नयाँ वर्षसँगै पोखरामा बढ्यो पर्यटकको चहलपहल

पोखरा, ३० चैत्र –

भूकम्प, नाकाबन्दी र मधेस आन्दोलनले सुस्ताएको पोखराको पर्यटन नयाँ वर्षसँगै जुर्मुराउन थालेको छ । नयाँ वर्ष मनाउन आउनेको पोखरामा चहलपहल बढेको छ ।

यतिबेला पोखराको प्रमुख गन्तव्य लेकसाइडमा आन्तरिक पर्यटकको भीड देखिन थालेको छ । पर्यटकको भीड बढेपछि वर्षभरि निराश बनेका व्यवसायीमा उत्साह छाएको छ । नयाँ वर्षका लागि होटल बुकिङ राम्रो भइरहेको व्यवसायीको भनाइ छ ।

नयाँ वर्षमा पोखराका सबै होटल भरिभराउ हुने पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरत पराजुलीले विश्वास व्यक्त गरे । ‘नयाँ वर्षका लागि इन्क्वायरी राम्रो आइरहेको छ,’ अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘यही रफ्तारमा बुकिङ भएमा होटलहरू ९९ प्रतिशत भरिभराउ हुनेछन् ।’

भूकम्प र नाकाबन्दीले उकुसमुकस भएका नेपाली घुमफिर गरेर नयाँ वर्षको स्वागत गर्न चाहन्छन् । नयाँ वर्षसँगै लगातार चार दिनसम्म बिदा परिदिँदा परिवार तथा साथीसँग घुमफिरमा निस्कने बढेका छन् । ३० चैतदेखि ४ वैशाखसम्म पोखराका होटलको अकुपेन्सी उच्च रहने ल्यान्डमार्क होटलका प्रबन्ध निर्देशक ओमप्रकाश पाण्डेले बताए ।

त्यसो त पोखरामा फेवा महोत्सव सुरु भएको छ । यसले पनि आन्तरिक पर्यटक आकर्षित गर्ने अपेक्षा गरिएको छ । महोत्सवमा भारतीय पर्यटक समेत आउने अपेक्षा गरेको अध्यक्ष पराजुलीले बताए । केही दिनअघि भारतका विभिन्न सहरमा गरिएको ‘चलिए पोखरा’ अभियानले पनि भारतीय पर्यटक घुम्न आउने अनुमान गरिएको हो ।

पोखरेली पर्यटन व्यवसायीले भारतको कानपुर, लखनाउ, बनारस र गोरखपुरमा ‘चलिए पोखरा’ कार्यक्रम आयोजना गरेको थियो । साथै, फर्कंदा सुनौली, पाल्पा र चितवनमा ‘जाउँ है पोखरा’ कार्यक्रम चलाएको पराजुलीले बताए । आफू भारत र नेपालका केही सहरमा नयाँ वर्षको प्रचार-प्रसार गर्न सफल भएको उनको भनाइ छ ।

पोखरा धेरै हदसम्म आन्तरिक पर्यटनमा आधारित छ । पोखरामा ६० प्रतिशत विदेशी र ४० प्रतिशत स्वदेशी पर्यटक आउँछन् । नयाँ वर्षसँगै आन्तरिक पर्यटकको आवागमन बढ्ने विश्वास व्यवसायीमा छ । विदेशी पर्यटक ल्याउनका लागि अझै केही समय प्रचार-प्रसारमा मेहनत गर्नुपर्ने देखिन्छ ।

फेवा महोत्सवले पनि धेरै पर्यटक तान्न सहयोग गर्ने गरेको संघका अध्यक्ष पराजुलीको भनाइ छ । पोखरामा हरेक वर्ष नयाँ वर्षमा फेवा महोत्सव आयोजना गरिँदै आएको छ । ‘विगतका वर्षमा यो बेला पोखरा भरिभराउ भइसक्थ्यो, होटलमा रुम पाउन समेत कठिन हुन्थ्यो,’ उनले भने, ‘यस वर्ष मानिस त्रासमा भएर होला विगतमा जस्तो भीड अझै देखिएको छैन ।’

अहिले पोखराको फेवाताल, बेगनासताल, डेभिडफल्स, गुप्तेश्वर गुफा, सराङकोट, ह्वाइटगुम्बा लगायत ठाउँमा आन्तरिक पर्यटकको भीड देखिन थालेको छ । खासगरी प्रेमी-प्रेमिकाको जोडी, नवविवाहित जोडी, लामो बिदा भएकाले परिवारसहित पोखरा घुम्न आउने बढी देखिएका छन् ।

नयाँ वर्षका लागि पोखराको होटल मात्र होइन, साहसिक पर्यटकीय गतिविधिको बुकिङसमेत उच्च भएको छ । प्याराग्लाइडिङ, बन्जी, जिप फ्लाईको बुकिङ करिब-करिब फुल भइसकेको सम्बन्धित सञ्चालकले बताए । पछिल्लो समय पोखरा साहसिक पर्यटनका लागि प्रख्यात छ । साहसिक खेलका लागि पोखरा पहिलो आकर्षण बनिरहेको छ ।

यसअघि पोखराका होटलमा अकुपेन्सी र साहसिक खेलमा सहभागी हुनेको संख्या अत्यन्तै कम थियो । पोखराका होटलको अकुपेन्सी १० प्रतिशतसम्म झरेको थियो । भूकम्पको प्रभाव कम हुँदै गएको र नाकाबन्दी खुलेपछि स्वदेशी-विदेशी पर्यटकको फ्लो बढ्न थालेको होटल बाराहीका सञ्चालक विप्लव पौडेल बताउँछन् ।

‘नयाँ वर्षसँगै पोखरामा पर्यटकको संख्या बढ्ने अपेक्षा गरेका छौं,’ पौडेलले भने, ‘सरकार र निजी क्षेत्र आपसमा मिलेर सुस्ताएको पर्यटनलाई गति दिनुपर्छ ।’ सरकारले ०७३ साललाई घुमफिर वर्षका रुपमा मनाउन लागेको छ । यसले पनि पोखरामा आन्तरिक पर्यटकको आगमन बढ्ने अपेक्षा स्थानीय व्यवसायीको छ ।

अहिले पोखरामा ४ सय पर्यटक स्तरीय होटल दर्ता भएर चलेका छन् । करिब २ सयको हाराहारीमा दर्ता नभई चलेको पराजुलीले बताए । दर्ता भएर चलेका होटलमा ९ हजार रुम रहेका छन् । जहाँ २० हजार रुम उपलब्ध छन् । पोखराका होटलले एक रातमा २५/३० हजार पर्यटकलाई सेवा दिन सक्ने उनको भनाइ छ ।

पोखरामा फूलबारी रिसोर्ट र ग्रान्ड पोखरा गरी दुई पाँचतारे होटल सञ्चालनमा छन् । यहाँ तीनतारे स्तरका होटल धेरै रहेका छन् । पोखराका होटलले पर्यटकलाई पूर्णरूपमा सन्तुष्ट बनाएर पठाउन सक्ने क्षमता राख्ने पराजुली बताउँछन् ।

पछिल्लो समय पोखरामा तारे होटल खुल्ने क्रम बढेको छ । करिब ५० वटाको हाराहारीमा नयाँ होटल सञ्चालनमा आउन लागेको ल्यान्डमार्क होटलका प्रबन्धक सञ्चालक पौडेलले जानकारी दिए । यी सबै होटल भूकम्पअगाडि नै निर्माण सुरु गरिएको थियो । भूकम्प र नाकाबन्दीका कारण होटल सञ्चालनमा ल्याउन ढिलाइ भएको उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button