पोखरामा कवि तीर्थले सुनाए एकल कविता

पोखरा-

कवि तीर्थ श्रेष्ठले पोखरामा एकल कविता सुनाएका छन् । लायन्स क्लब अफ पोखरा भैरवले कवि श्रेष्ठलाई एकल कविता वाचनमा उभ्याएको हो ।

पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा कवि तीर्थ कविता सुन्न टिकट काटेरै पोखरेली कविता पारखी भेला भएका थिए । एकल कविता वाचनमा उभिएका तीर्थले झन्डै तीन दर्जन कविता, गीत र मुक्तक सुनाए ।

वरिष्ठ कलाकार दुर्गा बराल वात्स्यायनद्वारा दुबोको माला र आर्शिवादबाट एकल कविता वाचन सुरु गरेका थिए । श्रेष्ठले पहिलो कविता कलाकार वात्स्यायनलाई नै समर्पित गरे । ‘भै गो दुर्गा दाइ’ शीर्षकको कविताबाट देशको कुरुप चित्र बोलेका तीर्थ कार्यक्रम अवधिभर प्राय देश र माटोकै चिन्ता पोखे । कविताबाट एकल वाचन थालेका कवि तीर्थले गीत हुँदै केही मुक्तक वाचनपछि फेरि कविता वाचनलाई जोडे ।
पृष्ठभूमि र रोचक ढंगले प्रसंग जोड्दै उनले आम नेपाली जनताले भोगेको नियतिदेखि काठमाडौंप्रतिको धारणा पनि कवितामै बोले । सशत्र द्वन्द्वले दिएको घाउ र त्यसको पीडामा छट्पटाएका नेपालीको कता पनि कविताबाटै सुनाए । द्वन्द्व कालमा मारिएका मुक्तिनाथ अधिकारीको बिम्बलाई ‘मुक्तिनाथ’ शीर्षकको कवितामार्फत व्यक्त गरे, । नाकाबन्दी गरेको छिमेकी सम्बोधन गर्दै कवि तीर्थले एकल कविता वाचनको बिट मारेका थिए ।

स्रष्टाको परिचय दिँदै कवि ईश्वरमणि अधिकारीले तीर्थ नाम आफैंमा एक परिचय भएको बताउँदै उनी जहाँ प्रस्तुत हुन्छन् त्यहाँ अब्बल रुपमा प्रस्तुत हुने बताए । क्लबका अध्यक्ष गौतम बिजुक्छेले सामाजिक क्षेत्रमा काम गर्दै आएको क्लबले सामाजिक तथा साहित्यिक क्षेत्रमा पनि केही गर्नुपर्छ भनेर कार्यक्रम गरेको जानकारी दिए । कार्यक्रम संयोजक सम्मरबहादुर श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन उपेन्द्र पौडेलले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button