । हेर्दै जानुहोला, अब माओवादीले जित्दै जान्छ ।”

उहाँले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिले मात्र देशमा राजनीतिक स्थिरता दिनसक्ने दाबी गर्नुभयो ।

संविधान संशोधन विधेयक निर्णयार्थ पेश भइसकेकाले तत्काल संविधान संशोधनको प्रस्ताव नलगिने अध्यक्ष प्रचण्डको भनाइ थियो ।
भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको चुनावपछि संविधान संशोधनको प्रस्ताव लगिने भन्ने भनाइप्रति इङ्गित गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “भर्खरै संविधान संशोधन विधेयक संसद्बाट अस्वीकृत भएको छ । अब तत्काल संविधान संशोधन हुँदैन । संविधान संशोधन नेपालको आन्तरिक विषय हो । यसबारे अरु कसैसँग कुरा गर्न आवश्यक पनि छैन ।”

परिवर्तनलाई स्वीकार गर्न नसक्नेहरु प्रदेश र केन्द्रको चुनाव हुन नदिन लागिपरेको समेत उहाँले बताउनुभयो । प्रदेश नं ६ माओवादीको किल्ला भएको उहाँको दाबी छ ।

सुर्खेतको वीरेन्द्रनगरमा शुरु भएको प्रशिक्षण कार्यक्रममा पार्टीका राष्ट्रिय महाधिवेशन आयोजक समितिका करिब ५०० सदस्य सहभागी भएका छन् ।

प्रशिक्षणमा अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, शक्तिबहादुर बस्नेत, मायाप्रसाद शर्मा, टेकबहादुर बस्नेत, कालीबहादुर मल्ल, महेश्वर गहतराजलगायत सहभागी हुनुहुन्छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button