एटीएम कार्डबाटै ‘अनलाइन पेमेण्ट’

काठमाडौं, २ साउन –

 तपाईंसँग एससीटी नेटवर्कको एटीएम कार्ड छ ? यदि छ भने ढुक्क हुनुहोस्, अब तपाईंले अनलाइन पेमेण्टका लागि कुनै कठिनाइ बेहोर्नुपर्ने छैन । एटीएम कार्डको प्रयोग एटीएम मेशिनका अलावा मोबाइल र कम्प्युटरमा पनि हुन्छ भन्ने कुरा धरैजसोलाई थाहा नहुन सक्छ ।

हो, तपाईंसँग एससीटी नेटवर्कको एटीएम कार्ड छ भने अनलाइनमार्फत वस्तु तथा सेवा खरीदबापत सजिलै भुक्तानी गर्न सक्नुहुन्छ । अनलाइन सपिङ अर्थात् इण्टरनेटमार्फत वस्तु तथा सेवा खरीदविक्री गर्न चाहनेहरूका लागि गतिलो ‘पेमेण्ट गेटवे’को अभाव खट्किँदै आएको छ । तर, यसको सजिलो र भरपर्दो विकल्पका रूपमा स्वदेशी एटीएम नेटवर्कले सेवा दिन शुरू गरिसकेको छ । हाल मुलुकभर सयौं अनलाइन साइट सञ्चालनमा छन्, जसले अनलाइनमार्फत भुक्तानी सुविधा खुला गरेका छन् ।

तर, उपयुक्त ‘पेमेण्ट गेटवे’को अभावमा ‘ह्याण्ड क्यास डेलिभरी’मार्फत सेवा उपलब्ध गराउनुपर्ने बाध्यता रहँदै आएको छ । केही बैङ्क तथा वित्तीय संस्थाले त्यस्तो अनलाइन सेवाका लागि भुक्तानीको व्यवस्था मिलाएको भए पनि यो त्यति सहज र पर्याप्त छैन ।

आफ्नो सेवा छिटो, छरितो, विश्वसनीय र सुरक्षित रहेको दाबीसहित स्मार्ट च्वाइस टेक्नोलोजीले ‘एनपे’ नाममा ‘पेमेण्ट गेटवे’ सञ्चालनमा ल्याएको हो । यसले तपाईंको अनलाइन सपिङलाई थप सहज बनाउन सक्छ । हुन त ‘भिजा’ एटीएम नेटवर्कले समेत नेपालमा भर्खरै यस किसिमकोे सेवा थालेको छ । नेपालका लागि हाल तीन बैङ्कले एटीएममार्फत अनलाइन भुक्तानी सेवाका लागि अनुमति पाए पनि हिमालयन बैङ्कले मात्रै शुरू गरेको छ । बैङ्कमार्फत यस किसिमको सुविधाका लागि ‘मर्चेण्ट’ र ग्राहकका लागि त्यति सहज नभएको बताइन्छ ।

एनपेमार्फत हाल दैनिक ५० देखि ६० को सङ्ख्यामा कारोबार हुने गरेको स्मार्ट च्वाइस टेक्नोलोजीका प्रमुख प्राविधिक अधिकृत समीर बज्राचार्यले जानकारी दिए । ‘दैनिक औसत ६० हजारदेखि १ लाख रुपैयाँसम्मको भुक्तानी एनपेमार्फत भइरहेको छ,’ उनले भने । ‘एनपे’मार्फत कम्प्युटरसम्बन्धी सामान्य जानकारी भएका प्रयोगकर्ताले सजिलै अनलाइन भुक्तानी गर्न सक्ने बज्राचार्य बताउँछन् । अनलाइन सपिङका लागि तपाईंसँग एसीटी एटीएम कार्ड र त्यसको पीन नम्बर भए पुग्छ ।

एनपेले भने ‘मल्टी लेयर’ सुरक्षा प्रणाली अपनाएको भन्दै ‘फ्रड मनिटरिङ’ तथा ‘इनक्राइप्टेड टोकन’को प्रयोगमार्फत भुक्तानीसम्बन्धी सूचना सुरक्षित रहेको दाबी गरेको छ । ‘पीन नम्बरमा आधारित प्रणाली भएकाले पनि सुरक्षामा समस्या छैन,’ बज्राचार्य भन्छन्, ‘एससीटीको अनलाइन पेमेण्ट’मा अहिलेसम्म कुनै ‘फ्रड’को ‘रेकर्ड’ छैन ।’

हाल एनपेले विभिन्न ३१ ‘मर्चेण्ट’ अर्थात् अनलाइन कारोबार गर्ने व्यवसायीका लागि भुक्तानी सुविधा उपलब्ध गराउँदै आएको छ । मोबाइल रिचार्ज, मनि ट्रान्सफर, हवाई तथा बसको टिकट खरीद, अनलाइन सपिङलगायत एनपेले अनलाइन भुक्तानीको व्यवस्था मिलाएको हो । थप विभिन्न ३७ ‘मर्चेण्ट’का लागि समेत भुक्तानीको प्रक्रिया अगाडि बढेको बज्राचार्यले बताए ।

भुक्तानी कसरी गर्ने ?

शुरूमा तपाईंसँग अनलाइन पेमेण्टका लागि एससीटी नेटवर्कको एटीएम कार्ड हुनु आवश्यक छ । यसमार्फत सम्बन्धित बैङ्क खातामा भएको रकम सोझै अनलाइनमार्फत खर्च गर्ने सुविधा तपाइँले पाउनु हुनेछ ।

हाल विभिन्न ६५ बैङ्क तथा वित्तीय संस्थाले एससीटी नेटवर्कको एटीएम कार्ड वितरण गर्दै आएका छन् । एससीटी नेटवर्कले हालसम्म २० लाखभन्दा बढी एटीएम कार्ड जारी गरिसकेको छ । त्यसमध्ये ८ देखि ९ लाख जति सक्रिय प्रयोगकर्ता रहेको कम्पनीको दाबी छ । त्यसका लागि शुरूमा एनपेको साइटमार्फत अथवा सोझै ‘मर्चेण्ट’को साइटमा जानुपर्ने हुन्छ । साइटमा आवश्यक सेवा छनोट गरी भुक्तानीका विभिन्न विकल्पमध्ये ‘एससीटी एनपे’ छनोट गर्नुहोस् । त्यसपछि भुक्तानी सुनिश्चित गर्न ‘कन्फर्म पे’ बटन थिच्नुहोस् । यसले तपाईंलाई सुरक्षित रूपमा सोझै एनपेको साइटमा पु¥याउने छ, जहाँ एससीटीको एटीएममा भएको १६ अङ्कको कार्ड नम्बर, कार्ड मान्य रहने अन्तिम मिति र एटीएम पीन नम्बर भर्नुपर्ने हुन्छ जुन कार्य ३ मिनेटभित्र सक्नुपर्ने हुन्छ । उल्लिखित सम्पूर्ण जानकारी भरिसकेपछि भुक्तानी कारोबारका लागि ‘पे’ बटन थिच्नुपर्ने हुन्छ ।

यसरी एकपटक ‘पे’ बटन थिचिसकेपछि सम्बन्धित बैङ्कबाट भुक्तानीको सुनिश्चितताका लागि केही समय कुर्नुपर्ने हुन्छ । भुक्तानी भएको सुनिश्चित भएपछि प्राप्त निर्देशनअनुसार कारोबार विवरणसहितको बिल प्राप्त गर्न सकिन्छ । यसका साथै सोही समयमा तपाईंले सम्बन्धित ‘मर्चेण्ट’बाट इमेल नोटिफिकेशन समेत पाउन सक्नुहुनेछ ।

साभार: आर्थिकअभियान बाट 

original link:https://www.abhiyan.com.np/new/Articles/view/81757

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button