पूर्वाधार विकास र हवाई सञ्जाल – पर्यटन विकासको आधार

काठमाडौँ, १० भदौँ –

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले आर्थिक समृद्धिको आधारको रुपमा रहेको पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार विकास र हवाई सञ्जाल विस्तार गरिने बताउनुभएको छ ।

सिंहदरबारमा आज पद बहालीपछि मन्त्रालय मातहत निकायका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री शाहीले पारदर्शी ढङ्गले परिणाममुखी काम गर्न आग्रह गर्नुभयो ।

“हाम्रो मुख्य आयस्रोत पर्यटन हो, देश बनाउने दरिलो आर्थिक स्रोतको रुपमा रहेको पर्यटन मन्त्रालयलाई गतिशील बनाई पर्यटन विकासका लागि पूर्वाधार विकास र हवाई सेवा विस्तारलाई विशेष प्राथमिकताका साथ अघि बढाइनुपर्छ,”–मन्त्री शाहीले भन्नुभयो ।

उहाँले पर्यटन प्रवद्र्धनका लागि पूर्वी भेगमा जति गतिविधि छन्, त्यसको तुलनामा पश्चिम र सुदूरपश्चिम पछि परेको भन्दै नीतिगत सुधारसहित पूर्वाधार विकास र हवाई सेवाको पहुँचका लागि काम गरिनुपर्ने खाँचो औँंल्याउनुभयो ।

झन्डा फहराउन मन्त्रालय आएको हैन

पर्यटनमन्त्री शाहीले आफू स्पष्टरुपमा काम गर्न चाहने व्यक्ति भएकाले गाडीमा झन्डा फहराउन मात्र मन्त्रालय आएको हैन भन्दै मन्त्रालयलाई कार्ययोजनासहित परिवर्तन गरेरै छाड्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले पर्यटन मन्त्रालयलाई नमुनायोग्य परिणाममुखी बनाउन सबैको साथ र सहयोग जरुरत पर्दछ, नीति नियममा कतै बाधा व्यवधान भए तिनलाई सुधार गर्न सकिने धारणा राख्नुभयो ।

एक साताभित्र विमानस्थल सुधार

मुलुकको प्रतिष्ठासँग जोडिएको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा गुणस्तर खस्किएको जनगुनासो बढेका बेला पर्यटन मन्त्री शाहीले एक हप्ताभित्र विमानस्थल सुधार गर्न सम्बन्धित पदाधिकारीलाई निर्देशन दिनुभएको छ । “विमानस्थलको शौचालयको दुरावस्था र ‘लगेज’ व्यवस्थापनलाई सुधार गर्नुस्, विमानस्थललाई सफा राख्नुस् एक हप्ताभित्र सुधार देखिनुपर्छ”–उहाँले भन्नुभयो ।

मन्त्री शाहीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्समा जहाज थपेर गुणस्तरीय व्यवस्थापन गरी आन्तरिक विमानस्थल थप तथा सुधारका लागि योजनावद्ध काम गर्न पनि सम्बन्धित पदाधिकारीलाई निर्देशन दिनुभयो ।

यसैबीच, पर्यटनमन्त्री शाहीले पद बहालीपछि पहिलो निर्णयको रुपमा सङ्घीयताको सन्दर्भमा मन्त्रालयको कार्यक्षेत्र र सङ्गठनस्वरुप व्यवस्थापनका लागि कार्यदल गठन गर्ने निर्णय गर्नुभएको छ ।

‘संविधान र ऐनमा व्यवस्था भएअनुसार’ मन्त्रालयको कार्यक्षेत्र सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यको विश्लेषण गरी बाँडफाँड गर्ने, कानुन परिमार्जन गर्ने र सङ्गठनात्मक संरचना परिमार्जन गरी कर्मचारी व्यवस्थापन गर्नका लागि कार्यदल गठन गर्ने निर्णय गर्नुभएको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिनुभयो ।

सो अवसरमा मन्त्रालयका सचिव प्रेमकुमार राईले मन्त्रालयको गतिविधिबारे जानकारी गराउनुभएको थियो ।

मन्त्रीको स्वागतका लागि मन्त्रालय मातहत निकायका विभागीय प्रमुख तथा कर्मचारीको सहभागिता थियो ।

विस २०२५ मा हुम्लाको खार्पुनाथमा जन्मनुभएका मन्त्री शाही हुम्लाबाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button