पूर्वराष्ट्रपति पुत्रीलाई टोपी अभियन्ताको चुनौतीपूर्ण जवाफ

टोपी दिवस मनाउँदा धोतीको अपमान कसरी भयो ?

रामजी बलामी नेपाल –
नेपालको पहिलो राष्ट्रपति रामवरण यादवलाई मैले जतिबेलादेखि चिने त्यहीबेलादेखि सधै उहाँको शिरमा नेपाली टोपी सजिएको पाँए । नेपाली टोपी दिवसको सुरुवातको कुरा मेरो मानसपटलमा सल्बलाईरहँदा सँगैसँगै सल्बलाएका पात्र हुन पूर्व राष्ट्रपति यादव । गल्लीमा भारी बोक्ने भरिया दाईदेखि राष्ट्रपति डा. रामबरण यादवसमेतलाई सम्झिँदै टोपी दिवसको सुरुवात भएको हो । त्यतिबेला यादवलाई मैले तीन कारणले सम्झेको थिए । पहिलो यादव समुदायको प्रतिनिधि, दोश्रो राष्ट्र प्रमुख र तेश्रो टोपी र धोतीप्रति उहाँको सम्मान ।

लामो समय राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नु भएका उहाँले कहिले पनि न नेपाली टोपीप्रति आपत्ति जनाउनु भयो न त धोतीप्रति बढ्दो चासो नै व्यक्त गर्नुभयो । उहाँले धोती पनि लगाउनु भयो, शिरमा नेपाली टोपी पनि सजाउनु भयो । त्यसकारण उहाँ आम नेपाली समुदायको नजरमा प्रेरणादायी र अभिभावकका रुपमा हुनुहुन्छ ।

हुन त एउटै ड्याङको मुला पनि फरक फरक आकार, प्रकार र स्वादका हुन्छन । त्यसैले पनि होला गत जनवरी १ मा चौथों नेपाली टोपी दिवस मनाईरहँदा उहाँका सुपुत्री अनिता यादवले दिएको अभिव्यिक्तले नेपाली टोपी अभियन्ताहरुको मर्ममा प्रहार भएको छ । समाजसेवीका नामले परिचित उहाँको सोच्ने तरिका र व्यक्त गर्ने शैलीले नेपालमा फस्टाउदै गएको अंगीकृत अभियानलाई साथ दिएको भान हुन्छ । तसर्थ अनिताजी, म संस्थापक अभियन्ताका नाताले तपाईको एक एक शब्दको चुनौतिसहित जवाफ दिँदैछु । बिवादको विउ रोपेर होईन भरपर्दाे, बिश्वासिलो र तथ्यपरक प्रतिउत्तर दिनु होला ।

सबैभन्दा पहिलो कुरा त तपाईले हाम्रो अभियानको अर्थ नै बुझ्नु भएको रहेनछ । कमसेकम हामीले जारी गरेको प्रेस विज्ञप्ति मात्रै पढेको भए पनि बास्तविकता बुझिन्थ्यो । बास्तविकता नै नबुझि टोपीको अपमान त गर्नुभयो नै साथै हामीमाथि डलरवादीको आरोप पनि लगाउन भ्याउनु भयो । तपाईलाई म एउटा अनुरोध गर्न चाहन्छु । तपाईको आफ्नो स्टाटस फेरि एक पटक दोहोर्याएर पढ्नुहोस्। तपाईले आफ्नै शब्दलाई आफै कुल्चेर फेसबुकको भित्तामा मिल्काउनु भएको छ ।

तपाईले सुरुमै भने जस्तो पुरुषले लगाउने पहिरण महिलालाई पटक्कै सुहाउदैन भने सर्ट, पाइन्ट, मोटरबाइक, क्याप कसरी सुहायो ? एकातिर समानताका कुरा पनि गर्ने अनि अर्काेतिर टोपीको विरोध गर्नकै लागि महिलालाई सुहाउँदैन भनेर विवाद निकाल्ने ? पहिरण भन्ने कुरा चलनचल्तीले निर्धारण गर्ने कुरा हुन भन्ने तपाईलाई थाहा थिएन ? अर्काे कुरा नेपाली टोपी लगाएका दिदीबहिनीको फोटो हेर्नुहोस । केही कुरुपता देख्नु भयो ? तपाईको विरोध रंगमा हो भने महिलाको रुची अनुसारका टोपी पनि त उत्पादन गर्न सकिन्छ । कुनै पनि कुरामा बानी नपर्दासम्म मात्र हो बानी परेपछि सबै कुरा सहज हुँदै जान्छ । टोपी महिलाले लगाउनै हुँदैन भनेर न कतै लेखेको छ न त दिदीबहिनीहरुले नै विरोध गर्नु भएको छ । भने तपाईलाई चाँही किन टाउको दुख्यो ?

अझ तपाईले अगाडि भन्नु भएको छ । ‘कतै तपाईकी श्रीमती, बहिनी, दिदी, फुपु आदिले तपाईले जस्तो यो पुरुषको टोपी लगाएर जोकर त भईरहेका छैनन ?’ नेपाली टोपी लगाउँदा जोकर लाग्ने तपाईको सोच कति साँघुरो र संकुचित ? एकातिर स्वतन्त्रताका कुरा गर्ने अनि अर्काेतिर महिलाले पुरानै शैलीको पहिरण लगाउनुपर्छ भन्ने खालको कुरा गर्ने के यो दुईजिव्रे शैली भएन ? तपाईलाई जानकारी गराउन चाहन्छु हाम्रो अभियानमा सहभागि दिदीबहिनीहरु अशिक्षित होईन तपाई जत्तिकै शिक्षित हुनुहुन्छ । एकातिर धोती न टोपी भनेर चर्चा कमाउन खोज्ने अर्काेतिर टोपीप्रति घृणा गर्ने ?

तपाईको दोश्रो प्रश्न पनि बिवादकै विउ बनेको छ । तपाईको अर्काे तर्क छ– ‘फेरि महिलाले गुन्यू चोली दिवस मनाए भने पुरुषहरुले गुन्यूचोली लगाएर हिड्न त मिलेन’ । गुन्यू चोली र दौरा सुरुवाल नेपालको पहिचान हो । तर गुन्यूचोलीको तुलना दौरा सुरुवालसँग गर्ने कि टोपीसँग ? तपाई पहिले यो कुराको जवाफ दिनुहोस् ।

टोपी थरिथरिका हुने भएकाले कुन चाँही टोपी दिवस मनाउने भन्ने तपाईको अर्काे प्रश्न रहेछ । सबैभन्दा पहिले त तपाईले कुन टोपीको इतिहास के हो र त्यसको महत्व के छ भन्ने बुझ्न आवश्यक छ । तपाईलाई अवगत गराउन चाहन्छु । नेपाल बहुजातीय बहुसांस्कृतिक समुदायले भरिपूर्ण देश हो । तसर्थ यहाँ थुप्रै जातीय टोपीहरु छन । तिनलाई हामीले गर्वका साथ सम्मान र संरक्षण गर्नुपर्छ । ति टोपीहरु सम्वन्धित जातिले विशेष अवसरमा मात्रै लगाउने गर्दछन् । तर अन्य समयमा नेपाली टोपी लगाउछन् । यसको मतलव नै नेपाली टोपीको महत्व भएन र ? अनि अर्काे कोणबाट नियालौ । कुनै एक जातीय टोपी लगाएर विदेश जाँदा नेपाली भनेर चिनिने गरेको छ ? योग्यता पुगेका व्यक्तिलाई पद नदिएर भर्खरै हुर्किदै गरेका नाबालकलाई पद सुम्पिए जस्तो तर्क गर्नु सान्दर्भिक होला र ? फेरि अर्काेतिरबाट सोचौ टाउँकोमा घाउ भयो भने औषधि गर्ने कि टाउको नै काटेर फाल्ने ?

टोपी अभियानलाई तपाईले बेमौसमी र धोतीसँगको जुहारी भनेर रिस पोख्नु भएको छ । के तपाईले आफ्नो भनाई पुष्टी गर्न सक्नु हुन्छ ? टोपी अभियान थाल्दा धोतीको अपमान हुने र धोती अभियान थाल्दा टोपीको अपमान हुने भन्ने सोच कस्तो ? सदियौदेखि नेपालीलाई चिनाउदै आएको टोपीको प्रमोशन गरेर अन्तराष्टियकरण गरौ भन्दा धोतीसँगको जुहारी भन्नु त हाम्रो अभियानको विरोध सिवाय केही देख्दिन । यो त बाहिर बाहिर समानताका कुरा गर्ने भित्रभित्र भड्काउदै जाने जस्तो कुरा भएन र ?

तपाईको अर्काे लज्जास्पद र यहाँ मैले जवाफ दिर्नै नपर्ने अर्काे तर्क छ– ‘नेपालको इतिहासमा सबैभन्दा ठूला पदमा बस्ने भ्रष्टाचारी र राष्ट्रविरोधी सन्धी सम्झौता गर्नेहरु पनि सबै टोपी लगाउने वर्गकै छन।’ माफ गर्नुहोला तपाईकै शब्द सापटी लिएर भन्दैछु– ‘के उसो भए सम्माननीय पूर्व राष्टपति यादवज्यू पनि भ्रष्टाचारी नै हुन ?’ स्मरणहोस राम्रो र नराम्रो काम भनेको टोपी, कट्टु, धोती, चोलोले गर्ने होईन व्यक्तिको सोच र ब्यवहारले गर्ने हो । यति कुरा पनि नबुझी केटाकेटी तर्क गर्नु लज्जास्पद भएन र ? र तपाईकै भाषामा भन्नुपर्दा टोपी नलगाउनेहरुले चाँही सबै फलिफाप मात्रै गरेका छन त ? अनि अर्काेकुरा टोपी लगाउदैमा राष्ट्रवादी हुने र नलगाउदैमा राष्टघाटी हुने भनेर सोच्नु नै मुर्खता हो । राष्ट्रिय पहिचान र राष्टवादीबीच गहिरो अन्तर छ भन्ने कुरा बुझ्न जरुरी छ ।

देश विदेश घुमेको मान्छेले सम्प्रदायिक र संकुचित अभिव्यिक्त दिनु सान्दर्भिक जस्तो लाग्दैन । टोपीले हिमाल, पहाड र तराई सबैको प्रतिनिधित्व गर्छ भन्ने कुरा बुझ्न जरुरी छ । मैले कुनै पहिरणको अवमुल्यण गर्न खोजेको होईन । म स्वयं जनजाति हुँ । तर विभिन्न जातीय पहिरणको हवाला दिएर नेपाली टोपीसँग दाँज्न खोज्नुलाई बिबादको विउसिवाय केही भन्न सकिन्न । सबै समुदायले आ आप्mनो पहिरणको दिवस मनाउनु गर्वको कुरा हो । यसले विवाद निम्त्याउने होईन संस्कृतिको संरक्षण र जगेर्ना हुन्छ ।

यतिबेला केही आयातित व्यक्तिहरु नेपाली समाजलाई भड्काउन शब्दजाल फ्याकिरहेका छन् । एकातिर हाकुपटासी, पटुका, छुवा, लुंगी, धोती, बख्खूको लाज बचाएर देशलाई आत्मनिर्भर बनाउन भन्ने अर्काेतिर नेपाली टोपीको प्रवद्र्धन गर्न खोज्दा बिबादको बिउ झिक्ने । कुरोको ठ्याँक त मिलेन नि ? हाम्रो समाज फोस्रा आश्वासन र दर्शन पनि मज्जैले फलाक्छन अनि काम गर्न खोज्नेलाई हतोत्साही पनि बनाउछन् । सधीयौदेखि नेपालीलाई चिनाउदै आएको नेपाली टोपीको प्रवद्र्धन गरौ न त भन्दा झुठो, खोक्रो, अन्धविश्वास र मतभेद देख्ने तपाईले भनि दिनुस्– ‘बिदेशी भूमिमा नेपालीलाई चिन्ने आधार के ?’

‘न्यू इयर इभमा कोट, पाइन्ट, टाइ लगाएर विदेशी रक्सी पिएर मनाउने अनि भोलिपल्ट टोपी लगाएर राष्ट्रियता देखाउनेदेखि सावधान’ भन्नु भएको रहेछ । राष्ट्रिय पहिचान स्थापित गरौ भन्नुको मतलव विदेशी वस्तु प्रयोग नै नगर्नु भन्ने हो ? पूर्वीय, पश्चिमेली, स्वदेशी, विदेशी जेसुकै होस राम्रो कुरा भए अनुशरण गर्न सक्नुपर्छ । बिना तथ्य बकम्फुसे तर्कले समाज भड्काउने भन्दा केही गर्दैन । अझ अर्काे गम्भीर आरोप पनि छ । टोपी अभियन्ताहरुमाथि डलर कमाउनेहरुको खेल रे । हामीले अहिलेसम्म कसैबाट एक सुको सहयोग लिएको छैन, अभियानकै साथीहरुको गोजीबाट सय, दुई सय जम्मा गरेर कार्यक्रम गर्दै आएका छौ । तपाईले लगाएको आरोप पुष्टी गर्न चुनौती दिन चाहन्छु ।

तपाईलाई जवाफ लेख्दै गर्दा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र माओवादी कार्यकर्ता दिल मगरले सत्तोसराप गर्दै टोपी अभियानको विरोध गरेको थाहा पाए । हुन त उहाँहरुलाई हास्य कलाकार दीपकराज गिरी र दिनेश डिसीले भित्तामै पुग्ने गरी जवाफ दिईसक्नु भएको छ । तर पनि केही शब्द खर्चिन चाहे । भट्टराई तिनै हुन जसले सदियौदेखि नेपालीलाई चिनाउदै आएको राष्ट्रिय पोशाकलाई सूचिबाट हटाएका थिए । भट्टराईले एकल जातीय भनेर टोपीको घृणा गरेका छन । क्षेत्री, बाहुन, तामाङ, नेवार, यादव सबैले लगाउने टोपी एकल जातीय हो भने कुन चाँही पहिरण बहुजातीय हुन ?

त्यस्तै माओवादी कार्यकर्ता दिल मगरले नेपाली टोपीमा सजिएका दिदीबहिनीलाई वे..या भनेर आरोप लगाएका छन । उनले टोपीको अपमान मात्रै गरेनन् आफ्नै दिदीबहिनीको मर्ममाथि बलात्कार गरे । त्यसैले थप बोल्नु आवश्यक छैन ।

र अन्तिममा, नचाहदा नचाहदै पनि लेख्न बाध्य भए । ठूलाबडाहरु उपचारका नाममा परिवारका सदस्यलाई समेत राज्यबाट डलरमा भत्ता असुल्छन, भूकम्पपीडित त्रिपालमा बसेको वास्ता नगर्नेहरु पनि राष्ट्र र राष्ट्रियताका लागि जे पनि गर्न तयार छौ भन्न पछि पर्दैनन् । सके आफूले पनि राम्रो गरौ नसके गर्नेहरुको विरोध नगरौ । विरोध गर्नै परे तथ्यपरक बहस गरौं ।

[email protected]

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button