राष्ट्रव्यापी ‘१० मिनेट नाटक’ प्रदर्शनी सुरु

काठमाडौँ, १८ जेठ –

कालिकास्थानस्थित सर्वनाम थियटरमा सोमबारदेखि राष्ट्रव्यापी ‘१० मिनेट नाटक’ प्रदर्शनी सुरु भएको छ ।

रङ्गकर्ममा रुची भएर पनि आफ्नो प्रतिभा देखाउने ठाउँ नपाएका कलाकारका लागि सर्वनाम थियटरले सुरु गरेको उक्त नाटक प्रदर्शनी पाँच दिनसम्म चल्नेछ ।वरिष्ठ कलाकार हरिहर शर्माले उक्त प्रदर्शनीको शुभारम्भ गर्दै यस प्रकारको मञ्चले नयाँ रङ्गकर्मी जन्माउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सर्वनाम थियटरका निर्देशक अशेष मल्लले प्रतिभा देखाउन मञ्च नपाएर रङ्गकर्मबाटै बिदा लिने अवस्थामा पुगेको आफ्नो सङ्घर्षलाई स्मरण गर्दै यो प्रदर्शनीको आयोजना गरेको बताउनुभयो । पहिलो दिन भगवतीकुमारी मैनाली उप्रेतीको नाटक ‘फलानो’, सुविना पौडेलको ‘मोक्ष’, रोशन आचार्यको ‘परिचय’, आशिष श्रेष्ठको ‘खै के खै के’, कपोल कल्पित (विकास अधिकारी) को ‘बिडम्वना’ र भुवन सङ्गमको ‘अब बेचिन्न’ नाटकको प्रदर्शनी गरिएको थियो ।

पाँच दिनसम्म हरेक दिन काठमाडौँ उपत्यकासहित मुलुकभरका विभिन्न जिल्लाका कलाकारले ३९ वटा नाटक प्रस्तुत गर्ने कार्यक्रमका संयोजक राज शाहले जानकारी दिनुभयो ।थियटरको ‘१० मिनेट नाटक’ प्रदर्शनीको यो दोस्रो संस्करण हो । अघिल्लो संस्करणको सफलताकै कारण यो वर्ष ३९ नाटक प्रदर्शनीका लागि आवेदन परेको संयोजक शाहले बताउनुभयो ।

प्रदर्शनी हुने प्रत्येक नाटकलाई १० मिनेटको समय दिइनेछ । एकल वा सामूहिक रुपमा प्रदर्शनी गरिने उक्त नाटक १० मिनेटमा समाप्त गर्नुपर्नेछ ।

पछिल्लो समय युवा वर्गको नाटकप्रतिको बढ्दो रुचीका कारण यस क्षेत्रमा आफ्नो भविष्य बनाउने युवाको सङ्ख्या पनि सोहीअनुरुप बढ्न थालेको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button