गणेश बराल
पोखरा-
टाटा मोटर्सका लागि नेपालको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङले टाटाको पछिल्लो उत्पादन टियागो स्थानीय बजारमा भित्र्याएको छ । बुधबार पोखरामा एक कार्यक्रम मार्फत कम्पनीले रिभोटर्न कारमा १ दशमलव २ लिटरको पेट्रोल इञ्जिनसहितको टियागो सार्वजनिक गरेको हो ।
नयाँ स्पोर्टी टियागोको मूल्य स्थानीय बजारमा २२ लाख ५५ हजार देखि २८ लाख ५५ हजार रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ । कम्पनीले एक्सई, एक्सएम र एक्स जेड गरी तीन भिन्न भ्यारियण्टमा कार उपलब्ध रहेको जानकारी दिएको छ । डिजाइनका लागि पुणे, बेलायत र इटालीको ‘डिजाइन स्टुडियो’ले सहयोग गरेका कारण यो कार निकै भिन्न र स्टाइलिस रहेको कम्पनीको दाबी छ । कारहरू स्ट्राइकर ब्लू, पर्लसेण्ट ह्वाइट , बेरी रेड, एक्स्प्रेसो ब्राउन, सनब्रष्ट अरेञ्ज, र प्लाटिनम सिल्भर गरी ६ वटा रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । इञ्जिन म्यानेजमेण्ट सिष्टमको सुविधा कारमा उपलब्ध रहेको भन्दै कम्पनीले कारमा उपलब्ध गरिएको एकै इञ्जिनले दुईओटा इञ्जिनबराबरको सुविधा प्रदान गर्ने दाबी गरेको छ ।
टियागो कारमा टाटा मोटर्सले खरिदमा ४ वर्ष वा ७५ हजार किमि जुन पहिला आउँछ त्यतिबेलासम्म ग्यारेन्टी को घोसणा समेत गरेको छ । कम्पनीले कारको परिक्षण गर्दा १.२ लिटर पेट्रोलले २३.८४ किलोमिटरको यात्रा गरेको जानकारी दिदै गाडी बिग्रिएमा टाटा मोटर्सले ४८ घण्टा भित्र बनाउने सुविधा र २४ घन्टानै ग्राहक सेवा प्रदान गरिने वताएको छ ।कम्पनीले कारमा फ्रण्ट एयरब्याग, नवौं जेनेरेशनको अत्याधुनिक एबीएस र ईबीडी कर्नर स्टेबिलिटी कण्ट्रोल, इन्फोटेनमेण्ट डिस्प्लेसहितको रियर पार्किङ सेन्सरलगायत सुविधा जडान गरेको छ । दुर्घटना भएको अवस्थामा सुरक्षा प्रदान गर्ने हेतुले इनर्जी अब्जर्भिङ बडी बनावटको प्रयोग गरेको कम्पनीले बताएको छ । क्रोम ह्यान्डल, निटेड फ्याब्रिक, कलर हार्मोनी, ड्युल टोन इन्टेरियरसहित लेर्यड डिजाइन थिम, कस्टुमाइजेवल एयर भेन्टस्जस्ता विशेषताले यस गाडीलाई अत्याधुनिक बनाएको बताइएको छ। कारमा फ्रन्ट एयरव्याग, डिस्प्लेसहित रियर पार्किङ सेन्सर उपकरण जडान गरिएको छ ।
ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यलेनै सो कार गण्डकी अन्चलमा भित्रयाइएको बताउदै प्रालिका अध्यक्ष राजेन्द्रकुमार बाटाजुले टियागोको उत्कृष्ट र भिन्न विशेषताका कारण नयाँ पिढीले यो कार सर्बाधिक रुचाउने दाबी गरे । सस्तो, बलियो ,आर्कषक डिजाइन र सुविधायुक्त सामग्री नेपालीले मन पराउने हुदाँ टियागो सबैको रोजाइमा पर्ने कम्पनीको विश्लेषण रहेको छ ।
नयाँ गाडीको बिशेषताहरु पुराना अन्य गाडीका भन्दा पृथक भएकाले सिप्रदीले गत वर्ष सार्वजनिक गरेको गाडी भन्दा टियागोले धेरैको मन जित्ने कम्पनीले दाबी गरेको छ । कार्यक्रम दिपलक्ष्मी ब्राइट इन्टरनेशनलका संरक्षक बिरेन्द्रकुमार बाटाजुको अध्यक्षतामा भएको थियो ।