नेपाली राजनीतिका लागि मासिक ७ लाखको जागिर र १४ वर्षको मौका त्याग

१८ फागुन-

बीबीसीसँगको २२ वर्ष लामो आवद्धता त्याग्दै राजीनामा बुझाएका रविन्द्र मिश्रलाई उनका ‘बोस’ एशिया संस्करण सम्पादकले भने- ‘आस्थाको एक विशाल छलाङ ।’ मिश्रको राजीनामा स्वीकृत गर्दै सम्पादकले लेखेका छन्-अ लिप अफ बिग फेइद (A leap of big faith) आगामी दिनको लागि बधाइ र शुभकामना ।

संसारभरका पत्रकारका लागि बीबीसीमा काम गर्नु एक विशाल सपना हो । आमसञ्चार तथा पत्रकारिताको इतिहासमा बीबीसी सबैभन्दा पुरानो र विशाल सञ्जाल भएको अन्तर्राष्ट्रिय सञ्चार संस्था हो । तर, रविन्द्र मिश्रले मासिक ७ लाख रुपैयाँ तलब, गाडी र परिवारको स्व्ाास्थ्य विमासहितको आकर्षक जागिर छाडेर नयाँ पार्टी खोल्ने निर्णय गरे । उनका सम्पादककै भाषामा भन्ने हो भने यो उनको विशाल छलाङ नै हो ।

बीबीसीको नियम अनुसार उनले ६५ वर्षको उमेरसम्म काम गर्न पाउँथे । हाल ५१ वर्षमा दौडिरहेका मिश्रका लागि अझै १४ वर्ष जागिरको चिन्ता थिएन । यति राम्रो नाम र दाम कमाइरहेका बेला उनले लिएको ‘विशाल छलाङ’ले पारिवारिक तनाव भएन त ? मिश्रका भन्छन्- अहँ भएन । मेरी पत्नी र छोराको पूरै साथ छ । तर, बुबाआमा र काकाहरुले अलि चिन्ता गर्नुभएकै हो ।

स्वेच्छिक बन्दीका महत्वाकांक्षी छोरा

रविन्द्रका बुबा प्रसिद्ध कलाकार तथा साहित्यकार मनुजबाबु मिश्र र काका अनाथ थिए । काठमाडौंको बौद्ध महाँकालका स्थायी बासिन्दा रविन्द्र मिश्रका बुबा मनुजबाबु विगत २५ वर्षदेखि आफ्नै घरमा ‘स्वनजरबन्द’ मा छन् ।

पिता मनुजबाबु बाहिरी दुनियाँबाट बिल्कुल टाढा छन् । यति टाढा कि आफ्नै जीवनी सार्वजनिक समारोहमा पनि उपस्थित नहुने एक ‘अर्ध भूमिगत स्वेच्छिक बन्दी ।’

रविन्द्र मिश्रका कम्तिमा तीन पुस्ता सक्रिय राजनीतिमा छैनन् । तर, करीव १८ वर्षअघि एक लेख मार्फत छोरोलाई राजनीतिमा लगाउने सार्वजनिक घोषणा गरेका रविन्द्र मिश्र आफैं राजनीतिमा होमिएका छन् ।

मिश्रका दुई दिदीमध्ये एउटीले पत्रकारिता क्याम्पस चलाउँछिन् भने अर्की सरकारी जागिरमा छिन् । रविन्द्रका भाइ तारागाउँमा कार्यरत छन् ।

छोरा र पत्नीको साथ पाएका मिश्र बुबाआमासँग होइन, ललितपुरको भैंसेपाटीमा बस्छन्, जहाँ उनका दुईवटा घर छन् । बुबा र काकाकै पालामा सस्तो मूल्य पर्नेबेलामा जग्गा लिएका कारण उनको परिवार औषत भन्दा हुनेखाने वर्गमै पर्छ ।

दार्चुलादेखि लण्डनसम्मको पढाइ

काठमाडौंमा जन्मिए पनि उनको अधिकांश पढाइ लेखाइ सुदूरपश्चिमको दार्चुला र डोटीमा भयो । उनका काका सरकारी जागिरमा भएकाले काकासँगै उनले सुदूरपश्चिमका सरकारी विद्यालयमा गुन्द्री ओछ्यारै पढेका हुन् ।

त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा स्नातकोत्तर गरेपछि उनले पाकिस्तानबाट पत्रकारितामा एमए गरे ।

पाकिस्तानमै रहँदा रविन्द्रले त्यहाँको सबैभन्दा ठूलो मानिने द न्युज इन्टरनेशनल पत्रिकामा करिव अढाइ वर्ष पत्रकारिता गरे । एक प्रकारले स्थापित भएपछि नेपालका मिडियामा लेख लेख्ने बाहेक उनले नेपालको पत्रकारिता भने गरेनन् ।

बीबीसी नेपाली सेवालाई अपवादमा राख्दा नेपाली पत्रकारितासँग उनको प्रत्यक्ष साइनो भेटिन्न ।

अन्तर्राष्ट्रिय राजनीति पढेर राष्ट्रिय राजनीतिमा प्रवेश

लण्डन विश्वविद्यालयबाट सन् २००२ मा अन्तर्राष्ट्रिय राजनीतिमा स्नातकोत्तर गर्दासम्म उनले राष्ट्रिय राजनीतिमा होमिने सोच बनाएकै थिएनन् । तर, विश्व राजनीतिको सबैभन्दा पूरानो मुहान बेलायतमा अन्तर्राष्ट्रिय राजनीतिमा एमए पास गरेको १५ वर्षपछि उनी विश्व राजनीतिमा पिछडिएको नेपालको राष्ट्रिय राजनीति रोजेका छन् ।

रविन्द्र मिश्रले विश्वविद्यालय पढ्दासम्म कुनै पनि विद्यार्थी संगठनको सदस्यता नलिएको दाबी गरेका छन् । उनले आफू जीवनमा कुनै पनि पार्टीमा आवद्ध नभएको दाबी यतिबेला गरेका छन्, जतिबेला बिल्कुल नयाँ राजनीतिक दल खोल्ने तयारीमा छन् ।

राजनीति पढेका तर कहिल्यै नगरेका मिश्रका लागि बिगतमा राजनीतिक आवद्धता नभएको प्रमाणपत्र कत्तिको बिकाउ हुने हो ? यो प्रश्न अहिले अनुत्तरित नै छ ।

उनले आफैं राजनीतिमा आउने सोचाइ चाहिँ चार वर्षदेखि बनाएका थिए । जसका कारण अचानक राजिनामा दिएर राजनीतिमा होमिने निर्णय सुनाउँदा बीबीसीका सहकर्मीले खासै आश्चर्य मानेनन् । उनले अनलाइनखबरसँग भने- मेरा सहकर्मीहरुलाई थाहा थियो, रविन्द्र मिश्र देशलाई माया गर्ने मान्छे हो, कुनै पनि बेला देशका लागि आफ्नो व्यक्तिगत जीवन र पेशा त्याग गर्न सक्छ ।

सुशील कोइरालाको प्रस्ताव अश्वीकार

राजनीतिमा लाग्ने वा लाग्न चाहने व्यक्तिको कुनै न कुनै महत्वाकांक्षा हुन्छ । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद यस्तै यस्तै । अझ मिश्र जस्ता पेशागत क्षेत्रका व्यक्तिहरुको आकांक्षा राजदूत वा यस्तै कुनै प्रतिष्ठित नियुक्ति । त्यसका लागि उनले कुनै ठूलो दलमा स्थान खोज्दा पाउन सक्थे । तर, उनले ठूला दलको प्रस्ताव कहिल्यै नमानेको दावी गरेका छन् ।

मिश्रले भने- ‘राजदूत होइन नेपाली कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य बन्नु परो भनेर सुशील कोइरालाले भन्नुभएको थियो । अरु पार्टीले पनि आउनुस भनेका हुन् तर मैले राजनीतिमा सफाइ र परिवर्तन चाहेको हो । पद र प्रतिष्ठा त मेरा लागि अहिलेनै थियो नि । मिश्र परिवार बामपन्थी झुकावमा चाहिँ कहिल्यै नरहेको पारिवारिक स्रोतले जनाएको छ ।

७ लाखको सोधभर्नाः २ घरको भाडा

मासिक ७ लाख तलबको सोधर्ना कसरी हुन्छ त ? राजनीति पैसा नभई गर्न सकिन्न बुझ्दा बुझ्दै राजनीतिमा होमिएका रविन्द्र मिश्रले आफ्नो आय स्रोत अरु नरहेको दावी गर्दै आएका छन् । उनले अब दुईवटा घर भाडामा लगाएर आम्दानीको स्रोत बनाउने बताएका छन् । यद्यपि घरभाडाबाट ७ लाख रुपैयाँको सोधभर्ना त सम्भव छैन ।

राजनीतिमा आदर्श भनेको बोल्नका लागि मात्र । जब व्यवहारमा लागिन्छ त्यसपछि धेरै कुराहरु सोचाइ भन्दा भिन्न हुन पुग्छन् । शून्यबाट राजनीति शुरु गर्न लागेका मिश्रले राजनीतिप्रतिको आदर्श सपना र व्यवहारिक यथार्थहरुको मूठभेड हुँदा आफूलाई कसरी जोगाउलान् ? यो उनीमाथिको पहिलो तर अनिवार्य प्रश्न हो । सधैं अरुलाई प्रश्न सोध्ने मिश्रमाथि तेर्सिएको यो प्रश्नको उनका स्रोताले जवाफ पर्खिरहेका हुनेछन् ।

स्रोत -अनलाइनखबर   https://www.onlinekhabar.com/2017/03/549541/

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button