एमालेद्वारा आफ्ना पार्टी नेताको सामूहिक हत्याको प्रयास भएको दाबी

काठमाडौं ।

प्रमुख विपक्षी दल नेकपा एमालेले सप्तरीमा आफ्नो पार्टीका शीर्ष नेताहरुको सामूहिक हत्याको प्रयास भएको दाबी गरेको छ । उसले उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिको भूमिकामा प्रश्न उठाएको छ र राजविराज घटनाको मेधसी मोर्चाले जिम्मेवारी लिनु पर्ने बताएको छ ।
एमालेको मेची-महाकाली अभियान विथोल्न प्रदर्शनमा उत्रिएका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सोमबार राजविराजमा भएको झडपमा गोली लागेर तीन जनाको मृत्यु भएको छ ।

घटनापछि ३ दिनलाई अभियान स्थगित गरेर काठमाडौं आएका एमाले नेताहरुले मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरे ।

एमाले महासचिव ईश्वर पोखरेलले जारी गरेको विज्ञप्तिमा राजविराजको औद्योगिक क्षेत्रमा भएको आमसभा सकिएर राजमार्गतर्फ जाने बेला घेरा हालेर एमाले नेतृत्वको सामूहिक हत्याको प्रयास भएको दाबी गरिएको छ ।

आफ्नो मेची-महाकाली अभियानप्रति गृहमन्त्री निधिले बेला-बेला दिने गरेको अभिव्यक्ति र सोमबारको भूमिकाले उनीप्रति शंका उब्जाएको एमालेले बताएको छ । र, यो घटनामा मन्त्री निधिले नैतिक उन्मुक्ति पाउन नसक्ने बताएको छ ।

एमालेले राजविराज घटनाको निश्पक्ष छानबिन गर्न मानवअधिकार आयोगसमक्ष माग गरेको छ ।

महासचिव पोखरेलद्वारा जारी विज्ञप्तिमा तीन जनाको ज्यान जाने गरी भएको सोमबारको घटनाको सम्पूर्ण जिम्मेवारी मधेसी मोर्चाले लिनु पर्ने समेत उल्लेख छ ।

स्रोत – अनलाइनखबर  https://www.onlinekhabar.com/2017/03/552771/

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button