मध्यरातमा सुन समाउँदा प्रहरीले तस्कर उम्कायो

सुन र डलर समाउने प्रहरीबीच समन्वयको अभाव,
२ माघ-

राजधानीबाट रसुवातिर जाँदै गरेको साढे चार करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा र रसुवाबाट काठमाडौं आउँदै गरेको १५ किलोे सुन लगभग एउटै समय र नजिकैको रुटबाट शुक्रबार राति बरामद भयो ।

तर, एकै ठाउँमा भएका दुई प्रहरी कार्यालयलाई सुन र विदेशी मुद्रा समातिएको एक अर्कालाई किन थाहा भएन ? जबकि प्रहरी स्रोतका अनुसार अपराध महाशाखा र काठमाडौं परिसरलाई सुन र डलरको सूचना दिने एउटै समुहका मान्छे हुन् ।

सुन ल्याउने गायब

शुक्रबार राति बालाजु वृत्तले १५ किलो सुन बालाजु क्षेत्रबाटै बरामद गरेको देखाएको छ । तर, उक्त सुनको सूचना बालाजु वृतलाई होइन, अरु नै प्रहरी अधिकृतलाई आएको थियो ।

उनले सूचना काठमाडौं परिसरका एसपी प्रद्युम्न कार्कीलाई दिए । एसपी कार्कीेले सुचना अनुसार बालाजु वृतको टोली खटाए । डीएसपी सन्तोष तामाङ बालाजु बृतबाट एक टोली बोकेर राति १० बजे नै कलंकीमा गएर बसे ।

सूचनाअनुसार नै करिब साढे १० बजे तिर ना १ ज ४९६४ नंम्बरको गोसाइकुण्ड यातायातको टाटासुमो कलंकीमा आइपुग्यो । गाडीलाई नियन्त्रणमा लिएर हेर्दा चालक मात्रै थिए । प्रहरी स्रोतका अनुसार गाडीमा अरु एक जना मान्छे पनि थिए । तर, ती मान्छे कसरी उम्कियो ? प्रहरीले पत्तै पाएन ।

प्रहरी स्रोत भन्छ- ‘पक्राउ पर्नेमा ड्राइभर मात्रै परेसँगै आएको व्यक्ति कलंकी नआइपुग्दै झरेर कता गयो ? कुरेर बसेको प्रहरीले पत्तै पाएन ।

बिहानै फरारको खोजी गरे पनि सुन समातिएको समाचार छ्याप्छ्याप्ती भएपछि सुन ल्याउने खास व्यक्ति प्रहरीको घेराबाट उम्कियो ।

बालाजु बृतको टोलीले गाडी र चालक भक्तपुरका रविन्द्र भुजेललाई नियन्त्रणमा लियो । गाडीको इन्जिनमा १५ किलो सुन भेटियो ।

सूत्रहरुका अनुसार भुजेल सुन लिन चीनको नाकासम्म पुगेका थिए । तर, भुजेल रसुवाको नागरिक नभएकाले चाइनातिर जान पाएनन् ।

चीनतिरबाटै आएका एक चिनियाँले सुनसहितको गाडी भुजेललाई दिए र संगै अर्का एक व्यक्तिलाई पनि त्यही गाडीमा काठमाडौं पठाए ।
भुजेललाई गाडी लिएर तीनकुने जान भनिएको थियो । तीनकुनेमा आउने व्यक्तिले ६० हजार रुपैयाँ दिने र गाडी १ घण्टामा फिर्ता ल्याइदिने बताएका थिए । तर, बीचैमा प्रहरीले खेलो खत्तम बनाइदियो । र, ड्राइभर फसे ।

डलर र युरोको सूचना पनि उतैबाट आयो

शनिबार बिहानको राति २ बजे पर्यटक बोक्ने लेट्स ट्राभलको स्कार्पियो गाडी ठमेलस्थित नर्सिङ चोकमा पुग्यो । एक पुरुष बा १ य १२३२ नम्बरको सो स्कारपियोमा चढे । ठमेलको होटल गजरबाट तीन चिनियाँलाई बोकेर सो स्कार्पियो ठमेलबाट सिधै सोह्रखुट्टे, बालाजु, कलंकी हुँदै नागढुंगातिर गयो ।

नागढुंगाबाट ओरालो लाग्न नपाउँदै सादा पशोकमा खटिएको एक टोलीले स्कार्पियोलाई नियन्त्रणमा लियो । स्कार्पियो त्यही थियो, जसमा ठूलो परिमाणमा विदेशी मुद्रा बोकेर तीन चिनियाँहरु रसुवा हुँदै चीनतिर हानिएका थिए ।

पूर्वसूचनाकै आधारमा ठमेलदेखि नागढुंगासम्म अपराध महाशाखाको टोली पासो थापेर बसेको थियो । ठमेलबाट स्कार्पियो पछिपछि महाशाखाको एक टोली थियो भने उता नागढुंगामा प्रहरीको छुट्टै टोली तैनाथ थियो ।

दुवैतिरको घेरामा परेका तीन चिनियाँ करीब दुई बजे अपराध महाशाखाको नियन्त्रणमा परे । अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालका अनुसार नेपालबाट ठूलो परिणाममा विदेशी मुद्रा तस्करी भैरहेको सूचना पहिलेदेखि नै आएको थियो ।

प्रहरी स्रोतका अनुसार परिसरले बरामद गरेको १५ किलो सुनको पैसा एउटै समूहले बुझेको हुन सक्छ । कलंकीबाट गायब भएका व्यक्तिले नै यिनीहरुलाई पैसा बुझाएको हुन सक्ने प्रहरीको अनुमान छ ।

साढे सात करोड मूल्य बराबरको सुन र साढे चार करोड विदेशी मुद्रा बरामद भएको छ । फरक-फरक समूहले सुनको भुक्तानी लिएको हुन सक्ने स्रोतको दाबी छ ।

तर, अपराध महाशाखा र काठमाडौं परिसरका प्रहरीबीच सूचना समन्वयको अभावमा सुन डलर र तस्करीको नेक्सस खुल्न सकेन ।

अपराध महाशाखाका एक अधिकृतका अनुसार सुन काठमाडौं छिरेपछि मात्रै तस्करले पैसा बुझाउँछन, शनिबार पनि त्यही भएको छ । तर, एक अर्का वीचको होडबाजीका कारण प्रहरी सुन डलर तस्करीको नेक्सस तोड्न चुकेको अपराध महाशाखाकै एक अधिकृत बताउँछन् ।

नेपालमा न डलर, न सुन

शनिबार दुई प्रहरी कार्यालयले करोडौंको सुन र विदेशी मुद्रा त बरामद गर्‍यो । तर, यो नेपालका लागि सबैभन्दा डरलाग्दो दृश्य बनिरहेको छ । प्रहरीले केही सुन र केही डलर त बरामद गरेको छ ।

सुन र डलर दुवै नेपालबाट बाहिरने भएकाले यसलाई सामान्य रुपमा लिन नमिल्ने सीआइबीका डीआइजी नवराज सिलवाल बताउँछन । उनले भने- बजारमा डलर पाइँदैन, दैनिक कैयौं किलो सुन तस्करी भैरहेको छ । त्यो सुन पनि नेपाली बजारमा टिक्दैन । डलर पनि नहुने, सुन पनि नहुने । यसलाई सामान्यरुपमा लिइयो भने मुलुकको अर्थतन्त्र ध्वस्त हुन समयमा लाग्दैन ।

सीआइबीले एक साताअघि हवाइमार्गबाट आएको ३४ किलो सुन बरामद गरेको थियो । त्यसमा साथ दिने विमानस्थल भन्सारका दुई कर्मचारीसमेत पक्राउ परेका छन् ।

स्रोत – अनलाइनखबर  https://www.onlinekhabar.com/2017/01/529084/

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button