ऐतिहासिक तथा सार्वजनिक सम्पति भाडामा नदिन चेतावनी

पोखरा, ११ जेठ – पोखरेलीहरुले पोखराको हिमागृह सहितको रत्नमन्दिरलाई व्यापारिक प्रयोजनका लागि भाडामा दिन नमिल्ने धारणा राखेका छन । नागरिक समाज पोखराको अगुवाईमा मंगलबार पोखरामा आयोजना भएकोे ‘हिमागृह सम्बन्धी सञ्चारकर्मीसँग छलफल’ विषयक अन्र्तक्रियामा बोल्दै पोखरेलीहरुले ऐतिहासिक तथा सार्वजनिक यस्ता सम्पत्तिलाई कुनै पनि हालतमा निजी प्रयोजनको लागि दिन नहुने भन्दै चेतावनी दिएका छन् ।

पोखरेलीहरुले हिमागृह सहितको रत्नमन्दिरलाई जैविक विविधता पार्क र संग्रहालयको रुपमा विकास गर्न जोडदार माग गर्दै भाडामा दिने कुनै निर्णय भएको खण्डमा तत्काल खारेजीको माग समेत गरे । तत्कालिन राज परिवारको हिउँदे दरबारको रुपमा प्रयोग गर्ने गरेको पोखराको ‘हिमागृह’ व्यापारिक प्रयोजनका लागि भाडामा नदिन पोखरेलीले आग्रह गरे ।

समाजका संयोजक रामबहादुर पौडेलले एक आपसमा छलफल गर्दा ऐतिहासिक तथा सार्वजनिक यस्ता सम्पत्तिलाई कुनै पनि हालतमा सरकारले निजी प्रयोजनको लागि दिन नहुने दाबी गरे । पोखराको फेवाताल किनारमा रहेको उक्त ‘हिमागृह’ यति एयरलाइन्सलाई दिने तयारी गरिएको वेला आफुहरुले यसको बिरुद्ध आवाज उठाउनु पर्ने समय आएको पौडेलले बताए । यसअघी बैशाख १८ गते नेपाल ट्रष्टले हिमागृह भाडामा दिने सूचना जारी गरेको थियो ।

उनले भने “ हामी हाम्रा क्षेत्रमा र्भएका सार्वजनीक सम्पतिलाई कसैको प्रयोजनको लागि, राष्ट्रिय सम्पदा टुक्राटुक्रामा बिभाजित गर्ने गरी दिन सक्दैनौं, हिमागृह भाडामा दिने तयारी गरे पनि त्यो निर्णय तत्काल खारेज हुनु पर्दछ, अन्यथा हामी आन्दोलन गर्न बाध्य हुने छों । ” फेवाताल क्षेत्र वरपर लगाइएको ६५ मिटरको मापदण्ड भित्र हिमागृह पनि पर्ने भएकाले सो हिमागृह भाडामा दिन नमिल्ने केहिको तर्क थियो ।

फेवाताल संरक्षण समितिका सदस्य तथा पर्यटन बोर्डका पूर्व सदस्य बासु त्रिपाठीले राजनीतिक पहुँचका आधारमा पुरातात्विक सम्पदा कसैलाई पनि भाडामा दिन नमिल्ने बताए । संघीयतामा देश जान खोजिरहेको समयमा केन्द्रीकृत राज्यसत्ताले हतारहतार १५-२० वर्षका लागि राष्ट्रिय सम्पदा भाडामा दिन खोज्नु कमिसन र भ्रष्टाचारकै कारण भएको उनले दाबी गरे । बरिष्ठ पत्रकार नारायण कार्कीले राष्ट्रिय सम्पदामा सत्ताले गिद्धे दृष्टि राखेर भाडामा दिन खोजेको आरोप लगाउदै सटर बनाउँदा कमिसन खान र आफ्ना मान्छेलाई भाडामा दिलाएर रकम कुम्ल्याउन हिमागृह भाडामा लगाउन खोजिएको जनाए ।

पोखरा सम्पदा संरक्षण समितिका उपाध्यक्ष पार्वती पौडेलको अध्यक्षतामा भएको थियो । यसअघी नागरिक समाजको पहलमा राष्ट्रिय सम्पदा संरक्षण समिति नेपाल, पोखरा सम्पदा संरक्षण समिति, राष्ट्रिय पर्यटन प्रबद्र्धन समिति, पोखरा पर्यटन परिषद, पोखरा उद्योग वाणिज्य संघ, रत्न मन्दिर फेवाताल सरोकार समिति, रेबान पोखरा, पश्चिमाञ्चल होटल संघ, राष्ट्रिय पर्यटन परिषद, नेपाल पर्यटन बोर्डका पूर्व सदस्यहरु बासु त्रिपाठी, अग्नी कँडेल, टिकाराम सापकोटा, टान पश्चिमाञ्चल पोखरा, नाट्टा पश्चिमाञ्चल पोखरा, नगर महिला समन्वय समिति पोखरा लगायतका संघसंस्था तथा व्यक्तिहरुले हिमागृह भाडामा दिने निर्णय खारेज गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button