टपरमात्रै उत्पादन गर्न खोज्ने स्कुल ‘सफल स्कुल’ होइनन् – माथेमा

पोखरा –

कस्तो विद्यालय राम्रो ? ‘टपर’ उत्पादन गर्ने या चिन्तन मनन गर्ने विद्यार्थी उत्पादन गर्ने ? सफल विद्यालयको मापन ‘टपर’ उत्पादनको आधारमा गर्नु कत्तिको उचित छ ?

शिक्षाविद केदारभक्त माथेमा भन्छन्, ‘टपर उत्पादन गर्ने मात्रै राम्रो विद्यालय हुँदैनन् । चिन्तन मनन, बहस, छलफल गर्न सक्ने र आफ्नै विचार निर्माण गर्न सक्ने विद्यार्थी उत्पादन गर्ने विद्यालय राम्रा हुन् ।’ उनी शिक्षकले सुनाउने र विद्यार्थीले ग्रहण गर्ने शिक्षा काम नलाग्ने बताउँछन् ।

kedarbhakta-mathema

अमेरिकी लेखक जोन हल्ट लिखित पुस्तक ‘द अन्डरएचिभिङ स्कुल’ को नेपाली संस्करण ‘असफल स्कुल’ को परिचर्चा गर्दै उनले भने, ‘तथ्य घोक्ने भन्दा विद्यार्थीको विश्लेषण गर्ने क्षमतामा वृद्धि गर्नुपर्छ ।’ र्‍यान्डम रिडर्स सोसाइटी अफ नेपालले बिहीबार पोखरामा ‘असफल स्कुल’को परिचर्चा र अन्तरक्रिया गरेको हो ।

प्राध्यापक माथेमाले जोन हल्टको किताबले गरेको कल्पना जस्तै विद्यार्थीलाई व्यवहारिक शिक्षामा बढी जोड दिनुपर्ने बताए । अभिभावकले पनि आफ्ना छोराछोरीलाई जिम्मेवारी लिने बानीको विकास गराउनुपर्ने उल्लेख गर्दै माथेमाले घरमा गराइने अध्ययनलाई अध्ययन होइन भन्नु गलत भएको उल्लेख गरे ।

उनले भने, ‘स्कुल र कामबीचको कृत्रिम सीमांकन जायज होइन ।’ जापानका लागि पूर्व नेपाली राजदूत समेत रहेका माथेमाले सिकाइका लागि पहिले आफु को हुँ भनेर बुझ्नु आवश्यक रहेको बताए । ‘पहिले आफूलाई बुझ्दै परिवार, समाज र देश बुझ्नुपर्छ,’ उनले भने, ‘नेपाल बुझेर मात्रै अध्ययनको लागि छोराछोरीलाई बाहिर पठाउनुपर्छ ।’

राम्रो अंग्रेजी र राम्रो शिक्षा दुई फरक कुरा भएको उल्लेख गर्दै उनले भने, ‘असल विद्यार्थी बन्न अंग्रेजीमा दख्खल राख्दैपर्छ भन्ने छैन । आफ्नै भाषाको माध्यमबाट दक्षता हासिल गरे पुग्छ ।’ उनले जोन हल्टको पुस्तकले नेपालको शिक्षा नीतिमा भन्दापनि सोचमा परिवर्तन ल्याउन भूमिका खेल्ने बताए ।‘फुर्सदै नहुने गरी गृहकार्य देउ भनेर हाम्रो शिक्षा नीतिले भनेको छैन,’ उनले भने, ‘स्कुलबाट फर्किनुपर्दा हाम्रा विद्यार्थी उफ्रिदै फर्किने अवस्थाको अन्त्य गर्नुपर्छ ।’

कार्यक्रममा शिक्षा मन्त्रालयका सहसचिव हरि लम्सालले जोन हल्टको सोचलाई नेपालको शिक्षा प्रणालीमा हुबहु उतार्न सम्भव नभएपनि व्यावहारिक पक्ष मननयोग्य भएको बताए । उनले विद्यालयहरु सफल विद्यार्थी उत्पादन गर्न मात्रै लागिरहेको सन्दर्भमा ‘असफल स्कुल’ले असल विद्यार्थी उत्पादन गर्ने उपायँ सुझाएको सुनाए ।

लम्सालले नेपालमा शिक्षाको समग्र विकासका लागि सरकार र गैरसरकारी पक्षबीचको बहसबाट बाहिर आउन जरुरी रहेको उल्लेख गरे । किताबको प्रकाशक सिकाइ समूहका प्रबन्ध सम्पादक सुदर्शन घिमिरेले ‘असफल स्कुल’ले राम्रो शिक्षाका लागि विद्यार्थी, अभिभावक, शिक्षक र अन्य सरोकारवालाको सोचमा परिवर्तन ल्याउन सहयोग पुर्‍याउने बताए ।

र्‍यान्डम रिडर्स सोसाइटी अफ नेपालका अध्यक्ष उपेन्द्र पौडेलले जोन हल्टको विचारलाई नेपालको शिक्षा प्रणालीमा लागु गर्न सके कायापलट हुने बताए । उनले असल शिक्षाका लागि जोन हल्टको उपायँमाथि बहस होस् भन्ने उद्देश्यले परिचर्चाको लागि ‘असफल स्कुल’ छनोट गरेको जानकारी दिए ।

सोसाइटीका उपाध्यक्ष केशवशरण लामिछानेले स्कुललाई सफल बनाउन व्यवस्थापन समिति, सञ्चालक वा शिक्षकहरुको मात्रै दोष नभई अभिभावक,समुदाय, संघसंस्थाको पनि उत्तिकै भूमिका हुने विचार व्यक्त गरे ।

साभारः समाधान न्युज

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button