ह्योल्मो समाज कास्कीद्धारा शुभकामना आदान प्रदान तथा चियापान
पोखरा-
नेपाल ह्योल्मो समाज सेवा संघ कास्कीले विहीवार पोखरामा २१ सय ४४ औं म्हे मो ज्या—ल्हो(चरा वर्ग) सोनाम ल्होसारको शुभ उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले दीप प्रज्वलन, धुप हाल्नुका साथै बेलुन उठाएर उद्घाटन गर्नुभएको थियो ।
प्रमुख अतिथि मैनालीले सोनाम ल्होसार ज्या ल्होको शुभकामना व्यक्त गर्नुहुदै आफु आदिवासी जनजाति समुदायसँगै हुर्केको हुनाले आदिवासी जनजातिका सँस्कृतिसँग नजिक भएको बताउनुभयो । उहाँले नेपालको विविधतासँग रमाउनु पर्दछ, जनजाति गैरजनजाति भनेर समाजमा विश्रंखलता ल्याउन नहुने बताउनुभयो । जारी गरिएको संविधानले सबैको अधिकार सम्बोधन गरेकोछ, थप अधिकारका लागि आयोगहरुको व्यवस्था छ भन्नुहुदै सबैको पहिचानसहित अधिकारको राज्यले सम्मान गर्ने उहाँको भनाई थियो । नयाँ पुस्तालाई यस्ता पर्वहरु मार्फत सँस्कृति हस्तान्तरण हुने भन्ने प्रमुख जिल्ला अधिकारी मैनालीले पर्वले सकरात्मक सन्देश दिन सकोस् भन्ने शुभकामना व्यक्त गर्दै स्थानिय प्रसासनबाट सहयोग हुने उद्घोष गर्नुभयो । उहाँले समृद्ध नेपालको निर्माणको सबै विविधताले हातेमालो गर्दै सद्भावपुर्ण वातावरण तयार गर्न अपेक्षा गर्नुृभयो ।
विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष गणेशलाल थकालीले शुभकामना व्यक्त गर्नुहुदै दोश्रो कार्यकालका लागि आफु निर्वाचित भए पश्चातको पहिलो सार्वजनिक कार्यक्रम हो भन्नुहुदै आदिवासी जनजातिको अधिकारमुखी अभियानमा जुटिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले आदिवासी जनजातिको विमति रहेको संविधान अहिले संशोधन प्रस्ताव पेश भएको छ, उक्त प्रस्तावले थोरै भए पनि आदिवासीका मागको सम्बोधन हुने बताउनुभयो । उपाध्यक्ष थकालीले स्थानिय पुनसंरचनामा संरक्षित र स्वायत्त क्षेत्र कहाँ हो, सुनिश्चित गर्न आग्रह गर्नुभयो ।
नेपाल ह्योल्मो सेवा समाज संघ कास्कीका अध्यक्ष क्या.पुर्णबहादुर ह्योल्मोले सोनाम ल्होसारको शुभकामना व्यक्त गर्नुहुदै ह्योल्मो समुदायको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले अत्यन्तै सोझा, इमान्दार, परापुर्वकालदेखि लामा भई पुजापाठ गर्दै आएको आफ्नै मौलिक पहिचान भएको समुदाय जस्मा राजनीति गर्नेहरुको जस्तो छलकपट हुदैन भन्दै राजनीतिमा रहेको विकृतिलाई प्रहार समेत गर्नुभयो ।
ह्योल्मो समाज कास्कीका अध्यक्ष क्या.पुर्णबहादुर ह्योल्मोको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पुर्ण ह्योल्मोले गर्नुभएको थियो ।
कार्यक्रममा कस्केली ह्योल्मोहरु मौलिक पोशाकमा सहभागी थिए भने आदिवासी जनजातिका विभिन्न जातिय अगुवाहरु, संघसंस्थाका प्रतिनीधिहरु, पत्रकार सञ्चारकर्मीहरुले बृहत सहभागीता रहेको थियो । कार्यक्रममा एकापसमा सोनाम ल्होसारको शुभकामना आदान प्रदान गरेका थिए ।
उक्त कार्यक्रमका ह्योल्मो समुदायको मौलिक परिकारसहित चियापान गरिएको थियो ।