पर्यटक लोभ्याउन मदिरा होइन ‘टी पार्टी’

काठमाडौँ, ११ भदौ –

स्वास्थ्यका लागि पेय पदार्थको रुपमा चियालाई लिइन्छ । तर पश्चिमा संस्कृतिको प्रभावले चियाको साटो मदिराजन्य पदार्थ र हल्का पेय पिउने बानी नेपाली समाजमा मौलाएको छ ।

पश्चिमा मुलुकमा समेत फेरिएको चिया पिउने संस्कृतिको विकास गर्ने उद्देश्यले नेपालमा पनि यसको अभ्यास सुरु भएको छ । पर्यटक आकर्षणसँगै युवा पुस्तामा पनि चिया पिउने संस्कृति बसाल्न युवा पर्यटन व्यवसायी धर्मराज पाण्डेले सचेतना अभियान सुरु गर्नुभएको हो ।

हुनतः स्वाद र आनन्दका लागि मानिसले चिया पिउँछन् । सुरुमा औषधिका रुपमा पिउन सुरु भएको चिया बिस्तारै मानिसको आदतको रुपमा परिणत भयो । विकसित मुलुक युरोप अमेरिकामा समेत कफी पिउने संस्कृतिबाट अहिले चिया संस्कृतितर्फ ढल्केका छन् ।

जैविक चियाको खानीको रुपमा रहेको नेपालको चियाको महत्वलाई बुझाउन नसक्दा यसबाट उपेक्षित लाभ लिन सकिएको छैन । नेपालमा सबै प्रकारका चिया पाइन्छ र यसको महत्व पनि बढ्दो छ । जति उत्पादन हुन्छ, निर्यात पनि राम्रो छ ।

इलामको चिया प्रख्यात मानिन्छ । उच्च पहाडमा फलेको नेपाली चियाको बजार सम्भावना राम्रो रहेपनि व्यावसायिक सफलता पाउन नसकेको व्यवसायी पाण्डे बताउनुहुन्छ । “हामी आफैँ चिया पिउँदैनौँ, चिया बनाउन पनि जानेका छैनौँ । साधारणतय दूघको चिया पकायो खायो । त्यसैले युवा पुस्तामा चियाको महत्वबारे जानकारी गराउन अब नयाँ तरिकाले चिया व्यवसाय सुरु गर्नुपर्यो भनेर लागेको हुँ”–उहाँले भन्नुभयो ।

पर्यटकीय क्षेत्र ठमेलमा पहिलो पटक ‘टी लाउन्ज’ सञ्चालन गर्नुभएका पाण्डेको व्यवसाय फस्टाउँदो छ । यहाँ अहिले विदेशी पर्यटक भुम्मिन्छन् । खासगरी चीन, अमेरिका र एसिया पर्यटक चियाका पारखी बनेका छन् । पाण्डेले आफै चिनियाँ पद्धतिमा विभिन्न प्रकारका चियाको स्वाद पाहुनालाई चखाउनुहुन्छ । जुन पर्यटकको आकर्र्षण बनेको छ ।

अहिले सबैभन्दा बढी चियाका पारखी अमेरिका र चीनमा रहेको बताइन्छ ।

नुवाकोट मदनपुरका ३३ वर्षीय पाण्डेले करिब रु ३२ लाख लगानी गरी ठमेलमा टी लाउन्ज सञ्चालन गर्नुभएको हो । पाहुनाको स्वागत सत्कारमा रुची राख्ने उहाँमा विदेश अवसर नभएको हैन, पाँच वर्षअघि जापानमा राम्रो कमाई गर्ने पाण्डेलाई नेपाली मोहले छाडेन ।

इतिहास अनुसार करिब एक हजार ८०० वर्षअघि चीनबाट चियाको प्रचलन सुरु भएको पाइन्छ । झण्डै ८०० वर्षअघिबाट मात्रै व्यावसायिक रुपमा चिया प्रयोगमा आयो ।

तत्कालीन समयमा ब्रिटिस शासकले भारतको दार्जेलिङमा चिया रोपी चिया संस्कृतिको विकास गरे । दार्जेलिङसँगै नेपालको पूर्वी इलाममा चिया रोप्न सुरु भयो । नेपालमा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले चीनमा गएर चियाको बीउ ल्याई चिया खेतीमा प्रेरित गराउनुुभएको थियो ।

पाण्डेले पर्यटकलाई लक्ष्यित गरेर १८ प्रकारका मुख्य चिया बिक्री गर्नुहुन्छ । त्यसका भेराइटीमा ‘ह्वाई टी’ ‘ब्लाक टी’ ‘ग्रीन टी’ ‘गोल्डेन टी’ ‘रेड टी’ र नेपालमा पहिलो पटक विशेष प्रकारको ‘कुयेर टी’ ९चीनको पुरानो चिया० आदि गरी ५० प्रकारका चिया बिक्रीमा राखिएको छ ।

चीनको हुनान प्रान्तमा मात्र पाइने पुयर टी नेपालमा भित्र्याउनुभएको छ, यो करिब दुई ग्राम चियाको रु ४५० पर्छ, दुईदेखि तीन पटक पानी थप्न मिल्छ । उहाँले सबै चिया इलामबाट खरिद गर्नुहुन्छ । अन्नपूर्ण क्षेत्रमा पनि ‘टी स्टेट’ खुलेको बताउने पाण्डेका अनुसार यसको बजार भनेकै पर्यटकीय क्षेत्र हो ।

युवा पुस्तामा स्वस्थ्य चिया पिउँ भन्ने सन्देश प्रवाह गर्न नेपालमै पहिलो पटक शुक्रबार ठमेलको टी लाउन्जमा ‘चिया फेस्टिभल’ आयोजना गरियो । जहाँ युवाको बाक्लो उपस्थिति थियो । थेम्स कलेजमा सूचना प्रविधि विषयमा स्नातक अध्ययनरत पायल ढकालले चिया पार्टीमा सहभागिता जनाउँदा नौलो अनुभूति भएको र यसले नयाँ संस्कृतिको विकास भएको बताउनुभयो । हरेक शुक्रबार चिया पार्टी गर्ने र युवा पुस्तालाई समेटिने व्यवसायी पाण्डेको भनाइ छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button