डिजिटल हस्ताक्षरबारे प्रचार प्रसार जरुरी

पोखरा, १६ पौष –

नेपालमा डिजिटल हस्ताक्षरले कानूनी मान्यता पाए पनि प्रचार– प्रसारको अभावमा यसको व्यापक प्रयोग हुन नसकेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले डिजिटल हस्ताक्षर सुरक्षित, भरपर्दो र कम खर्चिलो भएको सन्देश प्रवाह गर्नु पर्नेमा जोड समेत दिएका छन् ।

नेपाल सरकार प्रमाणिकरण नियन्त्रणको कार्यालय र पोखरा उद्योग वाणिज्य संघको संयक्त आयोजना तथा विश्व बैंकको अन्तर्राष्ट्रिय वित्तिय निगमको सहयोगमा पोखरामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बोल्दै सूचना प्रविधी उच्चस्तरीय आयोगका पूर्व उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय वित्तिय निगमका सल्लाहकार मनोहरकुमार श्रेष्ठले सुशासन र कागजरहीत सकारी सेवा सञ्चालनको लागि डिजिटल हस्ताक्षरको व्यापक प्रयोग हुनुपर्ने बताए ।

नेपाल सरकार प्रमाणिकरण नियन्त्रणको कार्यालयका उप नियन्त्रक मनिष भट्टराईले डिजिटल हस्ताक्षर भनेको कागजमा गरेको हस्ताक्षरलाई स्क्यानिङ गरेर कसैलाई पठाउने काम नभई विद्युतीय कोड भएको प्रष्ट पारे ।

नेपाल सर्टिफाइङ कम्पनीका चिफ अपरेटिङ अफिसर नारायण न्यौपानेका अनुसार प्रिण्ट गरिएका कागजातमा प्रमाणीकरणका लागि हस्ताक्षरको प्रयोग भएजस्तै समान प्रयोजनका लागि डिजिटल तथा विद्युतीय सामग्रीमा हुने एक किसिमको हस्ताक्षर नै डिजिटल हस्ताक्षर हो । यसबाट वास्तविक निवेदकको पहिचान अथवा प्रामाणिकता हुन्छ । तर, यस्तो हस्ताक्षरलाई प्रत्यक्ष रूपमा देख्न भने सकिन्न । सूचनामूलक सामग्रीमा डिजिटल हस्ताक्षर गोप्यरूपमा समावेश भएको हुन्छ । डिजिटल हस्ताक्षर प्रमाणपत्र प्राप्त गर्नेले यस्तो हस्ताक्षर गोप्य राख्नुपर्ने हुन्छ ।

सम्बन्धित हस्ताक्षरकर्ताको सार्वजनिक साँचो भएको व्यक्तिले विद्युतीय अभिलेखलाई दुरुस्तसँग निर्धारण गर्नसक्ने एसिमेट्रिक क्रिप्टो सिष्टमयुक्त विद्युतीय अभिलेखमा समावेश भएको विद्युतीय स्वरूपको हस्ताक्षर भएको उनले बताए । कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले नेपालमा सूचना प्रविधीको बढ्दो प्रयोग हुन थालेको अवस्थामा डिजिटल हस्ताक्षरको प्रयोगलाई पनि व्यापक बनाउनु पर्ने बताए । उनले विद्युतीय कारोवार ऐनबारे सर्वसाधारणलाई बुझाउनको लागि अभियान नै संचालन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय वित्तिय निगम, विश्व बैंकका आशिष रौनियारले डिजिटल हस्ताक्षरमा २७ अङ्कको एउटा कोड हुने र जसरी परिचयपत्रहरूमा निश्चित कोडको प्रयोग गरिन्छ, यो पनि त्यस्तै किसिमको कोड हो । यो डिजिटल प्रयोजनका लागि मात्र उपयोग गरिन्छ । उनका अनुसार मान्छेलाई जसरी उसको नामले चिनिन्छ, डिजिटल संसारमा आफ्नो परिचय स्थापना गर्न डिजिटल हस्ताक्षरको प्रयोग गरिन्छ ।

नेपाल उद्योग वाणिज्य महासंघका बस्तुगत परिसंघका सहसभापति विप्लवमान सिँहले विश्वले नै प्रयोगमा ल्याएको यो प्रविधीलाई नेपालले सक्दो छिटो व्यापक बनाउनु पर्नेमा जोड दिए । पोखरा उद्योग वाणिज्य संघका महासचिव रवीन्द्रबहादुर प्रजुको संचालन रहेको कार्यक्रमको अध्यक्षता रेडियन्ट इन्फोटेक नेपालका अध्यक्ष भाष्कर भण्डारीले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button