एमाले राष्ट्रिय सरकारमा जान आतुर – एमाले नेता पाण्डे

पोखरा न्युज –

नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले देशको समग्र हितका लागि राष्ट्रिय सरकारमा जान आफ्नो पार्टी आतुर रहेकोे बताउनुभएको छ ।

एमाले पहिलेदेखि नै राष्ट्रिय सरकारको पक्षमा रहेको छ । तर अहिले चयन हुन लागेको बहुमतीय सरकारमा भने नजाने उहाँले बताउनुभयो ।

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा केन्द्रीय सदस्य पाण्डेले भरतपुरमा मतगणना सुरु नभएसम्म देशले नयाँ सरकार र नयाँ प्रधानमन्त्री पाउन नसक्ने चेतावनी दिँदै भरतपुर घटनामा आयोग विभिन्न शक्ति केन्द्रको प्रभावमा परेको आरोप लगाउनुभयो ।

निर्वाचन आयोगको निर्णय प्रभावमा परेर गरिएको भए पनि एमाले अदालतको निर्णयको पखाइमा रहेको उहाँले बताउनुभयो ।

एमालेले गरेको संसद् अवरुद्ध र नयाँ प्रधानमन्त्रीको चयन प्रक्रियामा कुनै समस्या नभएको बताउँदै उहाँले एमालेले प्रधानमन्त्री चयन प्रक्रिया सुरु हुनुअघि नै भरतपुरको कुरा उठाएको कारण प्रधानमन्त्री चयनमा एमालेको कुनै अवरोध नभएको बताउनुभयो ।

उहाँले वर्तमान सरकारले विगतका सरकारले बनाएका औद्योगिक योजना कार्यान्वयनमा चासो नदेखाएको आरोप लगाउनुभयो । केन्द्रीय सदस्य पाण्डेले विगतको सरकारले बनाएका औद्योगिक विकासका योजनालाई देशको आर्थिक समृद्धिका लागि तत्काल उद्योग स्थापनालगायतका काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button