पोखरामा ५५ वर्ष देखि एउटै साइकलमा सवार गर्दै रन्जित

न ८७ वर्षे रन्जित थाकेका छन  न ५५ बर्ष पुरानो साइकल 

अमृत सुवेदी
पोखरा-
विसं. २००२ सालतिरै माटेपानीका जगतबहादुर रन्जितले पोखरामा साइकलमा सरर..हिँड्थे । जतिबेला पोखरामा न गुड्ने मोटर थियो न मोटर बाटो । न धेरै मान्छे थिए न बाक्लो वस्ती । पोखरा धेरैजसो त जंगलै थियो । गोरेटा बाटा हुँदै मान्छेहरु मेलापात गर्थे । त्यही समयमा भारतबाट काठमाडौं र काठमाडौंबाट मान्छेको काँधमा बोकाएर रन्जित परिवार र आफन्तले पोखरा साइकल भित्र्याएका थिए । ‘मान्छेहरु साइकल देख्दा दंग पर्थे, त्यसभन्दा पहिले पोखरामा अरुले साइकल चढेको मैले देखेको थिइनँ,’ रन्जितले पुराना दिन सम्झे, ‘कोही मान्छेहरु त के रहेछ भनेर डराउँथे । हेर्नेहरुको भीड लाग्थ्यो ।’

साइकल चढेर टिरिङटिरिङ घन्टी बजाउँदै उनी गणेश टोलको गणेश मन्दिरको घन्टी बजाउन पुग्थे । रन्जितका बाउबाजे नै गणेश मन्दिर पुजारी थिए । रन्जितले पुजारी बनेर बाउको बिडो धान्न मन्दिर पुगेका थिए । ‘२००० सालतिर १० दिन हिँडेर काठमाडौं सत्विज छर्ने मेला हेर्न गएका थियौं । त्यहिबेला हो मैले पहिलो पटक साइकल देखेको,’ रन्जितले भने, ‘म पनि पोखरा लगेर साइकल चलाउँछु भन्ने सोचेको थिएँ ।’

साइकल चढ्ने रहर त पूरा भयो तर ५÷७ वर्षमै त्यो साइकल भाँचियो । साइकलमा चढेर हिँड्दा उनको शान थियो । साइकलको भरमा हिँड्न बानी पर्दानपर्दै उनी फेरि खुट्टामै आइपुगे । साइकल भाँचियो तर उनको साइकल मोह भाँचिएन । केही वर्ष खुट्टाले नै पोखराको बाटो नापेका रन्जितले फेरि साइकल किन्ने निर्णय गरे । निर्णय त भयो तर उनले त्यसका लागि २०१८ सालसम्म कुर्नुप¥यो । त्यतिबेला साइकल रहर होइन आवश्यकता बनेको थियो । रन्जितको दाइभाइ मिलेर रामबजार पेन्सन क्याम्प अगाडि कपडा दोकान खोलेका थिए । त्यसको गोदाम रानीपौवा घरमै थियो । गोदामदेखि दोकानसम्म कपडा ओसार्न साइकल किन्ने निधो भयो । हरिगोपाल, शेरबहादुर र जगतबहादुर रन्जितले ३ साइकल मगाए । यसपटक भने साइकल मान्छेको काँधमा बोकाएर पोखरा ल्याउनु परेन । भारतदेखि काठमाडौं र काठमाडौंदेखि जहाजमा पोखरा आइपुग्यो, हिरो जेड साइकल ।

पहिलेको साइकललाई कति रुपैयाँ प¥यो रन्जितलाई ठ्याक्कै याद छैन तर हिरो जेड साइकललाई ३ सय ५० रुपैयाँ तिर्नुप¥यो ।‘भारतबाट काठमाडौं र काठमाडौंदेखि जहाजमा पोखरा ल्याएको भाडासहित ३ सय ५० रुपैयाँ बुझाएको थिएँ,’ रञ्जितले भने, । साइकल पोखरा आएको अर्को वर्षमात्रै उनले चलाएका थिए । २०१८ चैत २७ गते घर भित्रयाएको साइकल २०१९ साल वैशाख ६÷७ गतेतिर मात्रै उनले चढेका थिए ।

एउटा अचम्म र अपत्यारिलो लाग्ने तर रोचक र सत्य कुरा के छ भने ५५ वर्षदेखि रन्जितले त्यही हिरो जेड साइकल चढिरहेका छन् । ‘साइल चढेर म अघिअघि कुद्थेँ, बच्चाहरु पछिपछि दगुर्थे,’ रन्जितले ती दिन सम्झे, ‘गाडी, मोटरसाइकल र साइकल नै कम भएका बेला साइकलमा हुँइकिनु पनि चानचुन कुरा थिएन ।’ कहिले आफूलाई साइकलले बोक्थ्यो । कहिले आफूले बोक्नु पथ्र्यो । महेन्द्रपुलमा पुल थिएन फड्के थियो । उनले त्यहाँ साइकल बोकेर तर्थे । रन्जितले हिरो साइकललाई आफू जत्तिकै माया गर्छन् । पहिले कपडा ओसार्ने काम गरेको हिरो जेडले केही वर्षमा दोकान बन्द भएपछि अन्नपातदेखि घाँस र दाउरासमेत ओसारेको छ । त्यही साइकलमा अघौं, रिठ्ठेपानी, मालेपाटन, राष्ट्र बैंकचोक लगायतका ठाउँमा रञ्जित साइकलमै पुग्थे । साइकलमै फेवाताल घुम्न पुग्थे । ‘धेरै टाढा साइकलमा गइनँ, जाने कामै खासै पर्थेन,’ रन्जितले भने, ‘मूरी धानदेखि ठूला भारी घाउँ दाउरा पनि मेरो हिरोले ओसारेको छ ।’ रन्जितको हिरो किन्न सयौं मान्छे आए तर उनले कति दिन्छौ भन्नेसम्म नसोधि सिधै दिन्नँ भनिदिन्थे । कसैले साइकल बलियो रहेछ यसको डन्डी बन्दुकको नाल बनाउनुप¥यो दिनुस् म भनेजति पैसा दिन्छु पनि भने । उनले कसैका कुरा सुनेनन् । उनलाई त्यहि हिरोमा चडेर हिँड्दा आफू साँच्चिकै हिरो लाग्थ्यो ।

८७ वर्षे बढौलीमा पनि रञ्जित अहिले त्यही साइकल चढेर जवान जस्तो बन्छन् । छोरानानीले पनि उनकै हिरो चढेर साइकल सिकेको उनले बताए । ‘५५ वर्षमा केही पटक टायर फेरेको छु । दुई पटक मर्मत गरेको छु । २÷४ पटक धोएको छु । नत्र केही गरेको छैन,’ रन्जितले भने, ‘छोरानानीले अब साइकल नचढ्नुस् । बरु कारै किनौँला भन्छन् । कि न हो किन मलाई यही हिरो मन पर्छ ।’ रन्जितलाई कार तथा सार्वजनिक गाडी चढ्नै नपरे हुन्थ्यो झैँ लाग्छ । साइकल चढ्नु मजा र यसले दिने फाइदा अरुमा छ जस्तो उनलाई लाग्दैन । ‘मेरै उमेरका कति यो संसारमा छैनन् । कति भएका पनि स्वस्थ्य छैनन्,’ रन्जितले भने, ‘म अहिले पनि स्वस्थ छु । दम, सुगर केहीले छोएको छैन । यो साइकलकै कारण हो ।’ खासै नाफाघाटा नजानेका सरल जीवन बाँचेका रन्जित साइकल चढ्दा पैसा, स्वास्थ्य, सुरक्षा लगायत धेरै कुरामा फाइदा पुग्ने बताउँछन् ।

सम्मानको आशा नगरेरै अहिलेसम्म साइकल चढेका ज्येष्ठ नागरिक रन्जितलाई शनिबार साइकल सिटी पोखराले सम्मान गर्ने भएको खबर समाधान दैनिक  मा छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button