चलिए पोखरा अभियानको प्रभाव देखिंदै

पोखरा, १८ जेठ –

पश्चिमाञ्चल होटल संघ पोखराले विगतमा संचालन गरेको चलिए पोखरा अभियानका कारण पोखरा भ्रमणमा आउने भारतीय पर्यटकको संख्यामा उल्लेख्य बृद्धि हुन थालेको संघले जनाएको छ ।

उत्तर भारतका विभिन्न शहरमा संघले संचालन गरेको त्यस्तो अभियानको प्रभाव अहिले सकारात्मक देखिएको संघका अध्यक्ष भरतराज पराजुलीले बताए । गएको चैत महिनामा उत्तर भारतका गोरखपुर, लखनउ, कानपुर र वाराणासी लगायतका शहरमा संघले संचालन गरेको चलिए पोखरा अभियानका कारण पर्यटक संख्या बढेको विश्वास व्यवसायीले गरेका छन् । गएको चैत १३ देखि १८ गते सम्म संघले नेपाल पर्यटन बोर्डसँग मिलेर चलिए पोखरा अभियान संचालन गरेको थियो ।

गर्मी छल्न र घुमफिरका लागि पोखरा आउने भारतीय पर्यटक मध्ये धेरैजसो मुक्तिनाथ दर्शनका लागि समेत जाने गरेका छन् । चार वर्ष अघि नै एशोसिएशनले सुरु गरेको चलिए पोखरा अभियानलाई विगत वर्षहरुमा जस्तै गत वर्ष पनि निरन्तरता दिइएको थियो ।

संघका सल्लाहकार एवं होटल बज्र इनका संचालक बच्चुराम तिवारीले भारतीय पर्यटकको संख्या सामान्य वृद्धि भए पनि थुप्रै होटलहरु खालि नै रहेको दाबी गरे । खानेकुरादेखि जिरा मसला र चुल्हो नै भारतबाट लिएर आउने भारतीय पर्यटकबाट व्यवसायीले धेरै आम्दानी गर्न नसकेको गुनासो समेत उनले गरे । पोखराका पुरै साइड सिन स्थलहरु पर्यटकलाई घुमाउने व्यवस्था व्यवस्थित रुपमा संचालन गर्नुपर्ने र आबश्यक टुर गाइडहरु पनि उत्पादन गर्न जरुरी भएको भनाई उनले राखे ।

पोखराबाट उत्तर भारतका शहरहरु नजिक भएको, भारतमा अहिले निकै गर्मी रहेको र त्यो गर्मी छल्ने उपयुक्त स्थल पोखरा रहेको तथा प्राकृतिक सुन्दरता हेर्दै सस्तो दरमा नै पोखरामा बसोबास र घुमघान गर्न सकिने भएका कारण पनि पोखराप्रति भारतीय पर्यटक आकर्षित भएको व्यवसायीको बुझाई छ । व्यवसायीले भारतीय पर्यटकका लागि हनिमुन प्याकेज, शैक्षिक भ्रमण प्याकेज, समर प्याकेज र धार्मिक यात्रा प्याकेज जस्ता छनौटहरु पनि विक्री गरिरहेका छन् ।

नेपाल भ्रमणमा आउने कूल पर्यटक मध्ये सामान्यतया एक तिहाई संख्या भारतीयको हुने गरेको छ तर पोखरा भ्रमणमा कति भारतीय पर्यटक वार्षिक रुपमा घुम्न आउँछन् भन्ने कुनै तथ्यांक छैन । पछिल्ला केही वर्ष यता पर्यटन कार्यालय पोखराले समेत यहाँ घुम्न आउने पर्यटक आगमको तथ्यांक राख्ने गरेका छैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button