एक वर्षमा त्रिशूली नदीमा १९ बेपत्ता

 

पोखरा न्युज –

त्रिशूली नदीको चितवन खण्डमा एक वर्षको अवधिमा १९ जना बेपत्ता भएका छन् । नारायणगढ–मुग्लिन सडक खण्डको ३६ किलोमिटर र पृथ्वी राजमार्गको मुग्लिनदेखि मौवा खोलासम्म २० किलोमिटर गरी ५६ किलो मिटरको सडक त्रिशूली नदीको किनारैकिनार पर्दछ ।

उक्त सडक खण्डमा दुर्घटनामा परेका अधिकांश सवारी त्रिशूली नदीमा खस्ने र चालक तथा यात्रुको मृत्यु तथा बेपत्ता हुने गरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा सो खण्डमा २७ वटा ठूला दुर्घटना भएका छन् । जसमा ४४ जनाले ज्यान गुमाएका छन् –भने १९ जना बेपत्ता भएका छन् । ९१ जना घाइते भएका छन् ।

नदीले एकै आर्थिक वर्षमा १९ जनालाई बेपत्ता बनाएको हो । विगतका वर्षमा यो तथ्याङ्क निकै कम देखिन्छ । गत आर्थिक वर्षमा सोही क्षेत्रमा तीनवटा मात्र दुर्घटना भएका थिए । जसमा दुई जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए । कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष २०७१÷७२ मा सात वटा दुर्घटनामा सात जनाको मृत्यु, ९ जना घाइते र तीनजना बेपत्ता भएका थिए ।

चालु आर्थिक वर्षको साउन ४ गतेबाट त्रिशूली नदीमा गाडी खसेर सुरु भएको दुर्घटना शुक्रबार सोही सडक क्षेत्रमा पहिरो खसेर नेपाल प्रहरीको भ्यानसहित दुई बेपत्ता र दुई जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षकै भदौ १० गते रौतहटको गौरबाट पोखरा तर्फ जाँदै गरेको रात्री बस कालिखोला नजिकै त्रिशूलीमा खस्दा २५ जनाको मृत्यु भएको थियो भने १० जना बेपत्ता र १६ जना घाइते भएका थिए ।

यस्तै असोज ९ गते पूर्व गृहमन्त्री माधव घिमिरेसमेत सवार जिप त्रिशूलीमा खस्दा घिमिरेसहित दुई जना अझै बेपत्ता हुनुहुन्छ भने चारजनाको मृत्यु र एकजना घाइते भएका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्त बाटो फराकिलो बनाउने क्रममा पहाड थर्किएको र गत वर्षको भूकम्पले हल्लाएकाले समग्र सडक क्षेत्रको भूर्गव नै हल्लिएका कारण पहिरो खस्दा दुर्घटना बढेको बताउनुहुन्छ । सडकको इन्जिनियरिङ अवस्था कमजोर, चालकलाई सचेतना दिन नसकिएको, चालकको लापरर्बाही बढेको लगायतका कारण दुर्घटना बढेको उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापा यस आर्थिक वर्षमा यी दुई सडक खण्डमा बाटोको अवस्था र चालकको लापरर्बाहीका कारण निकै धेरै दुर्घटना भएको बताउनुहुन्छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button