पर्यटकीय नगरी पोखरा भित्रिने सडक सुधार गर्नुहोस – भारतीय पत्रकार

पोखरा-

अव्यवस्थित सडकका कारण पर्यटकीय नगरी पोखरा पुग्न विदेशी पर्यटकले विभिन्न किसिमका समस्या झेल्नु परेको भारतीय पत्रकारले बताएका छन् ।

प्रेस क्लब अफ इन्डियाका अध्यक्ष गौतम लहिरीसहित पोखरा आइपुगेको नौ सदस्यीय पत्रकारको टोलीले पश्चिमाञ्चल होटल सङ्घ पोखराद्वारा बुधबार आयोजित अन्तरक्रियामा अव्यवस्थित सडकका कारण पर्यटकमा नकारात्मक प्रभाव पर्नसक्ने हुँदा त्यसतर्फ बेलैमा सम्बन्धित निकायको ध्यान पुग्नु आवश्यक भएको बताउनुभयो ।

नेपालको दक्षिणी सीमाबाट नेपाल प्रवेश गर्ने भारतीयलगायत अन्य देशका पर्यटकले साँघुरा, भत्किएका तथा अव्यवस्थित सडकको यात्रा गर्नुपर्दा निकै दुःख झेल्नु परेको वास्तविकतालाई आत्मसात् गरी सडक पूर्वाधारलाई व्यवस्थित गर्नुपर्नेमा दिल्लीस्थित मिलेनियम पोस्टका कन्सल्टिङ एडिटरसमेत रहेका अध्यक्ष गौतम लहिरीले जोड दिनुभयो ।

“नेपालले सडकका साथै सबै पर्यटकीय पूर्वाधार व्यवस्थित र सुदृढ गर्न सकेमा स्थल मार्गबाट समेत धेरैभन्दा धेरै पर्यटक नेपाल र पोखरा आउँछन्,” उहाँले भन्नुभयो । दिल्लीस्थित ‘आनन्दबजार’ पत्रिकाका सहायक सम्पादक अग्नि रोयले नेपालको अव्यवस्थित सडकलाई तत्काल सुधार गर्नुपर्ने धारणा राख्नुभयो ।

काठमाडौँ आएका पर्यटक पोखरा पुग्न एउटै मात्र पृथ्वी राजमार्ग रहेको र अन्य वैकल्पिक छोटो मार्ग नहुँदा नेपालप्रति पर्यटकको धारणा नकारात्मक हुन सक्नेतर्फ सबै सरोकारवाला गम्भीर बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

इन्डोएसियन न्यूज सर्भिसका वरिष्ठ सहायक सम्पादक प्रशान्त सुदले पोखराको सुन्दरताबाट आफूहरू निकै प्रभावित भएको बताउँदै पर्यटनका लागि चाहिने आधारभूत आवश्यकता र पूर्वाधार निर्माणका लागि नेपाल सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

पश्चिमाञ्चल होटल सङ्घ पोखराका अध्यक्ष विकल तुलाचनले पटक पटकका बन्द र हडताल, भूकम्प तथा भारतीय नाकाबन्दी र नोटबन्दीबाट सिङ्गो पर्यटन क्षेत्र र नेपालकै अर्थतन्त्रसमेत प्रभावित भएपनि अहिले यो सुधारका क्रममा रहेको जानकारी दिनुभयो । विगतमा सङ्घले ‘चलिए पोखरा’ अभियानका साथ भारतका विभिन्न सहरमा प्रवद्र्धनका लागि पुगेको स्मरण गराउँदै उहाँले त्यस्तो अभियान पुनः छिट्टै बोर्डर टाउन सेल्स मिसनअन्तर्गत सञ्चालन गरिने जानकारी दिनुभयो ।

नेपाल आउने वार्षिक आठलाख पर्यटकमध्ये एक तिहाइ भारतीयको सङ्ख्या रहने गरेको जानकारी दिँदै उहाँले क्रिकेटलगायत भारतीयले मन पराउने खेलबाट समेत नेपालमा भारतीय पर्यटक आकर्षित गर्न सकिने सम्भावना रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रिय पर्यटन पुनजागरण समिति, पश्चिमान्चल क्षेत्रिय संयोजक गोविन्दराज पहारीले नेपाल भारत सम्बन्ध धार्मिक तथा सांस्कृतिक पर्यटनका हिसाबले महत्वपूर्ण रहेको धारणा राख्नुभयो । संघका सल्लाहकार  समेत रहनुभएका पहारीले पर्यटन क्षेत्र निकै संवेदनशील हुने भएकाले पर्यटकीय पूर्वाधारको विकास महत्वपूर्ण हुने बताउनुभयो । पुर्वाधार निर्माणका लागि आफूहरूले सरकारलाई घच्घच्याइरहेको जानकारी दिँदै पहारीले मुक्तिनाथ र पशुपतिनाथ जस्ता धाम भारतीय पर्यटकको महत्वपूर्ण गन्तव्य भएको स्मरण गराउनुभयो ।

सङ्घका महासचिव गणेशराज पहारीले पोखरा भारतीय पर्यटकका लागि गर्मी छल्न उपयुक्त स्थल भएको बताउँदै पोखरामा छिट्टै अन्तर्राष्ट्रिय विमानस्थल बन्ने र तत्पश्चात् सिधा उडानमार्फत भारतीय पर्यटक नेपाल आउनसक्ने विश्वास व्यक्त गर्नुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button