Category Archives: समाज

प्रदेश नं ४ का प्रदेशसभा ज्येष्ठ सदस्यद्वारा शपथग्रहण

प्रदेश नं ४ का प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले आज पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालय पार्दी पोखरामा प्रदेश प्रमुख बाबुराम कुँवरले उनलाई शपथग्रहण गराएका हुन् ।

समारोहमा क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल,पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, प्रदेश कार्यालयका सचिव देवीप्रसाद ज्ञवालीलगायतको उपस्थिति रहेको थियो ।

ज्येष्ठ सदस्य श्रेष्ठले आजै प्रदेश नं ४ का प्रदेश सभा सदस्यहरुलाई शपथग्रहण गराउने कार्यक्रम रहेको छ ।

म्याग्दीको गुर्जामा हीराजस्तै टल्किने कार्ज ढुंगाखानी उत्खनन हुन सकेन

म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाको पहाडमा रहेको हीराजस्तै टल्किने बहुमूल्य कार्ज ढुंगाखानी उत्खनन हुन नसक्दा राज्यले अर्बौ रुपैयाँ गुमाएको छ ।

हीरा, मोतीजस्ता बहुमूल्य बिलासी धातुमा प्रयोग हुने ‘कार्ज’ नामक उक्त ढुंगाको खानी गुर्जाको पहाडमा रहेको प्रमाणित भइसक्दा पनि उत्खननका लागि राज्यले कुनै पहल नगर्दा अलपत्र अवस्थामा रहेको छ ।

खानी तथा पुरातत्व विभागले एक दशक अगाडि उक्त ढुंगा खानीको पहिचान गरे पनि उत्खननका लागि सम्बन्धित निकायले चासो नदेखाउँदा अलपत्र परेको धौलागिरि गाउँपालिका–१ का वडाध्यक्ष झकप्रसाद छन्त्यालले बताए । जिल्लाको अति विकट क्षेत्रमा रहेको गुर्जाको घुर्मखोलाअन्तर्गत पर्ने गुर्जा हिमालको फेदमा रहेको उक्त खानीको कार्ज ढुंगा म्याग्दीको सदरमुकाम बेनीमा जारी छैटौँ म्याग्दी महोत्सवमा राखिएको छ ।

शुक्रबार हेलिकप्टरबाट म्याग्दी उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष राजेश शाक्य, किरण सापकोटा र लोकेश पुनको टोली हेलिकप्टरमार्फत गुर्जामा पुगेर कार्ज ढुंगा ल्याई प्रदर्शन गरेका थिए ।

“बहुमूल्य हीराको खानी हुनसक्छ, खानीको वास्तविकता अवलोकन गर्नुपर्छ” म्याग्दी उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष शाक्यले भने। गुर्जा गाउँबाट करिब एक दिनको दूरीमा रहेको खानी आसपासका पहाड रातको समयमा बत्ती बलेजस्तै टल्किने गरेको शाक्यले बताए।
कार्ज नामक ढुंगा भएको पुष्टि भएपछि २०६५ र अहिलेको महोत्सवमा प्रदर्शन गरिएको छ ।

खानी भएको क्षेत्रमा रातको समयमा पहाड नै बत्ती बालेजस्तै उज्यालो हुने भएकाले पनि स्थानीयले अनुसन्धानमा सघाउन अनुरोध गरेका छन् । पत्थरलाई उचित प्रशोधन गरे बहुमूल्य धातु तथा औँठी तथा मानिसले प्रयोग गर्ने धातुमा प्रयोग गर्न सकिन्छ ।

खुकुरी प्रहार गरी १५ दिनकी सुत्केरी श्रीमतीको हत्या

झापाको अर्जुनधारा नगरपालिका–१ निवासी एक व्यक्तिले श्रीमतीको गए राति हत्या गरेका छन् ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टका अनुसार २३ वर्षीय दिनेश गहतराजले १७ वर्षीया श्रीमती लेनिषा लिम्बूको खुकुरी प्रहरा गरी हत्या गरेका हुन् । लेनिषा १५ दिनकी सुत्केरी रहेको बताइएको छ । श्रीमतीको हत्यामा संलग्न गहतराजलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

४३० भन्दा बढी कोरियाली बौद्धमार्गीद्वारा विश्व शान्तिको प्रार्थना

दक्षिण कोरियाबाट आएका ४३० भन्दा बढी बौद्धमार्गीले प्राचीन कपिलवस्तुको बुद्धस्थलमा पुगेर विश्व शान्तिका लागि सामूहिक प्रार्थना गरेका छन् ।

उनीहरुले शुक्रबार तिलौराकोट, भमनिया जोडी स्तुप र निग्रोधराम (कुदान)मा पुगी सामूहिक प्रार्थना गरेका हुन् । कोरियाको सियोलबाट लुम्बिनी हुँदै उनीहरु यहाँ आएका हुन् । निग्रोधराममा सामूहिक प्रार्थना सकेर लुम्बिनी फर्कने क्रममा कोरियाको सियोलस्थित एएसटी पोस्टमा रहेको विहारका मुख्य भिक्षु पिउ परुन सनिमले बुद्धको क्रिडास्थल आउन पाउनु सौभाग्यको विषय भएको बताए ।

कोरियाबाट हरेक वर्ष बुद्धस्थलको भ्रमण गर्न ठूलो सङ्ख्यामा बौद्धमार्गी नेपाल आउने गर्दछन् । तिलौराकोट बुद्धको क्रिडास्थल र जोडी स्तुपलाई बुद्धका मातापिताको समाधिका रुपमा मानिएको छ । निग्रोधराम कुदानमा बुद्धले बुद्धत्व प्राप्त गरेपछि छोरा राहलुसहित थुप्रै बौद्धमार्गीलाई पहिलोपटक देशना दिएको स्थलका रुपमा परिचित छ ।

 

लमजुङमा पुनःनिर्माणले गति लिँदै

सरकारी राहत पाएसँगै जिल्लामा पुनःनिर्माणले गति लिएको छ । राहतको लामो प्रतीक्षामा बसेका भूकम्पपीडितले राहत रकमको पहिलो किस्ता पाउनासाथ पुनःनिर्माण कार्यलाई तीव्रता दिएका हुन् ।

पहिलो किस्ता पाएसँगै प्राविधिक खटाइएपछि अधिकांश भूकम्प पीडितले घर निर्माण शुरु गरेका छन् । भूकम्प प्रभावितलाई अनुदान वितरण निर्देशिकाबमोजिम पहिलो किस्ता रकम रु ५० हजार वितरण गरिएको छ । भूकम्पबाट पूर्ण क्षति भएका १३ हजार ९५९ घरमध्ये १३ हजार ८४ भूकम्प पीडितले राहतको पहिलो किस्ता लिइसकेको सरकारी निकायको दाबी छ । रकम, जनशक्ति र प्राविधिकको अभावमा पुनःनिर्माणको काम अघि बढ्न नसकेपछि भूकम्प पीडित टहरा र क्षतिग्रस्त घरमै बसी जोखिम मोल्दै आएका थिए । सरकारी संयन्त्रले राहत वितरणमा ढिलाइ गर्नाले पुनःनिर्माणले गति लिन नसकेको बताइन्छ ।

भूकम्प पीडितले घरको जग निर्माण कार्य सम्पन्न गरेपछि मात्रै दोस्रो किस्ता रु ८० हजार प्रदान गरिने बताइएको छ । त्यस्तै छाना छाउने तहसम्मको कार्य सम्पन्न गरेपश्चात् तेस्रो किस्तामा सबै रकम भुक्तानी गरिने सरकारी निकायले जनाएको छ । यसअघि जिल्लाको अति प्रभावित पूर्वी भेगका २७० घर भने गैरसरकारी संस्थाको सहयोगमा निर्माण सम्पन्न भइसकेका थिए । सो बाहेक भूकम्पबाट क्षति भएर पनि लाभग्राही सूचीमा नपरेको र अनुदान नपाएको भन्दै एक हजार ३०० भन्दा बढी पीडितले जिल्ला समन्वय समितिमा निवेदन दिएका छन् ।

पोखरामा शनिबारदेखि प्रादेशिक युवा अभिमुखिकरण हुने

पोखरामा शनिबारदेखि दुईदिने प्रादेशिक अभिमुखिरण कार्यक्रम गर्ने भएको छ। नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालय अन्तरगतको राष्ट्रिय युवा परिषदले शनिबार र आईतबार दुईदिनसम्म पोखरामा प्रादेशिक अभिमुखीकरण कार्यक्रम गर्न लागेको हो।

परिषदद्धारा पोखरामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै परिषदका कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेलले पोखरामा आयोजना गरिने उक्त अभिमुखिकरण कार्यक्रममा प्रदेश नं. ४ र ५ अन्तरगतका जिल्ला युवा समितिका अध्यक्ष एवम् प्रमुखहरुको सहभागिता रहने जानकारी दिएका छन्। उनका अनुसार कार्यक्रममा चालु आर्थिक वर्षका श्वीकृत कार्यक्रमहरुको कार्यान्वयन प्रक्रिया, जिल्ला युवा समिति र सरोकारवालाहरुको भूमिकाबारे समेत छलफल गरिनेछ।

चालु आर्थिक वर्षमा परिषदले युवा उद्यम कार्यक्रम, युवा अनुभव आदान–प्रदान कार्यक्रम, अपाङ्ग युवाका लागि सहयोग सामाग्री वितरण, उद्यमशीलता र वित्तिय साक्षरता अभिवृद्धि, युवासंवाद स्थापना र अभ्यास, संघसंस्थाहरुको सहकार्यमा युवालक्षित कार्यक्रम, राष्ट्रपति महिला युवा उद्यम कार्यक्रम, युवा प्रतिभा र उद्यमीको खोजीका बिषयमा समेत कार्यक्रम गर्दै आएको छ।

युवाहरुको कार्यलाई प्रोत्साहन कार्यक्रम, गाउँगाउँमा युवा उद्यमका लागि प्रमाणपत्रका आधारमा ऋण कार्यक्रम, युवाहरुबीच प्रतिस्पर्धात्मक उद्यम प्रस्ताव माग छनौट तथा उद्यम सञ्चलानार्थ सहयोग, युवा परामर्श सेवा, उपराष्ट्रपति युवा पुनस्र्थापना लगायतका कार्यक्रमहरु संचालन गर्दै आएको जनाएको छ।

यसअघि, प्रदेश नं. १ र २ मा कार्यक्रम सम्पन्न गरिसकेको परिषदले आगामी माघ ९ र १० गते प्रदेश नं. ३ को जाउलाखेल र प्रदेश नं. ६ र ७ को माघ १७ र १८ गते धनगढीमा यस्तै प्रकृतिको अभिमुखिकरण कार्यक्रम गर्ने जनाएको छ।

शुक्रबार परिषदले पोखरामा युवाका मुद्धा, युवा लक्षित कार्यक्रम तथा युवा नीति र प्राथामिकता बारे पत्रकार अन्तरक्रिया कार्यक्रम गरेको छ ।

रकम नतिर्नेमा हेलिकप्टर कम्पनी पनि उस्तै, ५४ लाख बक्यौता

आन्तरिकरुपमा उडान गरिरहेका आठ हेलिकप्टर कम्पनीले रु ५४ लाख २३ हजार ६५१ रकम तिर्न अटेर गरेका छन् ।

आन्तरिकतर्फ उडान गरिरहेका कूल १८ वायु सेवा कम्पनीमध्ये आठ वटा हेलिकप्टर कम्पनीले सेवा पुरयाइरहेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उड्डयन कार्यालयका अनुसार आठ हेलिकप्टर कम्पनीले बुझाउनुपर्ने रकम बुझाउन नमानेका हुन् ।

उड्डयन कार्यालयका अनुसार श्री एयर, सिम्रिक एयरको समान १८ लाखभन्दा बढी बक्यौता रहेको छ । श्री एयरको रु १८ लाख ९९ हजार ५७८ बाँकी छ । सिम्रिक एयरको रु १८ लाख २९ हजार ७४३ रकम तिर्न बाँकी रहेको छ ।

यस्तै एयर डायनास्टिकको रु २६ हजार ३६३, प्रभु हेलिकप्टरको रु १६ हजार ६६९, माउण्टेन हेलिकप्टरको रु नौ लाख पाँच हजार २९०, मनाङ एयर रु ९१ हजार ३२२, फिस्टेल एयरको रु तीन लाख ६४ हजार ३६५ बाँकी रहेको छ ।

आन्तरिक र अन्तर्रास्ट्रिय उडानमा रहेका विभिन्न वायु सेवा कम्पनीले रु ६६ करोड ३९ लाख ४६ हजार ३०७ बक्यौता तिर्न बाँकी रहेको छ ।

बढी बक्यौता रहेको श्री एयरका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले विमानस्थलमा रहेको बिलिङ प्रणालीमा रहेको कमजोरीका कारण बक्यौता रकम देखिएको बताए ।

“हामी बक्यौता रकम तिर्न तयार छौँ, विमानस्थल कार्यालयले आफ्नो प्रणालीलाई व्यवस्थित गर्न नसक्दा समस्या भएको छ, हाम्रो नतिर्ने नियत होइन”, उनले भने । सो एयरको आठ वटा हेलिकप्टर सञ्चालनमा छन् । त्यसमा रसियामा निर्मित एमआई १७ हेलिकप्टर छ वटा छन् भने साना दुई वटा हेलिकप्टर सञ्चालनमा छन् ।

विमानस्थल कार्यालयमा सधैँजसो बदलिने प्रमुख तथा कर्मचारीका कारण पनि आफूहरुलाई समस्या परेको जानकारी दिँदै उनले नियमावलीअनुसार पैसा उठाउनुपर्ने बताए ।

यस्तै बढी बक्यौता रहेको सिम्रिक एयरका अपरेशनल म्यानेजर रमेशमान बज्राचार्यले बक्यौता रकम तिर्न कुनै समस्या नभएको बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणले ताकेता गरेपछि रकम तिर्ने प्रक्रियामा लागेको र छिट्टै रकम बुझाउने उनको भनाइ छ ।

“पुरानो बक्यौता तिर्न बाँकी रहेको हो, हामी छिट्टै प्राधिकरणलाई रकम बुझाउँछौँ, रकम बुझाउन पनि प्राधिकरणले सहजीकरण गरिदिनुपर्छ”, बज्राचार्यले भने ।

सिम्रिक एयरका हाल चार वटा हेलिकप्टर सञ्चालनमा छन् । थप एक कैलाश हेलिकप्टर ल्याउने तयारीमा कम्पनी रहेको उनको भनाइ छ ।

प्राधिकरणले बक्यौता रकम उठाउन वायुसेवा प्रदायक कम्पनीलाई ताकेता गरेपछि विगतमा अटेर गर्दै आएका समेत रकम तिर्न तयार भएका छन् ।

नेपाल वायु सेवा सञ्चालक संघका प्रवक्ता घनश्याम आचार्यले पुरानो बक्यौता तिर्न बाँकी रहेको भए पनि आफूहरु तिर्न तयार रहेको बताए। उनले प्राधिकरणले तिर्न आग्रह गरेपछि सबै वायु सेवा प्रदायक कम्पनीले रकम तिर्नु दायित्वभित्रै पर्ने विषय भएकाले संघको तर्फबाट सहजीकरण गरिने बताए।

तीन–तीन महिनामा बिल आउने भएकाले केही बढी रकम देखिन सक्ने भए पनि बिलअनुसारको रकम तिर्नु नै पर्ने बताउछन् । बिलिङ प्रणालीमा रहेको समस्याका कारण पनि केही बढी रकम देखिएको प्रवक्ता आचार्यको भनाइ छ ।

बन्द भएका विमान कम्पनीको रु ११ करोड बढी बक्यौता रकम रहेको र सञ्चालनमा नै रहेका कम्पनीको रु ६६ करोड बक्यौता रहेको सन्दर्भमा हेलिकप्टर कम्पनीको पनि बक्यौता देखिएको हो ।

प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले कुनै पनि वायु सेवा प्रदायकलाई छुट दिन नसकिने र उनीहरुबाट बक्यौता रकम असुलउपर गर्ने प्रक्रिया शुरु भएको जानकारी दिए ।

बक्यौता रकम उठाउन प्राधिकरणले एक छानबिन समितिसमेत गठन गरिसकेको छ ।