पोखरामा खेल पर्यटनको पनि सम्भावना

पोखरा न्युज ।

पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरा खेल पर्यटनको पनि विशिष्ट सम्भावनायुक्त स्थल भएको बताउनुभएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को ५४ औँ वार्षिकोत्सव समारोहका अवसरमा मंगलबार यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले पोखरालाई खेल पर्यटनको पनि उत्कृष्ट गन्तव्य बनाउन सकिने बताउनुभयो ।

आवश्यक पूर्वाधारको विकासका माध्यमबाट पोखरामा विभिन्न विधाका राष्ट्रिय एवं अन्तरराष्ट्रिय खेलकुद सञ्चालन गर्न सकिने बताउँदै उहाँले यसका लागि महानगर सम्बद्ध पक्षसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरा रंगशाला परिसरमा रहेको ४१७ रोपनी जग्गामा खेलका विभिन्न विधा सञ्चालनका लागि पूर्वाधार तयार गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

जिल्ला खेलकुद विकास समिति, कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले पोखरामा खेल विकासका पर्याप्त सम्भावना रहेको बताउँदै यी सम्भावनाको उजागर गर्नु आवश्यक भएको बताउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button