भरतपुरमा पुनः मतदान गराउने निर्णयबारे सर्वोच्चमा सुनुवाइ शुरु

पोखरा न्युज –

भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ शुरु भएको छ । न्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासमा सुनुवाई शुरु भएको छ ।
भरतपुर महानगरपालिका १९ नम्बर वडाका एमालेका सदस्य उम्मेदवार गुन्जमान विक र सोही वडाका मतदाता समेत रहेका अधिवक्ता तुलसीराम पाण्डेले आइतवार दर्ता गरेको रिटलाई प्राथमिकता दिएर सुनुवाई शुरु भएको हो ।

रिट निवेदकको पक्षबाट बरिष्ठ अधिवक्ता तथा नेपाल बार एशोसियनका पूर्व अध्यक्ष शम्भु थापा, पूर्वउपाध्यक्ष टीकाराम भट्टराई, गोविन्द बन्दी लगायतले बहस गर्दैछन् । अदालतले छलफलका लागि विपक्षी झिकाउने वा अन्तरिम आदेश दिने निर्णय आजै हुनेछ ।

भरतपुर महानगरपालिका वडा नम्बर १९ को पुनः मतदान गराउने र सबै मतपत्र अवैध घोषित गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्बोच्च अदालतमा रिट दायर भएको थियो । निवेदकले भरतपुरको पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय बदर गरी च्यातिएका ९० मतपत्र बदर मानेर मतगणना कार्य सुचारु गर्न गराउन उत्प्रेषणयुक्त परमादेश माग गरेका छन् ।

रिट निवेदनमा भनिएको छ-हुँदै नभएको तथ्यलाई भएको हो भनी तोडमोड गरी जसरी पनि सत्तापक्षका उम्मेदवार जिताउने कुत्सित योजनाका साथ निर्वाचन आयोगबाट निर्णय गरिएको हुनाले उक्त निर्णय बदर गरी नष्ट भएका ९० मतलाई बदर मतपत्र मानी मतगणना कार्य सुचारु गर्नु गराउनु भन्ने उत्प्रेषण युक्त परमादेशको आदेश जारी गरिपाउँ ।

यसअघि एमाले स्थायी कमिटी बैठकले शनिवारै निर्वाचन आयोगको निर्णय दुर्भाग्यपूर्ण भन्दै यसका विरुद्ध अदालत र जनता समक्ष जाने निर्णय गरेको थियो ।

मतगणना स्थल कब्जा गरिएको भन्ने सन्दर्भमा निर्वाचन अधिकृत, अनुगमन टोली र सुरक्षा निकाय कसैको पनि प्रतिवेदन नभएको सन्दर्भमा निर्वाचन आयोगले जबर्जस्ति मतगणना स्थ्ल कब्जा गरेको भनी आत्मनिष्ठ मूल्यांकनका आधारमा हुँदै नभएको तथ्य तोडमोड गरेको कुरा रिट निवेदकको जिकिर रहेको भट्टराईले बताए ।

स्रोत – अनलाइनखबर-   https://www.onlinekhabar.com/2017/06/594168/

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button